मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १० शुक्रबार ०८:१२:००
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग

भिखारीलाई चाँदीको गिलास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १० शुक्रबार ०८:१२:००

मिर्मिरे उज्यालो हुनासाथ एक भिखारी भिक्षाटनका लागि आफ्नो कुटीबाट निस्किए । टोलका विभिन्न घर चहारेर उनले भिक्षा संकलन गरे । घुम्दै–फिर्दै उनी एउटा घरमा पुग्दा संयोगवश त्यस घरका घरधनी पनि प्रातः भ्रमणमा जानका लागि मूलढोकाबाट बाहिर निस्किए । 

ढोकाबाहिर भिखारी उभिएको देखेर उनले भिक्षादानका लागि यसो खल्तीमा हात घुसारे । तर, खल्तीमा केही पनि पाएनन् । उनी भित्र पसे, भिखारीलाई भिक्षादान दिनलायक खासै केही भेटेनन् । त्यसैले, उनी भान्छामा पसे र एउटा गिलास ल्याएर भिखारीलाई दिए । भिक्षादान पाएपछि भिखारी आफ्नो बाटो लागे । 

उता भिक्षादाताकी पत्नीले आफ्ना पतिले भिखारीलाई गिलास दिएको पत्तो लगाइहालिन् । उनले आत्तिँदै पतिलाई भनिन्— लौन नि ! यो के गर्नुभयो तपाईंले ? बिहान–बिहान एउटा भिखारीलाई भिक्षादानका नाममा त्यति महँगो चाँदीको गिलास दिनुभयो ? त्यो भिखारी त्यति टाढा पुगिसकेको छैन होला, दौडेर जानुहोस् र त्यो गिलास फिर्ता ल्याउनुहोस् । 

पत्नीको आदेश पाएपछि उनी हतारिँदै भिखारीको खोजीमा दौडिए । एकैछिनमा उनले भिखारीलाई भेटे । हतारिँदै भिखारीको नजिकै गएर उनले खुसीसाथ भने– मैले भर्खरै तपाईंलाई दिएको गिलास चाँदीको रहेछ, त्यसलाई सस्तोमा नबेच्नुहोला है !

भिक्षादाताले भिखारीलाई भनेको यो कुरा उनका मित्रले सुनिरहेका थिए । मित्रले उनलाई भने– जब तपाईंलाई त्यो गिलास चाँदीको हो भन्ने थाहा थियो भने किन भिखारीबाट फिर्ता लिनुभएन ? झन् खुसीसाथ उसलाई त्यो गिलास सस्तोमा नबेच्नू है भनेर सम्झाएर पो फर्किनुभयो नि ? भिक्षादाताले जवाफ दिए— जुन वस्तु मैले खुसीसाथ कसैलाई दिइसकेको छु भने त्यो सस्तो या महँगो जे भए पनि म किन दुःखी हुनु ? त्यसैले, म खुसी छु मित्र !