मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ श्रावण १२ आइतबार १५:०४:००
Read Time : > 1 मिनेट
प्रदेश

कम्पनीको लापरबाहीले चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध

Read Time : > 1 मिनेट
२०७६ श्रावण १२ आइतबार १५:०४:००

टावर निर्माण कम्पनीको लापरबाहीले चार दिनदेखि जाजरकोट सदरमुकामलगायत जिल्लाभरको टेलिफोन सेवा अवरुद्ध भएको छ । 

केही दिनदेखि टेलिफोनले काम नगरेको स्थानीय प्रकाश शाहीले बताए । ‘फोनले काम गरेको छैन । इन्टरनेट पनि भरपर्दो छैन,’ शाहीले भने । टेलिकमले टावरको मर्मतसम्भार र क्षमता बिस्तार नगर्दा समस्या भएको उनको भनाइ छ । टेलिफोन अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी संघसंस्थाको कामकाजसमेत प्रभावित भएको छ । 

पटक–पटक टेलिफोन अवरुद्ध हुँदा स्थानीय बासिन्दासँगै सरकारी कार्यालयका कर्मचारीले पनि काम गर्न समस्या भएको बताएका छन् । टेलिफोन सेवा अवरुद्ध भएको विषयमा नेपाल टेलिकमसँग पटक–पटक कुराकानी गरे पनि समाधान नभएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । ‘केन्द्र र प्रदेश सरकारलाई पत्रचार गराउँदा पनि सुनुवाइ भएको छैन,’ प्रजिअ बस्नेतले भने । 

सदरमुकाममै रहेका टेलिफोन टावरले पनि काम गर्न छाडेका छन् । मोबाइलमा नेटवर्क आए पनि काम नगरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । नेपाल टेलिकम कार्यालयको एक किलोमिटरको दूरीमा पनि नेटवकले काम नगरेको स्थानीय बासिन्दाले बताए । 

दुई गाउँपालिकामा एक वर्षदेखि अवरुद्ध
कुशे र जुनीचाँदे गाउँपालिकामा एक वर्षदेखि टेलिफोन सेवा अवरुद्ध छ । कुसे गाउँपालिकाको लाताचुली र जुनीचाँदे गाउँपालिकाको मजकोटमा रहेको टावर बिग्रिएको स्थानीय बासिन्दाले बताए । ‘पुरानो टावर मर्मत भएको छैन । नयाँ टावरका लागि माग गरे पनि वास्ता गरेका छैनन्,’ स्थानीय बासिन्दा रेशमबहादर खड्काले भने ।

निर्माणाधीन सात टावर अलपत्र 
त्यस्तै, जिल्लाका विभिन्न स्थानमा निर्माणाधीन सात टावर पनि अलपत्र परेका छन् । सात स्थानमा टावर निर्माणका लागि एस्टर नेपाल प्रालिसँग दुई वर्षअघि सम्झौता भएको थियो ।

नलगाड नगरपालिका–२ को गडी, बारेकोट गाउँपालिका–५ को रतनकोट, वडा नं. ९ को लेकचौर, वडा नं. २ को रातापटान, कुशे गाउँपालिका–८को लाँताचुली, शिवालय गाउँपालिका–५ को चिउँदुवा र जुनीचाँदे गाउँपालिका–२ को भैरीलेकमा टावर निर्माणको काम अलपत्र परेको हो । गत वर्ष नै काम सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । 

प्राविधिक कारणले समस्या : टेलिकम
दुर्गम गाउँमा रहेका स्काई मोबाइल टावरबाट घाम लाग्दा नेटवर्क आउने र बादल लाग्दा नआउने समस्या छ । नेटवर्क कमजोर हुँदा समस्या भएको टेलिकमका निमित्त प्रमुख लोकेन्द्र भण्डारीले बताए । ‘रातामाटा टावरको लिंकमा बारम्बार डिस्टर्ब हुँदा थप समस्या छ,’ उनले भने, ‘टावरको क्षमताभन्दा मोबाइलकर्ताको संख्या बढी हुँदा पनि नेटवर्कको समस्या भएको हो ।’ 

नेपालगन्जस्थित नेपाल टेलिकम मध्यपश्चिम क्षेत्रीय निर्देशनालयका प्राविधिक प्रमुख शिव खनालले ठेकेदार कम्पनीले टावर निर्माणमा लापरबाही गरेकाले समस्या भएको बताए ।