१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ श्रावण ८ बुधबार ०७:४३:००
Read Time : > 1 मिनेट
अर्थ

मेगा बैंक १०औँ वर्षमा : सोच मिल्ने वित्तीय संस्थासँग मर्जरको तयारी

९ वर्षमा ७० गुणाले नाफा बढ्यो : निक्षेप ८२ अर्ब, कर्जा ७३ अर्ब पुग्यो

Read Time : > 1 मिनेट
२०७६ श्रावण ८ बुधबार ०७:४३:००

मेगा बैंकले आफूसँग सोच मिल्ने बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने भएको छ । मेगाले सरकारको ‘मर्जर’ नीतिलाई आत्मसात् गर्दै उपयुक्त पार्टनरसँग मर्जरमा जान तयार रहेको जनाएको हो । मेगा बैंकको नवौँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले आफूहरू मर्जरका लागि तयार रहेको बताए । ‘सरकारको मर्जर नीतिलाई आत्मसात् गर्दै मेगा बैंकले मर्जर कमिटी बनाएर अघि बढेको छ,’ उनले भने, हामीसँग सामीप्यता राख्ने र सोच मिल्ने वित्तीय संस्थालाई आबद्ध गर्दै अझ सशक्त र व्यवस्थित ढंगले अगाडि बढ्नुको विकल्प हामीसँग छैन ।’ बैंकको परिचय तथा आर्जन गरेको भरोसा र विश्वासलाई कायम राख्ने गरी मर्जरमा जाने उनले बताए ।

बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेलीले मेगा बैंकले मर्जरका लागि तयारी गरिरहेको बताइन् । उनले मर्जरका सम्बन्धमा ५० प्रतिशत काम पूरा भइसकेको जानकारीसमेत दिइन् । ‘कमिटी गठन भएको छ, कर्मचारी व्यवस्थापनका कुराहरू पनि छन्, त्यसको काम भइरहेको छ,’ उनले भनिन्, ‘हामी मर्जरमा तयार छौँ, तयारी भइरहेको छ ।’

निक्षेप ८२ अर्ब, कर्जा ७३ अर्ब पुग्यो
आर्थिक वर्ष २०७५/७६ सम्ममा मेगा बैंकको निक्षेप ८२ अर्ब पुगेको छ जुन अघिल्लो आवको भन्दा १९ अर्बले बढी हो । त्यस्तै, कर्जा प्रवाह पनि १५ अर्ब ५० करोड बढेर करिब ७३ अर्ब पुगेको छ । ग्राहक संख्या झन्डै १ लाख ४६ हजार बढेर ६ लाख ४३ हजार पुगेको बैंकले जनाएको छ । हाल मेगाको कर्जाको औसत आकार ३३ लाख र निक्षेपको १ लाख २७ हजार रहेको छ । देशभर मेगा बैंकका १ सय २ वटा शाखा, १९ एक्सटेन्सन काउन्टर, १ सय २ वटा एटिएम मेसिन, १ सय १९ वटा शाखारहित बैंकिङ केन्द्र र २ हजार ५ सय मेगा रेमिट एजेन्ट रहेका छन् । एक दशकमै मेगा बैंकले समकालीन बैंकहरूको तुलनामा सबै हिसाबले व्यावसायिक फड्को मार्न सफल भएको सिइओ खुञ्जेलीले बताइन् । 

एक शाखा एक छोरी छात्रवृत्ति योजना
कार्यक्रमकै अवसरमा बैंकले ‘एक शाखा, एक छोरी’ छात्रवृत्ति योजनासमेत घोषणा गरेको छ । छोरीको उज्ज्वल भविष्यलाई सुनिश्चित गर्ने प्रयासस्वरूप बैंकले ‘शिक्षा नै ज्योति अभियान’अन्तर्गत प्रत्येक शाखाबाट १/१ जना छात्रालाई छनोट गरी १२ कक्षासम्मको अध्ययनका लागि आर्थिक सहायता दिने सिइओ खुञ्जेलीले बताइन् । 

यसैबीच, वार्षिकोत्सवका अवसरमा बैंकले उपल्लो डोल्पाका गरिब तथा जेहेनदार विद्यार्थी छिरिङ तावा बुढालाई उच्च शिक्षा अध्ययनका लागि १ लाख रुपैयाँ सहयोग गरेको छ । एसइई सकेपछि उच्च शिक्षा अध्ययन गर्न आर्थिक अभाव झेल्दै आएका बुढालाई गत वर्ष बैंकले कक्षा ११ अध्ययन गर्न १ लाख रुपैयाँ सहयोग गरेको थियो । अहिले कक्षा १२ मा अध्ययनरत बुढालाई बैंकले पुनः १ लाख रुपैयाँ सहयोग गरेको हो । 

९ वर्षमा ७० गुणाले नाफा बढ्यो 
मेगा बैंक मंगलवारदेखि १०औँ वर्षमा प्रवेश गरेको हो । ‘विगत ९ वर्षको समीक्षा गर्दा बैंकले शाखा सञ्जाल विस्तारमा झन्डै ८ गुणा, एटिएम सञ्जालको विस्तारमा ६ गुणा, निक्षेप संकलनमा १६ गुणा, कर्जा प्रवाहमा १५ गुणा, खुद मुनाफा आर्जनमा ७० गुणा, रोजगारीको अवसर सिर्जनाको दृष्टिकोणले ११ गुणा र राज्यलाई बुझाएको करको तुलनामा ७८ गुणाले फड्को मारेको छ,’ सिइओ खुञ्जेलीले भनिन् ।