१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रकाश दाहाल सहसचिव
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १० शुक्रबार १०:३४:००
Read Time : > 1 मिनेट
लोकसेवा

दीपेन्द्र पुनको जिज्ञासा प्रकाश दाहालको जवाफ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १० शुक्रबार १०:३४:००

१. प्रश्‍नको अन्तिममा  निम्न  शब्द जोडिएर सोधिएका  प्रश्‍नमा उत्तर लेख्दा कसरी लेख्नुपर्छ र कुन–कुन पक्षलाई समेटेर लेख्‍नुपर्छ ?

  •  सिं‌हावलोकन गर्नुहोस् 
  •  विवेचना गर्नुहोस् 
  •  पुष्टि गर्नुहोस् 
  •  वर्णन गर्नुहोस्
  •  उल्लेख गर्नुहोस् 
  •  चर्चा गर्नुहोस् 
  •  टिप्पणी गर्नुहोस्
  •  व्याख्या गर्नुहोस्
  •  स्पष्ट पार्नुहोस् 
  •  आफ्नो धारणा लेख्नुहोस्
  •  आलोचनात्मक टिप्पणी गर्नुहोस्
  •  प्रकाश पार्नुहोस्
  •  समालोचनात्मक मूल्यांकन गर्नुहोस् 
  •  तर्क प्रस्तुत गर्नुहोस्
  •  विश्‍लेषण गर्नुहोस् 
  •  टिपोट प्रस्तुत गर्नुहोस्

प्रश्नमा प्रयोग भएका शब्दहरू सही ढंगले बुझ्न सकियो भने मात्र अपेक्षित उत्तर लेख्न सकिन्छ । कहिलेकाहीँ एउटै शब्दको सन्दर्भअनुसार फरक अर्थ पनि लाग्न सक्छ । त्यसैले प्रश्नको विषयवस्तु र सन्दर्भअनुरूप शब्दहरूको अर्थ यकिन गरी सोहीबमोजिमको उत्तर लेख्नुपर्ने हुन्छ । ‘सिंहावलोकन गर्नुहोस्’ भनिएकोमा अवधारणा, विषयवस्तु वा विचारको विकासक्रमलाई आलोचनात्मक ढंगले कालक्रमिक रूपमा सिलसिलेवार तवरले प्रस्तुत गर्नुपर्छ ।

यस्तो प्रश्न समय व्यवस्थापनका दृष्टिले चुनौतीपूर्ण हुने हुँदा सम्भव भएसम्म संक्षेपमा प्रस्तुति गर्नुपर्छ । ‘विवेचना गर्नुहोस्’, ‘समीक्षा गर्नुहोस्’, ‘मूल्यांकन गर्नुहोस्’, ‘विश्लेषण गर्नुहोस्’, ‘आलोचानात्मक टिप्पणी गर्नुहोस्’ वा ‘टिप्पणी गर्नुहोस्’ भनिएकोमा विषयवस्तुको विद्यमान अवस्थाबारे तीन–चार लाइनमा संक्षेपमा उल्लेख गरी विषयवस्तुका सबल पक्ष, दुर्बल पक्ष र अवसर तथा चुनौतीलाई समेटेर लेख्नुपर्छ । विवेचना, समीक्षा, मूल्यांकन र टिप्पणी गर्दा हामी धेरै नकारात्मक बन्ने वा समस्या मात्र धेरै देखाउने जोखिमबाट मुक्त हुनुपर्छ । यसो नगरी सकारात्मक र नकारात्मक दुवै पक्षलाई सन्तुलित रूपमा उजागर गर्नुपर्छ । 

‘पुष्टि गर्नुहोस्’ भन्ने प्रश्नको उत्तरमा आफ्नो मौलिक वा फरक धारणा नराखी प्रश्नले गरेको दाबीलाई तथ्य, तथ्यांक, तर्क, व्याख्या वा उदाहरण प्रस्तुत गरी ठिक वा सही भएको प्रमाणित गर्नुपर्छ । यो कुनै दाबी वा स्टेटमेन्टलाई पुष्टि गर्ने क्षमता परीक्षार्थीमा कत्तिको छ भनी जाँच गर्ने प्रश्न हो । 

‘वर्णन गर्नुहोस्’, ‘चर्चा गर्नुहोस्’ ‘प्रकाश पार्नुहोस्’ वा ‘व्याख्या गर्नुहोस्’ भनिएकोमा विषयवस्तुलाई सरल रूपमा व्याख्या गरी विस्तृतीकरण गर्ने हो । यस्तो प्रश्नको उद्देश्य विषयलाई प्रस्ट पार्ने वा बुझाउने भएको हुँदा यसमा आलोचनात्मक प्रस्तुति गर्नु आवश्यक हुँदैन । आवश्यकताअनुसार उदाहरण र तथ्यहरूको प्रयोग गर्नुचाहिँ राम्रो हुन्छ । 
‘उल्लेख गर्नुहोस्’ वा ‘टिपोट प्रस्तुत गर्नुहोस्’ भनिएकोमा मागेको विषयवस्तुलाई बुँदागत रूपमा लेख्ने हो । यसमा पनि क्रिटिकल हुनु पर्दैन । उदाहरण र तथ्यलाई भने प्रस्तुत गर्न सकिन्छ । तर, तार्किक विश्लेषण भने जरुरी हुँदैन । 

‘आफ्नो धारणा प्रस्तुत गर्नुहोस्’ वा‘तर्क प्रस्तुत गर्नुहोस्’ भनिएकोमा प्रश्नको विषयवस्तुका सम्बन्धमा आफूलाई लागेको विचार वस्तुगत र तटस्थ रूपमा लेख्नुपर्छ । यसमा आवश्यकताअनुसार क्रिटिकल्ली लेख्नु राम्रो हुन्छ । उदाहरण, तथ्यांक र तर्कपूर्ण व्याख्याद्वारा यस्तो प्रश्नको उत्तरलाई बढी वजनदार बनाउन सकिन्छ ।