मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ श्रावण १८ शनिबार ०७:५५:००
Read Time : < 1 मिनेट
साहित्य

महानन्द जयन्तीमा अन्तर्राष्ट्रिय कवितावाचन

Read Time : < 1 मिनेट
२०७६ श्रावण १८ शनिबार ०७:५५:००

भाषाविद् तथा राष्ट्रिय व्यक्तित्व स्व. महानन्द सापकोटाको १२३औँ जन्मजयन्तीका अवसरमा संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यमा अन्तर्राष्ट्रिय टेलिफोन कविता वाचन कार्यक्रम भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आयोजनामा सम्पन्न कार्यक्रममा नेपालसहित अमेरिका, बेलायत र क्यानडामा बसोवास गरिरहेका करिब तीन दर्जन नेपाली श्रष्टाले कवितावाचन गरे । सहभागीले टेलिफोन, फेसबुक लाइभ तथा मेसेन्जरबाट कविता, मुक्तक, हाइकु, गीत, गजललगायत कवितात्मक सिर्जना प्रस्तुत गरेको अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिए । 

उनका अनुसार विभिन्न देशबाट अनलाइन सहभागिता जनाएका श्रष्टाहरूले आफ्ना सिर्जना प्रस्तुतिमा रुचि बढाउँदा निर्धारित समयमा कार्यक्रम सक्न हम्मेहम्मे परेको थियो । कार्यक्रममा बिओटी उपाध्यक्ष पदम विश्वकर्मा, अनेसास युकेका अध्यक्ष गुरुङ, अनेसास जर्जिया च्याप्टरका अध्यक्ष किरण मानिके, महासचिव डा. सुशील पौडेललगायतले मन्तव्यसहित सिर्जना प्रस्तुत गरेका थिए । संयोजन महानन्द सापकोटाका नाति एवं गैरआवासीय नेपाली संघका स्वास्थ्य समिति प्रमुख डा. सञ्जीव सापकोटाले गरेका थिए । कार्यक्रममा वाचन गरिएका सिर्जनाहरूलाई छिटै प्रकाशन गरिने तथा अनेसास जर्जिया च्याप्टरको फेसबुक पेज आइएनएलएक जर्जियामा पढ्न र सुन्न सकिने डा. सापकोटाले बताए ।

मदन पुरस्कार, इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, गोरखा दक्षिणबाहुलगायत प्रतिष्ठित राष्ट्रिय पुरस्कार तथा विभूषणबाट सम्मानित सापकोटा नेपाली भाषा–साहित्यमा मात्र नभई संस्कृति, शिक्षा तथा जनजागरणका अग्रणी व्यक्तित्वका रूपमा इतिहासमा स्थापित छन् । महात्मा गान्धीको अंग्रेजविरोधी असहयोग आन्दोलनमा समेत सक्रिय सहभागिता जनाएका सापकोटा नेपालमा मात्र नभई भारतको प्रतिष्ठित दुलीचन्द स्वर्णपदकबाट समेत विभूषित छन् । वि.सं १९५३ मा इलाममा जन्मिएका सापकोटाले ००७ सालको राणाविरोधी आन्दोलनमा सक्रिय भूमिका निभाएका थिए । सापकोटाका नेपाली साहित्यका विभिन्न विधामा गरी करिब डेढ दर्जन कृति तथा लेखरचना प्रकाशित छन् ।