मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
टेकराज थामी
२०७५ पौष १ आइतबार ०६:२२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

कोलकातामा बरामद ३३ केजी सुन नेपालबाट गायब भएको दाबी

पक्राउ परेका दुवैजना गोरे समूहका

Read Time : > 2 मिनेट
टेकराज थामी
२०७५ पौष १ आइतबार ०६:२२:००



नेपालबाट गायब भएको साढे ३३ केजी सुन र सनम शाक्य हत्यामा फरार रहेका अभियुक्तको नाम र भारतको कोलकातामा ३३ केजी सुनसहित पक्राउ परेका दुई नेपाली नागरिकको नाम एउटै भएको पाइएको छ ।

गृह मन्त्रालयका अनुसार भारतको कोलकातास्थित डाइरेक्टोरियट अफ रेभिन्यु इन्टेलिजेन्स (डिआरआई)ले २१ मंसिरमा ३३ केजी सुनसहित नेपाली नागरिक राकेशप्रसाद र हेमप्रसाद शर्मालाई पक्राउ गरेको थियो । उनीहरू दिल्ली कोलकाता हाइवेमा पर्ने दन्कुनी टोल प्लाजाबाट मारुती स्विफ्ट भिएक्सआई कारसहित पक्राउ परेका थिए । गृहले कोलकातामा बरामद सुन नेपालबाट गायब ३३ केजी सुन नै रहेको दाबी गरेको छ । 

सरकारले गत २० चैत ०७४ मा गठन गरेको उच्चस्तरीय विशेष अनुसन्धान समितिका तत्कालीन संयोजक ईश्वरराज पौडेलले ३३ केजी सुनसँगै कोलकातामा पक्राउ परेका दुई नेपालीको नामसँग सनम शाक्य हत्यामा फरार रहेका अभियुक्तको नाम मिलेको बताए ।

गृह मन्त्रालयका अनुसार कोलकातामा बरामद सुन दुबईबाट भित्रिएको र सुनसँगै पक्राउ अभियुक्त इटहरीका स्थानीय रहेको खुलेको छ । सनम शाक्य हत्यामा संलग्न भनिएका अधिकांश अभियुक्त धरान र इटहरी क्षेत्रकै छन् । उनीहरूले दुबईबाट नेपाल भित्रिएकै सुन तस्करी गर्थे । समितिका संयोजक पौडेलले पनि यो तथ्यलाई स्वीकार गरे । ‘साढे ३३ केजी सुनसँग जोडिएका अधिकांश अभियुक्त धरान, सुनसरी, इटहरी क्षेत्रका छन् । उनीहरूले दुबईबाट ल्याइएका सुन नै तस्करी गर्थे । कोलकातामा बरामद सुनको होलोग्राम हेर्दा दुबई नै देखिन्छ,’ उनले भने ।

 दुवैजना मोहन काफ्लेका सहयोगी
गृहका अनुसार पक्राउ राकेश र होमप्रसाद ‘मने’ भनिने मोहन काफ्लेको मान्छे रहेको खुलेको छ । ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या संलग्न काफ्ले अहिले मोरङ कारागारमा छन् । उनलाई पौडेल संयोजकत्वको समितिले नै पक्राउ गरेको थियो ।  ‘हामीले सनम शाक्यलाई यातना दिँदै हत्या गरिएको भिडियो हे¥यौँ । त्यहाँ गोरे भनिने चुडामणि उप्रेतीले ३३ केजी सुन गायब हुँदा सबैभन्दा धेरै शंका गरेको व्यक्ति काफ्ले नै देखिन्छ । गोरेले काफ्लेलाई ‘मने’ भनी पटक–पटक सम्बोधन गरेका छन्,’ पौडेलले भने, ‘काफ्ले अहिले जेलमा छन् । राकेश र होमप्रसाद काफ्लेकै मान्छे रहेको सूचना प्राप्त भएको छ ।’

दुवैजना गोरे समूहका : ईश्वरराज पौडेल
संयोजक, तत्कालीन
उच्चस्तरीय छानबिन समिति

 कोलकातामा बरामद ३३ केजी सुन र गत माघमा गायब भएको भनिएको ३३ केजी सुन एउटै हो ?
घटना हेर्दा त्यस्तै देखिन्छ । किनकि, त्यहाँ बरामद परिमाण ३३ केजी नै देखियो । अहिले भारतीय टेलिभिजनबाट जुन फुटेज सार्वजनिक भइरहेको छ, त्यहाँ बरामद सुन दुबईकै भएको देखिन्छ । सुनको बिस्कुटभित्र हल मार्क हुन्छ । बरामद सुनको हल मार्क हेर्दा दुबई गोल्डसँग मिल्छ । यस विषयमा नेपाल प्रहरीको उच्च तहका अधिकृतसँग बैठक बस्यौँ । उहाँहरूले पनि त्यही भनेका छन् । तर, फेस टु फेस हेरेजस्तो नहुन पनि सक्छ ।

 विमानस्थलबाट अन्य तस्करले नै लगेको पनि हुन सक्छ ? 
३३ केजी सुन किन ल्याइयो भन्ने विषय हाम्रो अनुसन्धानबाट खुलिसकेको छ । जब हामीले अनुसन्धान ग-यौँ, कारबाही पनि भयो । त्यसपछि विमानस्थलबाट हुने तस्करको जालो छिन्नभिन्न भयो । विमानस्थलबाट हुने सुन तस्कर अहिले पूरै बन्द छ । पछिल्लो समय विमानस्थलबाट ३३ केजी सुन तस्करी हुने सम्भावना नै छैन । त्यसो हुँदा कोलकातामा बरामद सुन पछि ल्याइएको सुन हुँदै होइन । त्यसो हुँदा त्यो सुन गायब भएको भनिएको ३३ केजी सुन नै हो ।

 के आधार छन् ? 
कोलाकातामा जो पक्राउ परे, उनीहरू धरान, सुनसरी, इटहरी, उर्लाबारीकै मान्छे हुन् । पहिला जुन समूहबाट सुन तस्कर हुन्थ्यो, ती पनि यही क्षेत्रकै थिए । त्यसो हुँदा अहिले पक्राउ परेकाहरू पनि त्यही समूहका मान्छे हुन् । कोलकातास्थित नोपली महावाणिज्य दूतावासलाई लेखिएको पत्र हेर्दा पक्राउ परेको भन्दै जुन नाम आएका छन्, ती नाम हामीले बनाएको प्रतिवेदनसँग मिल्छ । प्रतिवेदनमा हामीले २९२ जनालाई थप अनुसन्धान गरिनुपर्ने भनेका थियौँ । त्यहीमध्येका दुईजना नै कोलकातामा पक्राउ परेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।