मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
 रोबर्ट स्किडेल्स्की
२०७६ श्रावण १० शुक्रबार ०८:३४:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

अर्थशास्त्रीहरूको साम्राज्य पतन

Read Time : > 3 मिनेट
 रोबर्ट स्किडेल्स्की
२०७६ श्रावण १० शुक्रबार ०८:३४:००

विश्व अर्थतन्त्र

इतिहासकार नोर्म्यान स्टोन जो गत जुन महिना बिते, सधैँ इतिहासका विद्यार्थीले विदेशी भाषा सिक्छन् भन्ने जिकिर गर्थे । भाषाले सर्वसाधारणको संस्कृतिसम्म अनि संस्कृतिले उसको इतिहाससम्म पहुँच दिन्छ । यसको इतिहासले हामीलाई यो आफैं र अरूलाई कसरी हेर्छ भन्ने पनि बताइदिन्छ । त्यसकारण भाषाको ज्ञान इतिहासकारको अनुसन्धान उपकरणको एक अनिवार्य हिस्सा बन्नुपर्छ । यो (भाषाको ज्ञान) अन्तर्राष्ट्रिय सम्बन्धको अतीत एवं भविष्य बुझ्ने कडी हो ।

तर, निश्चित भाषा जान्नुको मौलिक महत्व हुन्छ भन्ने कुरामा इतिहासकारमाझ नै विश्वास हटिसक्यो । सबै सामाजिक विज्ञानले आफ्ना विषयका दृष्टिकोणलाई समावेश गर्न सक्ने गरी एउटा सार्वभौमिक विश्व भाषाको आवश्यकतालाई धेरथोर महसुस गर्न थालेका छन् । उनीहरूको ज्ञानको प्रारूप (मोडल) ले प्राकृतिक विज्ञानको सटीक तथा व्यापक रूपको अपेक्षा पनि गर्छ । जब हामी एकपटक मानव व्यवहारलाई सार्वभौम एवं महत्वपूर्ण रूपबाट ऐतिहासिक सिद्धान्तका रूपमा बुझ्छाैं, तब हामी त्यसलाई सुधार गर्न लालायित हुन सक्छौँ । 

सार्वभौमिक भाषाको अपेक्षामा अर्थशास्त्रले जति समर्पण अन्य कुनै पनि सामाजिक विज्ञानले गरेका छैनन् । अर्थशास्त्रको अनुकूल सार्वभौमिक विश्वभाषा गणित हो । यसको मानव व्यवहारसम्बन्धी ‘मोडल’ सूक्ष्म सघन अवलोकनबाट नभई ती प्राक्कल्पना (हाइपोथेसिस) बाट निर्मित हुन् । यस्ता कल्पना अर्थशास्त्रीको बौद्धिक एवं राजनीतिक वातावरणबाट अन्जानमै टिपिएका हुन्, या त हावाबाट टिपिएका हुन् । ती मोडलले ‘सबै भेडा सेता छन्, त्यसैले मैले अगाडि भेट्ने भेडो पनि सेतो नै हुनेछ, भन्ने खालको तार्किक परिवेशको सिर्जना गर्छ । अर्थशास्त्रमा सबै नागरिक तर्कसंगत उपयोगितावादी हुन् ।’ त्यसैले, कुनै पनि परिस्थितिमा उनीहरू आफ्नोे उपयोगिता अधिकतम उपयोग हुने गरी कार्य गर्छन् । यस विधिले अर्थशास्त्रलाई पूर्वानुमान गर्ने अद्वितीय शक्ति दिन्छ, खासगरी जब उपयोगिता व्यक्त गर्न सकिने खालका हुन्छन् वा परिमाणात्मक रूपमा पूरै तोडमोड गर्न सकिने खालका हुन्छन् । पाउल स्यामुयल्सनको शब्दमा भन्नुपर्दा यसले अर्थशास्त्रलाई ‘सामाजिक विज्ञानकी रानी बनाउँछ ।’

सिद्धान्ततः धेरैजसो अर्थशास्त्री आफ्ना निष्कर्ष परीक्षणको आवश्यकतालाई अस्वीकार गर्दैनन् । यस बिन्दुमा कसैले इतिहास विशेष रूपले उपयोगी हुन सक्छ भन्ने सोचेको हुन सक्छ । तर, वास्तवमा के हरेक परिवेश र स्थानमा सबै भेडा सेता नै हुन्छन् भन्ने हुन्छ त ? धेरैजसो अर्थशास्त्री ऐतिहासिक प्रमाणलाई ‘कथाभन्दा अलिकति राम्रो’ हो भन्दै तिरस्कार गरिदिन्छन् । उनीहरू अर्थशास्त्रीय गणित (इकोनोमेट्रिक्स) मार्फत इतिहाससम्म पुग्छन् । तथ्यांकशास्त्रीय शोधको भने सबैभन्दा उत्तम क्षेत्र भनेकै इतिहास हो ।

पश्चिमी शक्तिको पतन हुँदै गर्दा सार्वभौमिक विश्ववादले जितेको छ । र, यो त्यही शक्ति थियो, जसले पश्चिमी विचारलाई सार्वभौमलाई झैँ पहिलो स्थानमा राखेको थियो । यस विजयले मिसिनरीलाई होइन, इसाई धर्मलाई विश्वभर फैलाउँदै छ ।

अर्थशास्त्री रोबर्ट सोलोले अर्थशास्त्रीय गणितसहितको आर्थिक इतिहासबारे चर्को आलोचना गर्छन् । यसलाई उनी ‘हिस्ट्री ब्लाइन्ड’ (अन्धो इतिहास) भन्छन्— ‘जस्तो कि अर्थशास्त्र समाजको भौतिक शास्त्र हो, यो पेसामा सबैभन्दा उत्तम र उज्ज्वल भविष्य छ । त्यसको विश्वव्यापी रूपमा मान्य एउटै प्रारूप (मोडल) छ र त्यसलाई लागू गर्न मात्रै आवश्यक छ । तपाईं कुनै पनि समय र स्थानमा ‘टाइम मेसिन’बाट निजी कम्प्युटरसहितका आधुनिक अर्थशास्त्री निकाल्न सक्नुहुन्छ, तिनलाई कहाँ र कहिले के गर्ने भन्ने पनि नसोधी व्यवसायमा लागू गर्न सक्नुहुनेछ ।’ 

छोटकरीमा भन्नुपर्दा धेरैजसो ऐतिहासिक प्रारूपमा काम गर्ने अर्थशास्त्री (हिस्टोरिकल मोडलिङ अर्थशास्त्री) अहिले हाम्रा मूल्य–मान्यता तथा आकांक्षा जेजस्ता छन्, विगतमा पनि त्यस्तै मूल्य–मान्यता तथा आकांक्षा थियो होला भन्ने ठान्छन् । नोबेल पुरस्कार विजेता अर्थशास्त्री रोबर्ट लुकास यस्तै विधिबाट यस्तो तार्किक निष्कर्षका पुगेका हुन् : ‘रोबोटसँगको अन्तक्र्रियाबाट मेकानिकल, कृत्रिम विश्वको निर्माण भएको छ..., यसको कुल विशेषता भनेको वास्तविक विश्वको जस्तै व्यवहार देखाउन सक्ने क्षमता हो ।’ 

अर्थशास्त्रको लक्ष्य अर्थशास्त्रका सामान्य नियमको आविष्कार अवरुद्ध पार्ने भाषालाई गणितशास्त्रको सार्वभौमिक भाषाद्वारा विस्थापित गर्नु हो । इलोन मस्कले मानव मस्तिष्कलाई विश्वसँग (जसमा अन्य मानव मस्तिष्क समावेश हुन्छन्) सोझै जोड्ने महत्वाकांक्षासहित लुकासको ‘इन्टरर्‍याक्टिङ रोबोट्स’ (अन्तर्क्रिया गर्न सक्ने रोबोट) लाई विकसित गरेका छन् । अब हाम्रा विचार अन्य कुनै पनि भाषाको मध्यस्थताविना सीधै सुसंस्कृत बन्नेछन् । जब तपाईं ‘ढोका, खुल् !’ भनी सोच्नुहुन्छ, त्यो खुल्नेछ । जहाँ अर्थशास्त्री आफ्ना अर्थशास्त्रका ‘मोडल्स’मा ईश्वरलाई राख्ने सपना देख्दै छन्, त्यही ईश्वरजस्ता मानिसको सिर्जना गरेर मानव पतनलाई उल्ट्याउने ‘रोबोटिक रुमानी सपना’ पनि देखिँदै छ ।

स्पष्ट छ, यो पश्चिमको दैवत्वकरणको एउटा प्रतीक हो । पश्चिमले अझै पनि आफूलाई सार्वभौमिक सभ्यताको संवाहकका रूपमा देख्छ र गैरपश्चिमलाई पिछडा संस्कृतिको सूचकका रूपमा मान्छ । पश्चिममै पनि अर्थशास्त्रको प्राधिकार शक्ति कम भएको छ, तैपनि यसले पश्चिमको सभ्यता निर्यात गर्ने प्रवृत्ति भने कम गरेको छैन । ‘गुड इकोनोमिक्स’लाई सार्वभौमिक मानवअधिकारप्रतिको प्रतिबद्धताले आंशिक रूपमा प्रतिस्थापन गरेको छ ताकि विश्वलाई आफैँसँगबाट बचाउन सकियोस्, तर उद्देश्य अझै उही नै छ : बाँकी सबैलाई उनीहरूको कमजोरीमाथि पढाउनु । 

मानव व्यवहारसम्बन्धी ‘मोडल’ सूक्ष्म सघन अवलोकनबाट नभई ती प्राक्कल्पना (हाइपोथेसिस) बाट निर्मित हुन् । यस्ता कल्पना अर्थशास्त्रीको बौद्धिक एवं राजनीतिक वातावरणबाट अन्जानमै टिपिएका हुन्, या त हावाबाट टिपिएका हुन् । ती मोडलले ‘सबै भेडा सेता छन्, त्यसैले मैले अगाडि भेट्ने भेडो पनि सेतो नै हुनेछ, भन्ने खालको तार्किक परिवेशको सिर्जना गर्छ ।

यहाँनेर हामी विरोधाभासको सामाना गर्न पुग्छौँ । पश्चिमी शक्तिको पतन हुँदै गर्दा सार्वभौमिक विश्ववादले जितेको छ । र, यो त्यही शक्ति थियो, जसले पश्चिमी विचारलाई सार्वभौमलाई झैँ पहिलो स्थानमा राखेको थियो । यस विजयले मिसिनरीलाई होइन, इसाई धर्मलाई विश्वभर फैलाउँदै छ । 

मूलतः पश्चिमी सामाजिक विज्ञान तथा मूल्य र मान्यताका हकमा पनि सत्य यही हो । गैरपश्चिमले विशेष गरी आर्थिक प्रगतिको सन्दर्भमा प्रगतिको पश्चिमी ढाँचालाई नै अँगालेका छन्, तथापि उनीहरूले आफूलाई पश्चिमको प्रभुत्वबाट मुक्त गर्न चाहेका छन् । यो एक प्रकारले गोराको जादु नै हो । तर, त्यस जादुका पछाडि शक्ति र प्राधिकार नहुँदा त्यसको आकर्षण निश्चित रूपले हराउनेछ । गैरपश्चिम अझै पनि पश्चिमी सफलताको अनुकरण गर्न चाहन्छ, तर आफ्नै स्रोत–साधनबाट । सिकागो विश्वविद्यालय एवं म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)ले चीन वा भारतका विश्वविद्यालयका लागि मार्ग प्रशस्त गर्नेछन्, र कुनचाहिँ पश्चिमी मूल्य–मान्यतालाई अँगाल्ने हो, त्यो पनि अब गैरपश्चिमीले नै छनोट गर्नेछन् । 

यति हुदाँहुँदै पनि विश्वलाई साझा मानवताको भावना प्रदान गर्ने कुनै सार्वभौमिक चिज त चाहिन्छ नै । चुनौतीचाहिँ के हो भने दार्शनिक थोमस नागेलले भनेजस्तो तटस्थ दृष्टिकोण (भ्यू फ्रम नोह्वयर) को विकास गर्नु हो, जसले सांस्कृतिक अन्धानुकरण एवं विज्ञानवाद दुवैलाई अतिक्रमण गरोस् र हामीलाई यी दुईमध्येबाट छान्न बाध्य पनि नगरोस् । यो काम दर्शनको हो, अर्थशास्त्रको होइन ।

Project Syndicate 2019
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य
रोबर्ट स्किडेल्स्की बेलायतको हाउस अफ लर्डस् सदस्य एवं वारविक विश्वविद्यालयमा राजनीतिक अर्थशास्त्रका एमिरिटस प्राध्यापक हुन् ।