मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/सिन्हवा रियो डि जेनेरो 
२०७६ श्रावण १४ मंगलबार १५:०४:००
Read Time : < 1 मिनेट
विश्व

ब्राजिलको कारागारमा भएको हिंसात्मक झडपमा ५७ जनाको मृत्यु 

Read Time : < 1 मिनेट
रासस/सिन्हवा रियो डि जेनेरो 
२०७६ श्रावण १४ मंगलबार १५:०४:००

ब्राजिलको उत्तरी राज्य पारास्थित कारागारमा दंगा हुँदा ५७ जनाको मृत्यु भएको छ । झडपमा परी १६ जनाको तत्कालै र ४१ जनाको जेलभित्र फैलिएको विषाक्त धुवाँका कारण ज्यान गएको अधिकारीले बताएका छन् ।

मृत्यु हुने मध्ये १६ जनाको घाँटी काटिएको थियो । कारागारको एउटा भागमा लगाएको आगोका कारण निस्केको धुँवामा निसासिएर ४१ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । कारागारभित्र रहेका दुई विरोधी समूहबीच हिंसा भड्किएको अधिकारीहरूले जनाएका छन् । 

पारा प्रान्तको अल्टामिरास्थित जेलभित्रको एउटा भवनमा राखिएका बन्दीले अर्को भवनमा आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । बन्दीको कब्जामा परेका दुई जेल अधिकारीहरूलाई मुक्त गरिएको छ । स्थानीय समयानुसार सोमबार बिहान करिब ७ बजे सुरु भएको हिंसा मध्याह्नतिर नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन् ।

हिंसा भड्किएको अल्टामिराको जेलमा १ सय ६३ जना कैदी अट्ने क्षमता छ । तर सो जेलमा ३ सय ४३ भन्दा बढी कैदीहरु रहेका थिए । ब्राजिल सरकारले ४६ जना कैदीलाई तत्काल जेलबाट सार्न आदेश दिएको छ । 

ब्राजिलका जेलहरुमा करिब सात लाख बन्दीहरु रहेका छन् । विश्वमै सबैभन्दा बढी बन्दी रहेका देशहरूमा ब्राजिल तेस्रो हो । त्यहाँ रहेका जेलमा भिडभाड हुने गरेको छ । हिंसा र लागूपदार्थसम्बन्धी कारोबारविरुद्धको कारबाहीका कारण केही दशकयता ब्राजिलका जेलमा बन्दीहरूको सङ्ख्या बढेको छ ।

गत मे महिनामा एकै दिन चार फरक फरक कारागारमा ४० जना कैदी मारिएका थिए । १५ जना कैदी मारिएको भोलिपल्ट पछिल्लो घटना भएको हो ।