१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ८ बुधबार १०:४०:००
Read Time : > 2 मिनेट
लोकसेवा

सामाजिक न्यायको आधारशिला समावेशीकरण

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ८ बुधबार १०:४०:००

प्रश्नः  सामाजिक समावेशीकरण भनेको के हो ? यसको आवश्यकता उल्लेख गर्नुहोस् । ५

सामाजिक न्यायको आधारशिला समावेशीकरण

शासकीय क्रियाकलापबाट अलग हुन पुगेका सबै वर्ग, क्षेत्र र समुदायका नागरिकलाई राज्यको शासन सञ्चालन, कानुन निर्माण तथा सार्वजनिक नीतिको तर्जुमा र कार्यान्वयन एवं मूल्यांकनमा समान पहुँच र समान प्रतिनिधित्व गराउने माध्यम समावेशीकरण हो । समावेशीकरणले राज्यका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा भौतिक स्रोत–साधनमा सबैको समान पहुँच र लाभको वितरणमा समान हिस्सेदारी हुनुपर्छ भन्ने मान्यताकोे वकालत गर्छ ।   समावेशीकरणका लागि विभिन्न विधि एवं औजारको प्रयोग गर्ने गरिएको पाइन्छ । आरक्षण, सकारात्मक विभेद, समानुपातिक प्रतिनिधित्व  सशक्तीकरण आदि समावेशीकरणका औजार हुन् । हरेक लोकतान्त्रिक मुलुकले देशको आर्थिक, सामाजिक विकास र सामाजिक रूपान्तरणका लागि सामाजिक समावेशीकरणको नीतिलाई अंगीकार गरेका छन् । नेपालको वर्तमान संविधान समावेशीकरणको महत्वपूर्ण  दस्ताबेजका रूपमा रहेको छ ।     

सामाजिक समावेशीकरणको आवश्यकता

  •      राज्यका सबै निकायमा सबै वर्ग, क्षेत्र र समुदायको उचित प्रतिनिधित्व गराउन, 
  •      नीति–निर्माण तहसम्म उपेक्षित तथा उत्पीडित वर्गको पहुँच कायम गर्न,
  •      पिछडिएका वर्ग, क्षेत्र र समुदायका नागरिकलाई देशको मूलधारमा ल्याउन,
  •      राज्य हामी सबैको हो भन्ने भावनाको विकास गरी देशका लागि कर्मनिष्ठ नागरिकको सिर्जना गर्न,
  •      शासन प्रणालीमा सम्भ्रान्त वर्ग र समुदायको मात्र प्रतिनिधित्व हुने प्रवृत्तिको अन्त्य गर्न,
  •      समावेशी राज्य व्यवस्था कायम गरी विकासमा नागरिक सहभागिता बढाउन,
  •      देशमा छरिएर रहेका मानवीय तथा अन्य स्रोत–साधनको समुचित प्रयोग गरी आर्थिक विकास गर्दै अर्थिक समृद्धि हासिल गर्न,
  •      समाजमा दिगो शान्ति कायम गरी द्वन्द्व सिर्जना हुन नदिन,
  •      समग्रमा समाजमा विद्यमान सबैखाले आर्थिक, सामाजिक, लैंगिक र जातीय विभेदको  अन्त्य गर्न

यसरी, शक्ति, स्रोत र अवसरको समान वितरण गर्ने माध्यमका रूपमा रहेको समावेशीकरणको कार्यान्वयनबाट राज्यको शासन प्रणालीप्रति सबै वर्ग, समूहको पहँुच कायम हुने भएकाले आगामी दिनमा निश्चित मापदण्ड तय गरी समावेशीकरणलाई परिमार्जनसहित लागू गर्न सकेमा लक्षित वर्गले प्रतिफल लिने र शासन प्रणाली प्रभावकारी 
हुने देखिन्छ ।

प्रश्नः  नेपालको संविधानबमोजिम संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध उल्लेख गर्नुहोस् । ५
शासनमा सहभागिताका लागि संघीयता

नेपालको सातौँ संविधान ‘नेपालको संविधान’मा देशको संरचना तीन तहको हुने व्यवस्था गरिएको छ । उक्त तीन तह संघ, प्रदेश र स्थानीय तह हुन् । नेपालको संविधानको धारा २३२ देखि २३७ मा संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धबारे व्यवस्था गरेको पाइन्छ । उक्त  व्यवस्था निम्नानुसार रहेका छन् :

  •      संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने, 
  •      देशको प्रमुख निर्णय (सीमासम्बन्धी, हातहतियारसम्बन्धी, मुद्रा, अन्तर्राष्ट्रिय निर्णय) संघ वा केन्द्रले गर्ने भने प्रदेशसम्बन्धी निर्णय प्रदेश कानुनबमोजिम प्रदेश सरकारले गर्ने, 
  • प्रदेश–प्रदेशबीचको विवादलाई निर्मूल पार्न केन्द्र सरकारले समन्वयकर्ताको भूमिका निर्वाह गर्ने , 
  • संघ, प्रदेश र स्थानीय सरकारलाई आफ्नो मातहतको जिम्मेवारी पूरा गर्दा केन्द्रले प्रदेशलाई र प्रदेशले स्थानीय तहलाई रोक लगाउन नपाउने तर नियमविपरीत कार्य गरेमा कानुनबमोजिम रोक लगाउन पाइने, 
  • नेपाल सरकारले आफैँ वा प्रदेश सरकारमार्फत गाउँ कार्यपालिका वा नगर कार्यपालिकालाई कानुनबमोजिम आवश्यक निर्देशन र सहयोग गर्न सक्नेछ । त्यस्तो निर्देशनको पालना गर्नु गाउँ कार्यपालिका र नगर कार्यपालिकाको कर्तव्य हुने, 
  • संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न अन्तर प्रदेश परिषद् रहने, 
  • एक प्रदेश वा स्थानीय तहबाट अर्को प्रदेश वा स्थानीय तहमा वस्तु तथा सेवा प्रदान गर्दा कुनै प्रकारको कर लगाउन नपाइने, 
  • एक प्रदेशले अर्को प्रदेशको कानुनी वा न्यायिक एवं प्रशासकीय निर्णय वा आदेशको कार्यान्वयनमा सहयोग गर्नुपर्ने, 
  • एक प्रदेशले अर्को प्रदेशको बासिन्दालाई आफ्नो प्रदेशको कानुनबमोजिम समान सुरक्षा, व्यवहार र सुविधा उपलब्ध गराउनुपर्ने,
  • गाउँ कार्यपालिका र नगर कार्यपालिकाबीच कुनै विवाद उत्पन्न भएमा प्रदेश सभाले सम्बन्धित गाउँ कार्यपालिका, नगरपालिका र जिल्ला समन्वय समितिसँग त्यस्तो विवादको समधान गर्न सक्ने । 

अन्त्यमा,
देशको समानुपातिक विकास गर्न संघ, प्रदेश र स्थानीय तहबीच विश्वास र सहयोग हुनुपर्छ । तीनै तहका प्रतिनिधिले आफ्नो व्यक्तिगत स्वार्थ त्यागी सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवद्र्धन गर्दै देशको विकासको कार्यमा लाग्ने हो भने नागरिक अधिकार रक्षा र सही अर्थमा संघीयताको अभ्यास हुने देखिन्छ ।