मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २९ शनिबार १९:४८:००
Read Time : > 4 मिनेट
समाचार

कांग्रेस नेता भन्छन्–सरकारले निर्मलाकाे हत्यारालाई बचायो, ओलीले संविधान चपाउन थाले !

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २९ शनिबार १९:४८:००

कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्मला पन्तको हत्यारालाई सरकारले नै बचाउन खोजेको आरोप लगाएका छन् । सनिबारदेखि राजधानी काठमाडौँमा सुरु महासमिति बैठकको उद्घाटनमा उनले सरकार शान्ति सुरक्षा कायम गराउन नसकेको आरोप पनि लगाए । उनले सरकार आफै निर्मलाको हत्यारा बचाउन लागि परेको भन्दै मुलुकभर हत्या हिंसाका घटना बढ्दै गएको तथा निर्मला पन्तको तस्वीर टाँस्नेलाई समेत नियन्त्रणमा लिने सरकारका क्रियाकलाप सर्वत्र आलोचित भएको बताए । संघीयता नै असफल बनाउने षडयन्त्रमा सरकार लागेको पनि उनको आरोप छ । 

सरकारले जनतालाई लोकतन्त्रको उपहास गरी मंहगी बढाएको, बुढी गण्डकी आयोजना निर्माणको जिम्मा विना प्रतिष्पर्धा विदेशीलाई सुम्पिएको, मिडियामा हस्तक्षेप बढाएको भन्दै पूर्वप्रधानमनत्री देउवाले त्यस विरुद्ध शसक्त प्रतिकार गर्नुपर्ने बताए । 

पार्टीलाई एकतावद्ध र संगठित बनाइ बलियो प्रतिपक्षीको रुपमा मुलुकभर सरकारका क्रियाकलाप विरुद्ध आवाज बुलन्द पार्नुपर्नेमा उनको जोड थियो । मुलुकका राजनीतिक परिर्वतनमा कांग्रेसको ठूलो योगदान रहेको भन्दै सभापति देउवाले आन्तरिक द्धन्द्धका कारण कतिपय अवस्थामा उम्मेदवारहरु पराजित हुनुपरेको बताए । पार्टी भित्र विधि र पद्धतिलाई बलियो बनाउन नसक्दा पार्टी कै आन्तरिक कारण र आन्तरिक द्धन्द्धले उम्मेदवार पराजित हुनुपरेको बताए । उनले एक पटक जित्ने र अर्को पटक हार्ने काम हुँदै आएको बताए ।  

जनता कांग्रेसको प्रतिक्षामा : रामचन्द्र पौडेल

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्रको कमजोरी हटाउन एकता गर्नुपर्ने बताएका छन् । महासमिति बैठकमा उनले एकता देखाउन मात्रै नभइ यथार्थमा पार्टी एकता हुनुपर्ने बताए । उपसभापति विजय कुमार गच्छदारले हात उठाएर एकताको संदेश दिन गरेको आह्वान प्रति लक्षीत गर्दै उनले हात उठाएर मात्रै एकतावद्ध नहुने जिकिर गरे । एकताको बैज्ञानिक आधार खडा गरि कार्यगत र ठोस एकता हुनुपर्नेमा उनको जोड छ ।

युवा अवस्थादेखि सभापति देउवा र आफ्नो एउटै लक्ष्य र संघर्ष गरेका मान्छेका बीचमा मेल किन नहुने भन्दै उनले महासमिति सदस्यलाई प्रश्नसमेत गरे । उनले भने,‘फर्केर जिल्लामा जाँदा एक भएर जानुहुन्छ कि हुदैन ? फेरी जिल्लामा गएर छिड्के दाउ खेल्नु हुन्छ कि हुँदैन ?’

‘अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ’ भने जस्तै विगतमा पनि एकता भएको संदेश दिएर पार्टी ठूलो दुर्घटनामा परेको बताए । उनले भने ‘यथार्थवादी बनेर विषय, कार्यशैली र पार्टी भित्रको कमजोरी हटाउन एकता गरौँ ।’

कांग्रेस धेरै ठूलो संकटमा परेको भन्दै उनले त्यसको सामना गर्न पार्टीभित्र एकता हुनुपर्ने बताए । विगतमा उम्मेद्वारीको टिकट दिँदा गल्ती भएको भन्दै सही मूल्यांकन गरेर क्षमता र योगदानको कदर गर्नुपर्ने बताए । उनले आगामी चुनावमा ठूलो पार्टी बन्ने तयारीका साथ पार्टीले कार्यतालिका बनाई आफ्ना कार्यक्रमहरुलाई अघि बढाउनुपर्र्ने बताए ।

कम्युनिस्टकै लहैलहैमा लागेर कार्यकर्ताहरुले पनि नेतालाई विपीको बाटो छोडे भन्ने आरोप लगाउने गरेको भन्दै उनले नेतृत्वले विपीको बाटो नछोडेको दाबी गरे । बहुलवादमा आधारित संसदीय लोकतन्त्र, गाउँमा अधिकार पु¥याउने, ग्रामिण विकासदेखि मुलुकको अर्थतन्त्रमा सुधार ल्याउनेलगायत काम विपीकै चाहाना अनुरुपका भएको दाबीसमेत गरे ।

नयाँ शोषक जन्माउने तर्फ सरकारका कामहरु अघि बढेको भन्दै उनले सरकारका गलत क्रियाकलाप विरुद्ध एकजुट हुनुपर्ने बताए । समृद्ध नेपाल सुखी नेपालीको नारा दिए पनि सरकार त्यसको बाटोमा अघि नबढेको ठोकुवा गरे । आफ्नो नारा अनुसार सरकारका क्रियाकलाप केन्द्रीत नभएकाले जनताले कांग्रेसको प्रतिक्षा गरिरहेको दाबी गरे । असिमिति भोगको लालसामा नपर्न पनि उनको आग्रह गरे । कांग्रेस एक नभएसम्म सरकारको अधिनायवादी शैलि विरुद्ध लड्न नसकिने पनि बताए ।


एकतावद्ध भएर अघि बढौँ : उपसभापति निधि

कांग्रेस उपसभापति विमलेन्द्र निधीले आगामी चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रयत्नका साथ एकतावद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । उनले पराजयलाई लिएर दुख्मनाउ गरेर बस्नु भन्दा एकतावद्ध भएर थप उत्साहका साथ अघि बढ्नुपर्ने बताए । 

सरकारले गरेका संघीय र संसंदीय प्रणाली विरुद्धका क्रियाकलाप र कांग्रेसले गरेका कामका बारेमा जनतालाई जानकारी गराउँदै अघि बढ्नुपर्नेमा उनको जोड थियो । प्रधानमन्त्री केपी ओलीले कांग्रेसलाई ‘भित्तामा टाँस्ने साइनबोर्ड बनाइदिन्छु’ भनेको प्रसंग उल्लेख गर्दे उनले सरकारका क्रियाकलापविरुद्धको शसक्त लडाइका लागि संगठन सुदृढ हुनुपर्ने जिरह सुनाए । संगठन सुदृढ नभइ शसक्त प्रतिकार गर्न नसकिने उनको भनाइ छ । 

ओलीले संविधान चपाउन थालेँ : उपसभापति गच्छदार   

कांग्रेस उपसभापति विजयकुमार गच्छदारले सरकार संविधान विपरित हिँडेको आरोप लगाएका छन् । उनले संविधानको संरक्षण गर्न पनि कांग्रेस बलियो हुन आवश्यक रहेको बताए । प्रधानमन्त्री ओलीले संविधान चपाउन थालेको उनले आरोप लगाए ।  कम्युनिस्टको अधिनायकवाद तर्फ मुलुकलाई लैजाने प्रयास भइरहेको र त्यसविरुद्ध कांग्रेस एकजुट भएर लाग्नुपर्ने उनको भनइ छ । 

कम्युनिस्ट अधिनायकवाद आए संसदीय प्रजातन्त्र, जनताको अधिकार, प्रेस, स्वतन्त्र न्यायलयमाथि प्रहार हुनुका साथै संसदलाई पंगु बनाउने काम हुने उपसभापति गच्छदारको जिरह छ ।  कांग्रेस कमजोर भए मुलुकमा लोकतन्त्र कमजोर हुने, संसदीय व्यवस्था पंगु हुने, न्यायलय कमजोर हुने भन्ने बुझेर त्यसको संरक्षणका लागि आफू कांग्रेसमै फर्किएको स्पष्ट पारे । उनले कांग्रेसलाई काँध थाप्न आफू कांग्रेसमा आएको पनि उल्लेख गरे । 

तर, पार्टी भित्रको गुट उपगुटका कारण कांग्रेस कमजोर बनेको भन्दै नेतृत्वलाई एकताको सन्देश दिन आग्रहसमेत गरे । वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवाले एउटा प्लेटको फुरुनदाना बाँडेर खाएको उल्लेख गर्दै उनले दुवै नेताले सभाबाट एकताको संदेश दिनुपर्ने बताए । 


पार्टीलाई सक्षम, सुदृढ र व्यवस्थित बनाउनुपर्छ : महामन्त्री कोइराला

काग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीलाई सक्षम, सुदृढ र व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् । उनले पार्टीको वृहत हितमा लाग्न नेतृत्वलाई आग्रह गरे । ओहदा भन्दा कामलाई स्मरण गरिने भएकाले पदीय हैसियतलाई कायम राख्नुपर्नेमा जोड दिए । जाडोमा रुखका पातहरु सुके पनि वृक्ष भने बाँचीरहने भन्दै उनले भने,‘पात झर्दै गर्दा उसले सँगै आउँदो बसन्त ऋतुमा हराभरा हुने तरंग दिन्छ ।’ उनले आगामी दिनमा यसैलाई बुझेर कांग्रेसले विपीका सिद्धान्त र मान्यतालाई अघि बढाउँदै लैजानु पर्ने बताए । 

अन्य नेताहरु के भन्छन् ?

पूर्वउपसभापति गोपालमान श्रेष्ठले महासमिति बैठकपछि कांग्रेस एकढिक्का भएर अघि बढेको छ भन्ने संन्देश दिनुपर्ने बताए । उनले सबैलाई आन्तरिक मनमुटाब छोडेर पार्टी नीतिमा इमान्दार बन्न पनि सुझाव दिए । वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्न, शान्ति सुरक्षाको प्रत्याभूति दिन तथा सबै क्षेत्रमा असफल र असक्षम देखिएको जिकिर गरे । उनले सदनदेखि सडकसम्म सरकारको विरोधमा सक्रिय हुनुपर्ने बताए । 

केन्द्रीय सदस्य चित्रलेखा यादवले संवैधानिक व्यवस्थाअनुसार नै महिलालाई पनि सम्मानपूर्ण सहभागीता गराउने निर्णय महासमिति बैठकले गनुपर्ने  बताइन्  । पुरुषहरु प्रधानमन्त्री बन्दा महिलाहरु उपप्रधानमन्त्री बन्न किन नसक्ने ? भन्दै उनले प्रश्न समेत गरिन् । यस विषयमा पार्टीले नीति बनाएर अघि बढ्नुपर्ने तर्फ नेतृत्वको ध्यानाकर्षण गराइन् ।

केन्द्रीय सदस्य प्रकाशमान सिंहले कांग्रेसले वर्तमान चुनौतीलाई सामना गर्न संगठन सुदृढीकरणलाई प्राथमिकता दिनुपर्ने बताए । कोषाध्यक्ष सीतादेवी यादवले पार्टीलाई गुट उपगुटबाट माथि उठाएर एकढिक्का बनाएर लैजानुपर्ने मा बताइन् । कम्युनिस्ट सरकारको कार्यशैलीले संवैधानिक अतिक्रमण बढाउँदै लगेको, दण्डहिनता र भ्रष्टाचार मौलाएको, शान्ति सुरक्षा कमजोर बन्दै गएको उनको आरोप छ । उनले त्यसविरुद्ध सशक्त र संस्थागत खबरदारी गर्नुपर्नेमा बताइन् ।

पूर्वमहामन्त्री पूर्णबहादुर खड्काले सरकारले संविधानले स्थापित गरेका लोकतान्त्रिक आधारहरु भत्काउने काम गरेका आरोप लगाए । धार्मिक स्वतन्त्रतालाई तहसनहस पार्ने काम सरकारबाट भइरहेको पनि उनको आरोप छ । उनले कांग्रेसले सरकारका ती क्रियाकलाप विरुद्ध रणनीति नै बनाई प्रतिकार गर्नुपर्ने बताए ।