मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नारायण विश्वकर्मा स्याङ्जा
२०७६ श्रावण ९ बिहीबार ०६:४३:००
Read Time : < 1 मिनेट
समाचार

गुरुकुलमा अंग्रेजी र कम्प्युटर पढाइ

Read Time : < 1 मिनेट
नारायण विश्वकर्मा स्याङ्जा
२०७६ श्रावण ९ बिहीबार ०६:४३:००

देशका अन्य जिल्लामा गुरुकुलीय शिक्षा प्रणाली हराउँदै गइरहेका वेला स्याङ्जाको रामनदीधाम संस्कृत गुरुकुलमा भने आएका विद्यार्थी फर्काउनुपर्ने अवस्था छ । गल्याङ नगरपालिका–१, मालुङ्गा राम्दीमा रहेको यो गुकुलले संस्कार संस्कृतिसहित आधुनिक विषयवस्तुलाई पाठ्यक्रममा समावेश गरेका कारण विद्यार्थी र अविभाकको आकर्षण बढेको हो ।
यस गुरुकुलमा आधारभूत तह (६–८) कक्षासम्म आवासीय सुविधा छ ।

वैशाखदेखि पठनपाठन सुरु भएको रामनदीधाम संस्कृत गुरुकुलमा विद्यार्थीलाई मूल विषय संस्कृत, व्याकरण, कर्मकाण्ड मात्र नभई आधुनिक विषय अंग्रेजी, गणित, कम्प्युटरसमेत पढाइन्छ । मालुङ्गा राम्दी स्याङ्जा र पाल्पाको सिमाना हुँदै बगेको कृष्णगण्डकी नदी, पाल्पाबाट बग्दै आएका गुरु वशिष्ठ र अङ्गिरा नदीको संगमस्थल पनि हो । कालीगण्डकी उत्तरवाहिनी नदीसमेत भनेर चिनिने यस त्रिवेणी धाममा सञ्चालित गुरुकुल तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । 

समुदायको सहयोगमा गुरुकुल
गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष विष्णु देवानन्द सरस्वतीले गुरुकुलीय पद्धतिमा सरकारको पूर्ण दायित्व नहुने भएकाले समुदायको सहयोगमा सञ्चालन भएको बताए । श्री हरिहर परमानन्द सन्न्यास आश्रम राम्दीका पिठाधीशसमेत रहेका देवानन्द सरस्वतीले मानिसमा आध्यात्म ज्ञान र नैतिक आचरण हराउँदै गएकाले उनीहरूमा अध्यात्म ज्ञान, नैतिक आचरण, सद्भाव, दया, माया, प्रेम, स्नेह र सद्गुण जगाउने उद्देश्यले गुरुकुल स्थापना गरेको बताए । 

सबै जातजाति अट्ने गुरुकुल
स्वर्गीय योगी नरहरिनाथले गुरुकुल स्थापना गर्ने उद्देश्यसहित ०४२ सालमा गायत्री कोटि हवन गरेको राधाकृष्ण मन्दिर राम्दीका संरक्षक पूर्ण बस्नेत (कौशिक) ले बताए । पूरा एक महिनासम्म १०८ ब्राह्मणद्वारा गरेको कोटि हवनपश्चात् करिब ६ महिना परम्परागत रूपमा गुरुकुल सञ्चालन भएको उनले बताए । राम्दी गौशालाका संस्थापकसमेत रहेका कौशिकका अनुसार जनचासो कम भएकाले र व्यवस्थापकीय कमजोरीले त्यसवेला गुरुकुल बन्द हुन पुग्यो । नरहरिनाथको सपना साकार पार्न हाल गुरुकुल स्थापना गरेको उनले बताए ।