मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ पौष २० शुक्रबार ०७:०३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

प्रहरीको पहरामा सिंहदरबार पुगेर शपथ लिएका चौधरी छातीमा सांसदको लोगो भिरेर जेलमै फिर्ता

Read Time : > 1 मिनेट
२०७५ पौष २० शुक्रबार ०७:०३:००

कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रेशम चौधरीले चुनाव जितेको एक वर्षपछि पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) सांसद चौधरीलाई बिहीबार सभामुख कृष्णबहादुर महराले सिंहदरबारस्थित संसद् सचिवालय शपथ खुवाएका हुन् । 

प्रहरीको पहरामा सांसदको शपथ लिन सिंहदरबार पुगेका चौधरी थारू संस्कृति झल्किने पोसाकसँगै ढाका टोपी र कालो चस्मामा ठाँटिएका थिए । उनले थारू भाषामै शपथ खाए ।

थरुहट आन्दोलनका क्रममा ७ भदौ ०७२ मा टीकापुरमा भएको आठजनाको हत्या घटनामा जिल्ला अदालत कैलालीले चौधरीलाई मुख्य दोषी ठहर गरेपछि उनको शपथ रोकिएको थियो । नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको सो घटनालगत्तै फरार उनी गत वर्ष मंसिरमा भएको निर्वाचनमा भूमिगत अवस्थामै उम्मेदवारी दिएर पनि भारी मतले विजयी भएका थिए । 

१४ फागुनमा जिल्ला अदालतमा आत्मसमर्पण गरेका उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला कारागारमा राखिएका उनलाई पछि काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागार पठाइएको थियो । 

राजपाले चौधरीलाई शपथ दिलाउन सरकार र प्रधानमन्त्री केपी ओलीसँग पटक–पटक माग गर्दै आएको थियो । पछिल्लो समय प्रधानमन्त्री सकारात्मक भएपछि उनलाई शपथ दिलाइएको हो । 

शपथपछि चौधरीलाई प्रहरीले पुनः कारागारमै फर्कायो । सांसदको लोगो भिरेर उनी मुस्कानसहित हात हल्लाउँदै प्रहरी भ्यान चढेर सिंहदरबारबाट बाहिरिए । 

शपथ समारोहमा राजपाको शीर्ष नेताहरू उपस्थित थिए । राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले राष्ट्रले सांसद स्विकारिसकेपछि अब रेशम चौधरी संसद्मा बसेर जनप्रतिनिधिको हैसियतमा काम गर्न पाउनुपर्ने बताए । 


शपथपछि रेशम चौधरीको प्रश्न– सांसदको लोगो लगाएर पनि जेल जानुपर्ने ? 


मैले यो लोगो लगाएको छु । अहिले पनि यो माला र खादा लगाएर जेल जानुपर्छ होला । तर, मिडियाबाट भन्दिनुहोला, मैले लगाएको लोगोको प्रतिष्ठा कति रहन्छ, कति रहन्न ? राजनीतिक दुर्घटनाको निकास राजनीतिक रूपबाटै हुनुपर्छ । तँ, तँ र म, म गर्ने अवस्था छैन । टीकापुर घटना सामाजिक सञ्जालमा जिस्क्याउने घटना होइन, एउटा वर्गीय, जातीय भावनालाई ठेस लागेको घटना हो । अझै पनि हाम्रा सयौँ साथीहरू निर्वासित छन्, जेलमा छन् ।

टीकापुरको घटना भइरहँदा म बर्दियामा थिएँ । भाद्र ३ गते टीकापुरको तोरियापुरमा घटना भइसकेपछि काठमाडौं आएर राजनीतिक दलसँग छलफल गरेपछि टीकापुर पुगेको व्यक्ति हुँ । म सुरक्षाकर्मीकै गाडीमा धनगढी पुगेँ, सुरक्षाकर्मीकै गाडीमा टीकापुर पुगेँ, सुरक्षाकर्मीकै निगरानीमा रातभरि बसेँ । भोलिपल्ट समस्यालाई निराकरण गर्नुपर्छ भनेर सुरक्षाकर्मीसँगै बर्दियाको गुलरिया पुगेँ । चौबिसै घन्टा सुरक्षाकर्मीको घेरामा बसेको मान्छेले कतिवेला षड्यन्त्र गरेँ ? त्यो टीकापुरले प्रमाणित गरेको छ । 

आज टीकापुर उजाड छ । टीकापुरमा व्यापार छैन । मान्छेको बीचमा सम्झौता छैन । एउटा वर्ग बजारमा जान डराउँछ । अर्को वर्ग गाउँ जान डराउँछ । यसका निम्ति राज्य बोल्नुपर्छ कि पर्दैन ? हामी न्यायालयबाट न्याय चाहन्छौँ । हामी भिख चाहन्नौँ । हामीलाई न्यायको आँखाले हेर्दिनुस् । साढे ३ वर्षदेखि हामी पुर्पक्षका लागि जेलमा छौँ । हाम्रै कानुनले १ वर्षभन्दा बढी पुर्पक्षमा राख्न पाइँदैन भन्छ । हामीलाई न्याय दिनुस् । दोषी भए प्रमाणित गरिदिनुस्, होइन भने हामीले समाज मिलाउनुपर्छ । राजनीति गर्ने मान्छेलाई देशका लागि टेबुलटक गर्न सहज होला । तर, समाज र वर्ग मिलाउन अत्यन्त कठिन छ ।