Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अमित तामाङ काठमाडाैं
२०७६ श्रावण १२ आइतबार २१:१९:००
Read Time : > 3 मिनेट
ब्लग

भाइचारा र सद्भावका लागि मानवशास्त्रीय दृष्टिकोण उपयोगी हुन सक्छ 

Read Time : > 3 मिनेट
अमित तामाङ काठमाडाैं
२०७६ श्रावण १२ आइतबार २१:१९:००

नेपालमा मानवशास्त्र विषय ओझेलमा परेको छ । सन् २०१५ सम्म समाजशास्त्रको घेराभित्र मानवशास्त्र रहेकाले पनि यो विषय ओझेलमा पर्नुको कारण बनेको हो । दुई भिन्न विभाग गठन हुँदासम्म मानवशास्त्रलाई समाजशास्त्रको आङ्गिक विषयका रुपमा हेर्ने बुझाइ स्थापित भैसकेको थियो । अझै यी दुई विषय एउटै विभागमा रहेको भन्ने धेरैको बुझाइ छ । मानवशास्त्रमा आधारित भएर छुट्टै अध्ययन अध्यापन हुन नसक्नु पनि अर्को कारण हो । त्यसैले, मानवशास्त्र विषयको भ्रम निवारण गर्न यसका बारेमा अध्ययन गर्नु आवश्यक छ ।

मानवशास्त्रले समेट्ने विषय 

अन्य सामाजिक विज्ञानले जस्तै मानवशास्त्रले मानिस कै अध्ययन गर्दछ । तर विषयगत रुपमा यसले अङ्गीकार गर्ने मान्यता र विधि आफैमा मूल्यवान र मानव हितकारी छ । मानवशास्त्र विकासको क्रममा यूरोप र अमेरिकाबीच अध्ययन विधिमा केही विविधता थियो । जस्तै, बेलायतमा ‘सामाजिक मानवशास्त्र’ प्रचलित थियो । अग्रज मानवशास्त्रीले गहन ‘फिल्ड वर्क’मा जोड दिन्थे । 

अमेरिकामा ‘सांस्कृतिक मानवशास्त्र’ प्रचलित थियो । सुरुवाती मानवशास्त्रीहरुले संस्कृतिको शुक्ष्म विवरणको टिपोटमा जोड दिन्थे । यी दुई फरक भूगोलका विश्वविद्यालयहरुले विविध नामका मानवशास्त्रीय संघहरु गठन गरी निश्चित प्रकारको कार्य शैलीको अभ्यासमा जोड दिए । 

मानवशास्त्रले सम्बन्ध राख्ने विषय भने मानव, संस्कृति र समाजहरुबीचको समानता र फरकपनको अध्ययन हो । मानव जातिको प्रकृति र स्वभाव कस्तो हुन्छ भन्ने विषयमा विद्वानहरुले सयौँ वर्षदेखि विभिन्न तर्कहरु प्रस्तुत गर्दै आएका छन् । यस सवालमा मानवशास्त्रको देन भनेको मानवको शारीरिक विकासलाई पनि सांस्कृतिक विकाससँग जोडेर व्याख्या गर्न सक्नु हो । मानवीय स्वभावलाई समाज र पर्यावरणीय तत्वको आधारमा व्याख्या गर्न सक्नु पनि हो । 

यसरी मानवशास्त्रीय अध्ययनले मुलभूत रुपमा मानवीय विविधता र विशिष्टतालाई स्वभाविक मान्दछ । कुनै व्यक्ति वा मानव समुदायले गर्ने कार्य, व्यवहार र स्वभाव त्यो समाजको स्थापित मूल्य र मान्यतामा निर्भर हुन्छ भन्ने मानवशास्त्रीय बुझाइ हो । मानवीय कृया, प्रतिकृया, अन्तक्रिया र सोचलाई बुझ्ने प्रयास सम्भव बनाउन सोही समाजको सदस्यको दृष्टिकोणबाट हेर्ने प्रयास हुनुपर्छ । मानवशास्त्रले मानव समाज, जीवन शैली र दर्शनको अध्ययन पूर्ण र सम्भव छ भनेर दाबी नगरे पनि बुझ्नै नसकिने पनि होइन ।

मानवशास्त्रीय अध्ययन क्षेत्र

मानवशास्त्र आदिवासीको जीवन शैली वा भाषाको अध्ययनमा मात्र सीमित छैन । मानवशास्त्रको सांस्कृतिक शाखाको अध्ययान क्षेत्र धर्म, संस्कृति, परम्परा, जन्म, मृत्यु संस्कारहरुमा मात्र सीमित नराखी नै फराकिलो छ । तर उत्तर अमेरिकामा भने भाषाको मानवशास्त्रीय अध्ययनलाई आज पनि महत्व दिइन्छ ।

मानिससँग सरोकार राख्ने हरेक विषय र क्षेत्रमा मानवशास्त्रले चासो राख्ने हुँदा यसलाई समग्रताको विधा भन्नेहरु छन् । मानवशास्त्रले वास्तवमै मानव जातिसँग सम्बन्धित हरेक कुराहरुमा चासो राख्दछ । त्यसैले आज मानवशास्त्रको क्षेत्र र अयामहरु विकसित हुँदै गएका छन् । समकालीन मानवशास्त्रीय अभ्यासले प्रशासन, नीति, शासन शैली, व्यवस्था, अर्थतन्त्र, विकास, क्रान्ति, आन्दोलन,  सामाजिक कार्य, द्वन्द्व, लैङ्गिक सवाल, बसाइ –सराइ, भूमण्डलीकरण, स्थानीय र विश्वका सम्बन्ध, पर्यावरण र मानिस बीचको सम्बन्ध, जलवायु परिवर्तन, चिकित्सा आदि क्षेत्रहरुमा मानवशास्त्रीय दृष्टिकोणबाट आफ्नो अध्ययन अनुसन्धान गरेको भेटिन्छ ।

मानवशास्त्रीय अध्ययन विधि

विभिन्न भूभाग र देशका मानवशास्त्रीहरुले केही फरक अध्ययन विधिको अभ्यास गरेको भेटिन्छ । फरक दर्शनका मानवशास्त्रीहरुले फरक विधिमा जोड दिनुको एउटा कारण संस्कृति र मानिसबीचको सम्बन्धको बुझाइमा रहेको फरकपन हो । मानवशास्त्रमा ‘इथ्नोग्राफी’ सर्वव्यापक कार्य विधि हो । सामान्य रुपमा भन्दा, इथ्नोग्राफी भनेको कुनै मानव समुदायमा लामो समय सँगै बसेर उनीहरुको बारेमा लेख्ने कार्य हो । 

परम्परागत रुपमा ब्रिटिस अभ्यासबाट प्रभावित भएर विकास भएको सहभागितामूलक अवलोकन विधि मानवशास्त्रमा आज उत्तिकै प्रचलित छ । यसको आफ्नै फाइदा र चुनौतीहरु छन् । यस विधिमा आधारित परम्परागत इथ्नोग्राफीको आलोचना पनि गरिन्छ । यद्यपि यो  अवलोकन विधिलाई एक बलियो अध्ययन विधिका रुपमा लिइन्छ । 

इथ्नोग्राफी गर्ने क्रममा सहभागितामूलक अवलोकन विधिले मानिसको अभिव्यक्तिको साथै हाउभाउबाट प्रकट हुने विविध स्वभाव र प्रतिकृयालाई सन्दर्भ र घटनाक्रममा राखेर अध्ययन गर्ने हुँदा मानवशास्त्रीहरु सत्यसँग नजिक हुने सम्भावना उच्च रहन्छ । 

मानवशास्त्रको विकासको क्रममा यस क्षेत्रको व्यापकतासँगै समयानुकूल सैद्धान्तिक र यसका विधिहरुमा सुधार हुँदै आएको छ । उदाहरणका लागि, भूमण्डल नै एक घर जस्तो भएको अवस्थामा एक निश्चित स्थानमा गरेको अध्ययनको परिणामले समाजको प्रतिनिधित्व नहुन सक्छ । त्यसैले बहुस्थानमा अध्ययन गर्नु पर्ने हुन्छ । हाल मानवशास्त्रीहरुले नयाँ विधिको खोजी र प्रयोगलाई बढाइरहेका छन् । मानवशास्त्रले मुलभूत रुपमा गुणात्मक प्रकृतिको सामग्रीहरुमा जोड दिए पनि गुणात्मक र संख्यात्मक विधिको मिश्रित स्वरुपलाई प्रयोग गर्दछ । 

नेपालमा मानवशास्त्रको औचित्य

नेपालमा मानवशास्त्रको औचित्यको सन्दर्भमा दुई वटा तथ्यलाई केलाउनु उपयुक्त रहन्छ । पहिलो, सामाजिक विज्ञानअन्तर्गत स्वदेशी तथा विदेशीहरुले नेपालमा गरेका अध्ययन, प्रकाशित लेख तथा पुस्तकहरुमा मानवशास्त्रीको संलग्नता गुणात्मक र संख्यात्मक हिसाबले उल्लेखनीय छ । साथै सामाजिक विज्ञानअन्तर्गत हुने सम्मेलनहरुमा प्रस्तुत हुने कार्य पत्रहरुमा पनि मानवशास्त्रीहरुको सहभागिता उच्च छ । यसबाट कार्यगत रुपमा नेपालमा विदेशी र स्वदेशी मानवशास्त्रीहरु धेरै अघिदेखि क्रियाशील रहेको प्रष्ट पार्छ । तर यो तथ्यलाई आम रुपमा मनन गरिएको छैन ।

दोश्रो मानवशास्त्रीय योगदानको उपयोगितालाई पाटोलाई केलाउँदा सरकारले नीति निर्माण गर्ने सन्दर्भमा सहयोग पुग्छ । साथै नेपालको नागरिकको हैसियतले कसैले पनि मानवशास्त्रीय कृतिहरु पढ्दा र मनन गर्दा सामाजिक सद्भाव कायम गर्न, दिगो विकास गर्न र सचेत नागरिक समाज निर्माण गर्न ठुलो सहयोग पुग्नेछ । जस्तै, नेवार समुदायसँग सम्बन्धित गुठीका सम्बन्धमा प्रकशित मानवशास्त्रीय लेख तथा पुस्तकको अध्ययन गरेर गुठी विधेयक ल्याएको भए, सायद विवाद उत्पन्न नहुन सक्थ्यो । या समस्या कम जटिल हुने थियो ।

नेपालमा अर्को पेचिलो बनेको तराई मधेसको सवालहरु  हुन् । अर्जुन गुनारत्ने, फ्रेडरिक गेइज जस्ता मानवशास्त्रीले लामो समयको अध्ययन पश्चात प्रकाशन गरेको कृतिहरुले पक्कै पनि तराई मधेसलाई बुझ्न केही हदसम्म सघाउँछ । साथै पछाडि पारिएका जाति तथा सम्प्रदायलाई प्रदान गर्ने कोटा वा सकारात्मक विभेदको सिद्धान्तको औचित्यबारे बहस हुँदै गर्दा, यसलाई सम्बोधन गर्न यस्ता सम्प्रदायका बारेमा मानवशास्त्रीहरुले गरेका अध्ययन र प्रकाशन निश्चय पनि सहयोगी हुन्छ । नेपालमा औद्योगिक विकासको प्रकृतिलाई बुझ्न र नीति नियमहरु तर्जुमा गर्न वर्षौं अध्ययन पश्चात लेखिएको मल्लिका शाक्यको ’डेथ अभ यान इन्डस्ट्री’ले केही हदसम्म सघाउँछ ।

नेपालको मात्र नभई विश्वकै चुनौती बनेको तर वेवास्ता गरिएको विषय जलवायु परिवर्तन हो । यस क्षेत्रमा पनि स्वदेशी र विदेशी धेरै मानवशास्त्रीहरुले कलम चलाएका छन् । जुन नेपालको जलवायु र पर्यावरण संरक्षणको सवालमा अत्यन्तै उपयोगी हुन्छ ।

यस्तो सूची धेरै लामो बन्न जान्छ । मेरो तर्क यो होइन कि मानवशास्त्र समस्याको समाधानको पूर्ण श्रोत हो । तर मानवशास्त्रीय दृष्टिकोणबाट गरिएका शोध र प्रकाशनको अध्ययनले मानव समुदायलाई नजिकबाट उनीहरुकै दृष्टिकोणबाट बुझ्न भने पक्कै सघाउँछ । त्यसैले, सामाजिक भाइचारा र सद्भावको लागि मानवशास्त्रीय दृष्टिकोण अत्यन्तै उपयोगी हुन सक्छ ।