१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ श्रावण ११ शनिबार ०७:४४:००
Read Time : < 1 मिनेट
फिचर

रमणीय रेसुंगा

Read Time : < 1 मिनेट
२०७६ श्रावण ११ शनिबार ०७:४४:००

साउनको सुरुवातसँगै गुल्मीको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल रेसुंगा क्षेत्र रमणीय बनेको छ । संक्रान्तिदेखि नै रेसुंगामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । पूजापाठ गर्ने मात्रै होइन, घुमफिर रुचाउने युवा तथा तन्नेरीको रोजाइमा पनि पर्न थालेको छ, रेसुंगा । हरेक वर्ष साउनभरि रेसुंगामा मेला लाग्नेगर्छ । मेला भर्न आउनेहरू यहाँ रहेको पोखरीमा नुहाउँछन् । पोखरीमा नुहाउँदा पाप नष्ट भएर पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । मेला भर्न गुल्मीसँगै अर्घाखाँची, पाल्पा, स्याङ्जा, प्युठान, बाग्लुङलगायत जिल्लाबाट साधुसन्त र सर्वसाधारण आउने गरेको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए । मेला अवधिमा प्रवचन, भक्तिसंगीत, सामूहिक रुद्री, ग्रहपूजालगायत धार्मिक अनुष्ठान हुने उनी बताउँछन् । 

यज्ञशालाको आकर्षण
रेसुंगाको आकर्षणको केन्द्र ९३ वर्षे यज्ञशाला हो । यदुकानन्दले १९८३ मा निर्माण गरेको यज्ञशालामा सुनको गजुर र तामाको छाना छ । प्यागोडाशैलीमा निर्मित यज्ञशालाभित्र हवनकुण्डमा अखण्ड दीप बाह्रै महिना प्रज्ज्वलित हुन्छ ।  महाप्रभु लक्ष्मीनारायणले गुल्मी र अर्घाखाँचीका बासिन्दाको सहयोगमा बनाएको पोखरी यहाँको अर्को आकर्षण हो । थुप्रै तीर्थस्थलबाट जल र बालुवा ल्याएर पोखरी निर्माण गरिएको स्थानीय शशि पन्थीले बताए ।

यससँगै पुरानो सिद्धको मन्दिर, स्वामी शशिधरको समाधीस्थल विष्णु पादुका र लक्ष्मीनारायणको समाधिस्थल यहाँका थप आकर्षण रहेको पन्थी बताउँछन् ।  रेसुंगा पश्चिममा रहेको अर्जुनडाँडाले पनि पर्यटकलाई लोभ्याउँछ । महाभारत युद्धपछि स्वर्ग प्रस्थान गर्ने क्रममा अर्जुन बसेकाले यो डाँडाको नाम अर्जुन रहेको किंवदन्ती छ । 

कसरी पुग्ने ? 
गुल्मी सदरमुकाम तम्घासबाट गाडीमा १५ मिनेट हुइँकिँदा रेसुंगा पुगिन्छ । पदयात्रामा रउमानेका लागि ४५ मिनेट लाग्छ ।