मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ श्रावण १३ सोमबार ०७:४५:००
Read Time : > 1 मिनेट
अर्थ

देशभर २३ क्वारेन्टाइन, २७ चेकपोस्ट

तर, ल्याब र दक्ष जनशक्ति नभएको भन्दै सरकारले नै बन्द गर्‍यो आयातीत तरकारी, फलफूल र पशुपक्षी परीक्षण

Read Time : > 1 मिनेट
२०७६ श्रावण १३ सोमबार ०७:४५:००

कृषि तथा पशुपक्षी विकास मन्त्रालयमातहत देशभरका प्रमुख नाका र राजमार्ग क्षेत्रमा २३ क्वारेन्टाइन र २७ स्थायी तथा अस्थायी चेकपोस्ट छन् । यी संरचनामा प्रयोगशाला र कर्मचारी पनि छन्, तर तरकारी, फलफूल र पशुपक्षीको स्वास्थ्य परीक्षणमा सन्तोषजनक प्रगति छैन ।मन्त्रिपरिषद् बैठकले भारतीय दबाबमा १९ असारमा आयातीत तरकारी, फलफूलको विषादी परीक्षण स्थगित गर्ने निर्णय गरे पनि कृषि मन्त्रालयमातहतको संरचनाले प्रारम्भिक परीक्षण गर्न सक्ने क्षमता राख्छ । तर, अहिले यी सबै प्रयोगशाला कामविहीन अवस्थामा छन् । 

 नाकामा १५ प्रयोगशाला ८७ कर्मचारी
कृषि मन्त्रालयका अनुसार १५ स्थानमा तरकारी, फलफूल तथा विभिन्न बालीको रोग, किरा परीक्षण गर्ने प्रयोगशाला छन् । मन्त्रालयमातहतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रअन्तर्गत काँकडभिट्टा, विराटनगर, भण्टाबारी, जलेश्वर, मलंगवा, वीरगन्ज, तातोपानी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, टिमुरे, भैरहवा, कृष्णनगर, लोमान्थांग, नेपालगन्ज, गड्डाचौकी र झुलाघाटमा प्रयोगशाला छन् । यी प्रयोगशालामा काम गर्न १ सय ३९ कर्मचारीको दरबन्दी छ । यद्यपि, ८७ कर्मचारी कार्यरत छन् । यसमध्ये प्रयोगशाला सञ्चालन गर्ने प्राविधिक जनशक्तिको दरबन्दी ६९ मध्ये ५९ जना कार्यरत छन् । यी प्राविधिक कर्मचारीको सहयोगमा क्वारेन्टाइन चेकजाँच प्रभावकारी बनाउन सकिने भए पनि मन्त्रालयले खास चासो दिएको छैन ।

 सहरी क्षेत्रमा सात प्रयोगशाला, १३ कर्मचारी
नाकामा रहेको प्रयोगशालाले रोग, किरा भए–नभएको परीक्षण गरेपछि विषादीको अवशेष हेर्न नाकानजिकैको सहरी क्षेत्रमा राखिएको विषादी अवशेष द्रुत विश्लेषण एकाइमा पठाउन सकिन्छ ।  यसका लागि झापाको बिर्तामोड, मोरङको विराटनगर, सर्लाहीको नवलपुर, रुपन्देहीको बुटवल, कास्कीको पोखरा, बाँकेको नेपालगन्ज, कैलालीको अत्तरिया र काठमाडौंको कालीमाटीमा प्रयोगशाला राखिएको छ । प्रत्येक प्रयोगशालमा ५ कर्मचारीको दरबन्दी भए पनि बुटवलमा १ र अन्यत्र २–२ जना कर्मचारी छन् । यी कर्मचारीले विषादी परीक्षण गरेर रिपोर्ट दिन भ्याउँछन् । तर, प्रयोगशाला र कर्मचारीलाई आराम दिएर राखिएको छ ।

 पशुको स्वास्थ्य जाँच गर्न ८ क्वारेन्टाइन, १४९ कर्मचारी
पशुसेवा विभागमातहत देशका प्रमुख नाका काँकडभिट्टा, विराटनगर, जनकपुर, वीरगन्ज, काठमाडौं, भैरहवा, नेपालगन्ज र गड्डाचौकीमा पशु क्वारेन्टाइन कार्यालय छन् । त्यस्तै काँकडभिट्टा कार्यालयमातहत पशुपतिनगर, गौरीगन्ज, भद्रपुर र काँकडभिट्टामा चेकपोस्ट छन् । विराटनगर कार्यालयमातहत रानी, भेन्टाबारी र माडरमा चेकपोस्ट छन् । 

जनकपुर कार्यालयमातहत भिट्टामोड, जटही र मलंगवामा तथा वीरगन्ज कार्यालयमातहत सिर्सिया, मटिअर्वा, औरहिया र पथलैयामा चेकपोस्ट छन् । काठमाडौं कार्यालयमातहत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तातोपानी र रामनगरमा तथा भैरहवा कार्यालयमातहत बेलहिया, मधेसपुर र कृष्णनगरमा चेकपोस्ट छन् । नेपालगन्ज कार्यालयमातहत नेपालगन्ज, गुलरिया र भालुवाङ तथा गड्डाचौकी कार्यालयमातहत गड्डाचौकी, धनगढी, बेलौरी र दार्चुलामा चेकपोस्ट छन् । यी सबै कार्यालय र चेकपोस्टमा गरी कुल १ सय ४९ कर्मचारी छन् ।

कृषिमन्त्री भन्छन्– हामीसँग भएको प्रयोगशाला राम्ररी चलायौँ भने विषादी जाँच गर्न समस्या हुन्न
कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले मौजुदा अवस्थामा रहेका प्रयोगशालालाई अधिकतम उपयोग गर्न निर्देशन दिएका छन् । ‘अहिले हामीसँग भएका ल्याबलाई राम्रोसँग चलायौँ भने विषादी जाँच गर्न समस्या हुन्न,’ नाकामा रहेका प्रयोगशालाको अवस्थाबारे बुझ्न आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले भने, ‘अरू दुई–तीनवटा ल्याब राखिन्छ । चेकजाँच निरन्तर हुन्छ । आयातीतमा मात्र होइन, स्वदेशमा उत्पादन भएको उपजमा पनि परीक्षणलाई निरन्तरता दिइन्छ ।’ उनले प्रयोगशालालाई सुविधासम्पन्न बनाउने गरी योजना तयार गरेको बताए ।