पाँच महिनामा विप्लवका ६ सय कार्यकर्ता पक्राउ

 पाँच महिनामा नौजनाको मृत्यु 

२०७६ श्रावण ९ बिहीबार ०७:०८:००
नयाँ पत्रिका

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधिमा प्रतिबन्ध लगाएको पाँच महिनामा ६ सय नेता–कार्यकर्ता पक्राउ गरेको छ । गत वर्षको २८ फागुनमा प्रतिबन्ध लगाउनुअघि एक सय ९० नेता–कार्यकर्ता पक्राउ पर्नुका साथै एक सय ७२ मुद्दा दर्ता भएका थिए । ६ साउनसम्म ६ सय जना पक्राउ परेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले बताए । 

पुर्पक्षको नाममा ९९ जना र अनुसन्धानका नाममा ६० जना कारगार चलान भएका छन् । प्रतिबन्धपछि मात्रै पाँच सय ५४ मुद्दा दर्ता भएका छन् भने चार सय एकजना छुटिसकेका पोखरेलले बताए । विप्लव नेतृत्वको पार्टीमा आबद्ध भएको आशंकामा सोधपुछ गरी ४० जना छुटेको प्रहरीले जनाएको छ । विप्लव पार्टीका तीन सय ५२ जनाले पार्टी परित्याग गरेको पनि प्रहरीको भनाइ छ ।

 पाँच महिनामा नौजनाको मृत्यु 
पाँच महिना अवधिमा प्रतिबन्धित नेकपाका नौजनाको ज्यान गइसकेको छ । मृत्यु भएकामध्ये तीनजना दोहोरो भिडन्तमा मारिएको प्रहरीको दाबी छ भने ६ जनाको आफैँले बोकेको बम विस्फोट हुँदा मृत्यु भएको थियो । विप्लव पार्टीका नेता कार्यकर्ताबाट २३ थान हतियारसँगै गोली र बम बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद भएका हतियारमा एम सिक्स्टिन एक थान, एलएमजी एक थान, एसएलआर एक थान, थ्री नट थ्री राइफल तीन थान, एसएमजी दुई थान, पेस्तोल सात थान, रिभल्वर तीन थान र घरेलु हतियार पाँच थान बरामद भएको छ । यस्तै, चार सय १७ राउन्ड गोली, डेटोनेटर चार बरामद गरिएको प्रहरीले जनाएको छ । 

‘वली र लामालाई  विनासर्त छाड’
वार्ताको चर्चा भइरहे पनि प्रतिबन्धित नेकपाका नेता–कार्यकर्ता एकपछि अर्को गर्दै पक्राउ परिरहेका छन् । सरकारले आफू वार्ताकै पक्षमा भएको बताउँदै आएको छ ।  ३ साउनमा पार्टीका उपत्यका इन्चार्ज माइला लामा पक्राउ परेपछि महासचिव विप्लवले सरकारले वार्ताका नाममा नाटक गरेको आरोप लगाएका छन् । उनले यसअघि पक्राउ परेका हेमन्तप्रकाश वली र लामालाई विनासर्त नछाडे योजनाबद्ध प्रतिरोध गर्न बाध्य हुने भन्दै सरकारलाई चेतावनी दिएका छन् ।