Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
पदम ठकुराठी, पूर्वपत्रकार
२०७६ श्रावण ११ शनिबार ०८:०५:००
Read Time : > 6 मिनेट
फिचर

मरिचमानले खाइदिए ठकुराठीको उपचार खर्च

Read Time : > 6 मिनेट
२०७६ श्रावण ११ शनिबार ०८:०५:००

कुराकानीको बिट मार्ने मनसायले राजपरिवारविरुद्ध समाचार लेख्दा गोली खाएका पत्रकार पदम ठकुराठीलाई सोधेँ– अहिलेको राजनीतिक अवस्था कस्तो देख्नुभएको छ त ? 
‘म, मेरो परिवार, मेरा इष्टमित्र, मेरा आफन्त, भान्जाभान्जी, नातागोताको हितमा होइन जनता र देशको हितमा काम गर्छु भन्ने नेता एक पनि छैनन् । नेतामा इमान्दारिता रहेन । जिम्मेवार छैनन् । जनताप्रति बफादार भएनन् । अनि कसरी सुध्रन्छ देश ।’ 

०३९ सालदेखि प्रजातन्त्र स्थापना र  सुधारसहितको पञ्चायतका पक्षमा मिसन पत्रकारिता गरेका ७१ वर्षीय ठकुराठीलाई अर्को जिज्ञासा राखेँ– तपाईंको पालामा र हाम्रो समयको पत्रकारितालाई कसरी तुलना गर्नुहुन्छ ?‘पत्रकारिता बिग्रेको छ, स्वार्थमा गरिने पत्रकारितालेकसैको हित गर्दैन । अहिले कतिपय पत्रकार राजनीति र शक्तिकेन्द्रबाट प्रभावित छन् ।’
उसो भए यो सुधार्न के गर्नुपर्छ जस्तो लाग्छ ? ठकुराठीले आक्रोशित मुद्रामा भने–‘त्यो कुरा भगवान पशुपतिनाथलाई सोध्नुस् । उनैले रक्षा गरेका छन्, उनै जानुन् ।’ 

सातजना मिलेर सप्तकोसी प्रकाशन स्थापना गरेर ०३९ साल १ पुसदेखि ‘साप्ताहिक मञ्च’का सम्पादक बनेका ठकुराठीले के जाने÷भोगेका छन् त ? उनले प्रस्ट्याए, ‘त्यसवेला पत्रकारिताको शक्ति थियो, धर्म थियो, कतिले मिसन पत्रकारिता गरे, मैले स्वतन्त्र भएर प्रजातन्त्र आवोस्, पञ्चायत पनि नसकियोस् भनेर पत्रकारिता गरेँ । भोगेको कुरा गर्नुहुन्छ भने त पञ्चायदेखि अहिले तपार्ईंहरूले भोग्दै गरेको गणतन्त्र म पनि भोग्दैछु ।’ 

गणतन्त्रलाई पनि ‘भोग्ने’ अर्थमा लिनुको कारणबारे उनी प्रष्टयाउँछन्– ‘लोकतान्त्रिक संघीय गणतन्त्र भनेको जनता सर्वेसर्वा र शासक सेवक हुने व्यवस्था हो । तर, यहाँ आज पनि शासकले जनतालाई रैतीभन्दा कमजोर सम्झेका छन्, देशका थिति छैन । बेथिति छ ।’०३९ सालमा जब उनी साप्ताहिक मञ्चको सम्पादक बने, कहिल्यै सुख पाएनन् । जहिले धम्की, पक्राउ र जेलनेल भइरह्यो । ‘समाचार लेख्नु अहिलेजस्तो सजिलो कहाँ थियो,’ पूर्वपत्रकार ठकुराठीले भने, ‘फलामका अक्षर गाँसेर (कम्पोज गरेर) शब्द बनाउनुपथ्र्यो, एउटा समाचार कम्पोज गर्न एक दिनै लाग्थ्यो ।’ अक्षर कम्पोज गर्ने प्रविधिबाट ‘लेटर प्रेस’मा पत्रिका छाप्न कम्तीमा तीन दिन लाग्थ्यो । शुक्रबारको पत्रिका मंगलबारै ‘लेटर प्रेस’मा पठाउँथे । उनले भने, ‘चार, पाँच दिनको मिहिनेतपछि बल्ल पाठकको हातमा पत्रिका पथ्र्यो । तर, तहल्कै हुन्थ्यो ।’

अहिले के हुँदै त ? 
ठकुराठी अहिलेको पत्रकारितामा त्यसवेलाको जस्तो ‘दम’ देख्दैनन् । भन्छन्, ‘अहिले कसलाई पत्याउने, कसलाई नपत्याउनेजस्तो हुन्छ । राजहाँसले पानीबाट दूध छानेर पिए झैँ पाठकले १० थरी समाचार पढेर सत्य आफैँ खुट्याउनुपर्ने अवस्था छ ।’ उनको समयमा प्रविधिका दुःख एकातिर थिए । राज्य व्यवस्थाले दिने दुःखको फेहरिस्त सुनाइ नसक्नुको भएको उनी स्मरण गर्छन् । ‘हामी सत्य लेख्थ्यौँ । त्यसवेलाको व्यवस्थाका आसेपासेका गल्ती जनमानसमा पस्किन्थ्यौँ, अनि हामीलाई देखिसहँदैन थिए,’ ठकुराठीले भने, ‘समाचार लेखेकै कारण बिसौँपटक जेल गएँ, गोली नै ठोके ।’

के लेख्थे त्यस्तो ? 
पञ्चायतकालमा राजा र राजपरिवार निकटहरूको बोलवाला हुन्थ्यो । उनीहरूको हुकुम कानुनसरह हुन्थ्यो । सत्ताका निकट हुनेहरूको बदमासी, अनियमितताबारे बोल्न हुँदैन थियो । तर, ठकुराठी यस्तै विषय समाचार, समाचार नभए ‘सुलसुले’ (सत्य तर अपुस्ट) लेखिदिन्थे । ‘अनि त हंगामा हुन्थ्यो, अफिस घेरिन्थ्यो, जहाँ पायो त्यहीँबाट पक्राउ परिन्थ्यो,’ उनले सम्झिए, ‘तत्कालीन आईजिपी डिबी लामाको पालामा महिला प्रहरी भर्ना गर्ने सिस्टम ल्याइयो । प्रहरीमा भर्ना हुन धरानबाट महिलाहरू काठमाडौंमा आए, तीं महिलाले राष्ट्रिय पञ्चायनका सदस्य र भूतपूर्व सदस्यलाई बागबजारको तत्कालीन एसियन गेस्टहाउसमा रक्सीपाटी र डान्स देखाए । यो कुरा मित्रलाल अधिकारी बालक (हाल स्वर्गीय)ले आएर भलाई भनेँ, मैले सुलसुले लेखिदिएँ ।’ 

साप्ताहिक मञ्चमा सुलसुले निकै चर्चित थियो  । उक्त सुलसुले छापिएपछि हंगामा भयो । ‘आइतबार अफिस आउँदा त कार्यालय आठ १० जना महिलाले घेरिएको थियो,’ उनले भने, ‘अफिसमा लक्ष्मी शाही भन्ने बहिनीले मलाई चिनाइदिन् । उनीहरूले टेलिफोनको तार चुँडालेर फाले, झ्याल र टेबलको सिसा फोडिदिए । लक्ष्मीले प्रहरीलाई खबर गर्दा प्रहरी आएन । एक घन्टापछि आएको प्रहरीले मलाई नै पक्रेर लग्यो । जेल हाल्यो । पछि थाहा भयो तीं महिला त त्यहीवेला प्रहरीमा भर्ना भएकाहरू पो रहेछन् ।’

मरिचमानले ‘तिम्रो पैसा उतै दूतावासमै पठाइदिएका छौँ’ भने । ठकुराठीले होला नि त भनेर दूतावासको फोन नम्बर पत्ता लगाएर सोधे । दूतावासले भन्यो, ‘पदम ठकुराठीको नाममा त के, कसैको नाममा पनि सरकारले एक पैसा पठाएको छैन ।’

उनले लेख्न छोडेनन् । त्यसलगत्तै उनले अर्को सुलसुले लेखे–‘एकैपटक धेरै प्रहरीको राजीनामा ।’ यो लेखेबापत मुद्दा नै चलाइयो । विशेष अदालतमा बयान दिने क्रममा उनले भने –‘राजीनामा गरेका हुन कि होइनन्, गरिरहेका छन् कि छैनन्, यो कुरा प्रहरी सञ्चयकोषमा दुई महिनायताको रेकर्ड हेरिपाऊँ ।’ फैसला उनको पक्षमा भएन । ०४१÷४२ सालमा ६ हजार जरिवाना गराइयो । 

‘राजा वीरेन्द्र निकै प्रजातन्त्रवादी मान्छे । तर, राजालाई सबै कुरा थाहा हुँदैन थियो । सत्ता निकटका मान्छेका उपद्रो अचाक्ली थिए,’ उनले भने, ‘म प्रजातन्त्र स्थापना र सुधारसहितको राजसंस्था चाहन्थे, त्यसका लागि लेख्थेँ । लेख्यो कि समातिहाल्ने ।’अब के गर्ने होला ? भन्ने भयो । उनले आफ्नो पत्रिकाका कानुनी सल्लाहकार वेदप्रकाश सिवाकोटीलाई सोधे । उनले ‘तपाईं पत्रिका चलाउने कि सम्पादक बन्ने ?’ भने । ठकुराठीले पत्रिका चलाउने जवाफ दिए । ‘त्यसका लागि पत्रिकामा अतिथि सम्पादक भनेर लेख्ने सल्लाह भयो,’ ठकुराठीले सम्झिए, ‘त्यसपछि भने पक्राउ गर्नकम भयो ।’

पक्राउ गर्न कम भए पनि ठकुराठीहरूबाट साप्ताहिक मञ्च पत्रिका नै खोस्ने प्रपञ्च सुरु भयो । जनार्दश आचार्य, बैकुण्ठनारायण प्रधान, जीवन आचार्य, धनबहादुर शेरचन, पदम ठकुराठी, जनक जंगलीलगायत मिलेर सप्तकोसी प्रकाशनमार्फत पत्रिका सञ्चालन थियो । सम्पादक ठकुराठी भए पनि पत्रिका दर्ता बैकुण्ठनारायण प्रधानको नाममा थियो । 
बैकुण्ठनारायण आयात र वितरणको काम गर्थे । उनले कैलालीको रोजिन एन्ड टर्पेन्टाइनको मेसिन कलकत्ताबाट धनगढी पु-याउने ठेकाबापत ३०/३५ लाख पेस्कीसमेत लिएका रहेछन् । सामान आयात नर्ग नसकेको भन्दै उनलाई विशेष प्रहरीले खोजी ग-यो । ‘हामीले तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई गएर सिधै भेट्यौँ, पत्रकारलाई भूमिगत राखेर हुँदैन भन्यौँ, विशेष प्रहरीप्रमुख ललित बमले थुन्छु भनेको छ भन्यौँ,’ उनले सम्झिए, ‘ललित बमलाई त्यहीँ बोलाएर बैकुण्ठनारायणलाई नथुन्नु भने, बमले बैकुन्ठलाई त थुन्छु थुन्छु भने । प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द नाजवाफ भए ।’

शक्तिशाली भूमिगत गिरोह
त्यसवेला राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र शाह, धिरेन्द्र शाहलगायत शरचन्द्र शाहले भूमिगत गिरोह सञ्चालन गरेको ठकुराठी बताउँछन् । ललित बम त्यसैका लागि काम गर्थे । ‘कतिसम्म भने राजाबाट हुकुम भएको छ भनेर उनीहरू अञ्चलाधीशहरूमार्फत काम गराउँथे, फाइदा आफू लिन्थे, फस्नेवेला अञ्चलाधीश फस्थे,’ ठकुराठीले भने ।  प्रधामन्त्रीले पनि नसक्ने भएपछि बैकुण्ठनारायणले भूमिगत अवस्थाबाटै धीरेन्द्रका एडिसी भरत गुरुङलाई फोन गरेछन् । भरतले बैकुण्ठनारायणलाई भनेछन्– ‘पदम ठकुराठीलाई हटाएर तिमी सम्पादक बन ।’ उनी भूमीगत अवस्थाबाट  आए । ‘मलाई पत्रिकाबाट हट भने । जनार्दन आचार्यले हामीले वैधानिक गल्ती ग-यौँ, पत्रिका उनकै नाममा छ, छोडिदिउँ, अनि छोड्यौँ,’ ठकुराठीले आफूलाई साप्ताहिक मञ्चबाट निकाल्न मञ्चन गरिएको कथा सम्झिए, ‘त्यसपछि म साप्ताहिक जनज्योती, साप्ताहिक नेपाली आवज हुँदै विमर्शसम्म पत्रकारिता गर्न पुगेँ ।’ 

उनले ०४२ सालको अन्तिमतिर हो, राजाका भाइ ज्ञोन्द्रको नामै तोकेर मन्दिरको गजुर चोर्न मान्छे पठाएको समाचार लेखे । ‘भक्तपुरमा भूपतिन्द्र मल्लको पालामा बनेको मन्दिरको गजुर चोर्न राती १२ बजे केही मान्छेसहित क्रेन पठाइएको थियो । रूपक शर्मा भन्ने तत्कालीन डिएसपीलाई प्रहरीले खबर गरे । शर्मा नाइट ड्रेसमै मन्दिर पुगेका शर्माले लिखित आदेश नभएको भन्दै फिर्ता पठाइदिए,’ घटना सम्झँदै ठकुराठीले भने, ‘फिर्ता त पठाएँ, यी भूमिगत गिरोहका मान्छे हुन, अब लखेट्छ् भन्ने डिएसपी शर्माको मनमा परेछ ।’ शर्माको चिनजान सेनाका तत्कालीन लेफ्टिनेन्ट ज्ञानजंग थापासँग रहेछ ।  थापा ठकुराठीका जेठान थिए ।  थापाले ‘लखेट्न त लखेट्छन्, तर पब्लिकमा जाउ’ भनेपछि डिएसपी शर्माले ठकुराठीलाई फोन गरे । 

समाचारमा नाम उल्लेख गरिदिए हुन्छ भनेपछि ठकुराठीले ‘मन्दिरको गजुर चोर्न ज्ञानेन्द्रले मान्छे लगाए’ भन्ने शिर्षकमा विमर्शमा प्रमुख समाचार बनाए । त्यो वेला राजपरिवारका सदस्य विदेश जाँदा, आउँदा झोला जाँच नगर्ने कानुन थियो । ‘त्यसको फाइदा उठाउँदै उनीहरू पुराना मूर्ति र चरेस यताबाट विदेश लैजाने र विदेशबाट सुन आदि यता भित्र्याएर भारत पठाउने गर्थे,’ ठकुराठीले भने, ‘पछि उनीहरूले धनगढीमा लक्ष्मी कत्था सञ्चालन गरे, त्यहाँ सुनको बिस्कुटको आकारमा कत्थाको बिस्कुट बनाइयो । सुनको बिस्कुटमा पनि कत्थाको जलप लगाएर कत्थासँगै भारत पठाइन थालियो । यो कुरा त्यहाँ काम गर्ने डडेल्धुराको एकजनाले चिठी लेखेर पठाए, मैले छापिदिएँ ।’

भयावह परिणाम
यी घटनाको परिणाम पत्रकार ठकुराठीका लागि राम्रो भएन । २० भदौ ०४३ सालमा उनी पुरानो बानेश्वरस्थित घरमा सुतिरहेका थिए । बीचमा एक वर्षको छोरा थियो । अर्को किनारमा श्रीमती थिइन् । ठकुराठीकी चार वर्षकी छोरी श्रीहर्ष कोइरालाकी छोरीकी साथी भएकीले त्यसदिन उनी साथीकोमै बसेकी थिइन् । बिहान चारबजेतिर ‘बड्यांग’ आवाज आयो । ‘श्रीमतीले सोचिछन् टिभी पड्कीयो,’ ठकुराठीले सम्झिए, ‘पछि श्रीमतीले उठेर हेर्दा विस्तराभरी रगतको आहाल थियो रे, म बेहोस अवस्थामा ।’ गोली राजाका भाइ धीरेन्द्र शाहका एडिसी भरत गुरुङको माध्यमबाट विकास गुरुङ हानेका थिए । 

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई फोन गरेर घटनाबारे जानकारी गराइयो । थापाले तत्कालीन महालेखा परीक्षक विष्णुबहादुर केसीलाई फोन गरेर प्रमोद पाठक, सुनद सुब्बाहरूले वीर अस्पताल पु-याए । सूर्यबहादुरले तत्कालीन स्वास्थ्यमन्त्री गुञ्जेश्वरीप्रसाद सिंहलाई फोन गरेर वीरमा डाक्टरको बन्दोबस्त मिलाउन भने । डा. दिनेशनाथ गंगोल ठकुराठीको समाचारका फ्यान रहेछन् । उनी गोली लागेका ठकुराठीलाई अस्पताल पु-याइनुअगावै अस्पताल पुगिसकेछन् । तुरुन्त अप्रेसन गरियो । आँखाको नानी काटेर फालियो । 

ठकुराठी सम्झन्छन्– त्यो वेला राजपरिवारका सदस्य विदेश जाँदा–आउँदा झोला जाँच नगर्ने कानुन थियो । त्यसको फाइदा उठाउँदै उनीहरू पुराना मूर्ति र चरेस यताबाट विदेश लैजान्थे । विदेशबाट सुन आदि यता भित्र्याएर भारत पठाउँथे ।

‘गोली लागेको खबर जताततै फैलिएछ,’ ठकुराठीले सुनाए, ‘राजा वीरेन्द्र देश बाहिर थिए, तत्कालीन मुख्य सचिव कर्णध्वज अधिकारीले राजालाई फोन गरेर घटना सुनाएछन्, संसारको जुन कुनामा लगेर भए पनि ठकुराठीलाई बचाउनु भन्ने हुकुम राजाबाट भएछ ।’ तर, ठकुराठी प्रधानमन्त्री मरिचमान सिंहको विरोधमा लेखिराख्थे । उनले दिल्लीबाट डाक्टर आउँदैछ, फरक पर्दैन भन्दै बाहिर पठाउन मानेनन् । 

पाँचौ दिनको दिन भेट्न आएका साथीको भाइ डा. प्रकाशलाल श्रेष्ठले भनेछन् –बचाउने हो भने बाहिर नलगी हुन्न भने । त्यही दिन सूर्यबहादुर अस्पतालमा आएका थिए । ठकुराठीकी सासुआमालाई सूर्यबहादुर निकै सम्मान गर्थे । ठकुराठीले सम्झिए, ‘सासुले झोकिँदै सूर्यबहादुरलाई झपार्नुभएछ, सूर्यबहादुरले मुख्यसचिव कर्णध्वजलाई फोन गरेर ‘क्या हो, कर्णध्वजजी यो देशमा राजाको हुकुम चल्छ कि, मरिचमानको ? पदम ठकुराठीलाई मार्न खोज्नुभएको हो ?’ भनेछन् ।’

शनिबारका दिन पनि कार्यालय खुलाएर ठकुराठीका भाइ, श्रीमती, ज्वाइँ र उनको पासपोर्ट बनाइयो । राष्ट्र बैंक खोल्न लगाएर सात हजार डलर दिइयो । उनी थप उपचारका लागि बैंकक गए । पछि जनताले ठकुराठीको उपचार कोष भनेर उठाएको पैसासहित ३२ लाख खर्च गरेर उनी ३५औँ दिनमा होसमा आए ।

मरिचमानले खाइदिए उपचार खर्च
राजा वीरेन्द्रले ठकुराठी गोलीकाण्ड छानबिनका लागि विशेष फोर्स बनाए । तत्कालीन डिआइजी रणबहादुर चन्दको संयोजकत्वमा बनेको फोर्सले १० महिनामा पनि मुद्दा पेस गरेन । ठकुराठी राजाका प्रमुख सचिव रन्जनराज खनालकोमा पुगे । उनले दिपायलमा राजाको सवारी हुँदैछ, उतै भेट्न सकिन्छ भने । ठकुराठी दिपायल गए ।

 ‘राजाले देख्नेबित्तिकै ठकुराठी तिमीलाई गोली लागेको थियो, कस्तो छ भन्नुभयो, मैले ढाँका टोपी खोलेर निधारको खाल्डो देखाएँ, उहाँले उपचार खर्च राज्यले दियो कि दिएन ? सोध्नुभयो, मैले छैन बरू १० महिना भयो न्याय पाउन सकिन भनेँ,’ ठकुराठीले सम्झिए, ‘राजाले तुरुन्त न्यायका लागि हुकुम गर्नुभयो र उपचार खर्च पनि दिलाइदिन सवारीका क्रममा सँगै रहेका प्रधानमन्त्री मरिचमानलाई त्यहीँ आदेश दिनुभयो ।’ 

सवारीबाट फर्कँदा मरिचमानले ठकुराठीलाई महेन्द्रनगर एयरपोर्टमा बोलाए । काठमाडौं आएर पैसा लिनु भने । उनी काठमाडौं आएर मरिचमानलाई उपचारको बिल, कागजात बुझाए । आफू थप चेकजाँचका लागि बैंकक गए । फर्किएर आएपछि पैसा लिन प्रधामन्त्री कार्यालय पुगे । मरिचमानले भने–‘तिम्रो पैसा उतै दूतावासमै पठाइदिएका छौँ ।’ ठकुराठीले होला त भनेर दूतावासको फोन पत्ता लगाएर सोधे । दूतावासले भन्यो–‘पदम ठकुराठीको नाममा त के, कसैको नाममा पनि सरकारले एक पैसा पठाएको छैन ।’