१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
पालुङटार नगरपालिका–९ धुवाकोटस्थित पाण्डेबेँसीस्थित कागती नर्सरी स्याहार गर्दै तामाङ । तस्बिर : नयाँ पत्रिका
केशव गुरुङ गोरखा
२०७६ श्रावण ७ मंगलबार ११:५६:००
Read Time : < 1 मिनेट
समाचार

विदेशबाट फर्किएर  कागतीको नर्सरी

Read Time : < 1 मिनेट
केशव गुरुङ गोरखा
२०७६ श्रावण ७ मंगलबार ११:५६:००

पालुङटार नगरपालिका–९ धुवाकोटस्थित पाण्डेबेँसीका राजकुमार तामाङले कागतीका बिरुवा मात्रै राखेर नर्सरी स्थापना गरेका छन् । करिब आठ वर्ष साउदी अरबमा बिताएर नेपाल फर्किएका उनले व्यावसायिक रूपमा बिरुवा वितरण गर्ने गरी नर्सरी सुरु गरेका छन् । आगामी माघ/फागुनसम्म चार हजार बिरुवा उत्पादन गर्ने लक्ष्य लिएको उनले बताए । ‘आठ वर्ष साउदी अरब बसेर फर्किएँ, अब नेपालमै केही गरौँ भनेर कृषिमा लागेको हुँ,’ उनले भने ।

उनले स्थापना गरेको ग्रिन हाउसमा चार हजार बिरुवा छन् । गोरखा कागती खेतीका लागी हावापानी सुहाउँदो रहेकाले बिरुवा बिक्री हुनेमा दुविधा नरहेको उनको तर्क छ । साथै जिल्लाका किसानले कागतीका बिरुवा बाहिरी जिल्लाबाट ल्याउने गरेको उनको भनाइ छ । ‘उत्पादन भएको बिरुवा गाउँ आसपासकै किसानलाई प्राथमिकतामा राखेर बेच्छु, जिल्लाका बासिन्दालाई पर्याप्त भएपछि बाहिरी जिल्लामा बिक्री गर्ने सोच छ,’ उनले भने । बिरुवाको बजार भाउ बुझ्दा ७०/८० रुपैयाँसम्म बिक्री हुने तामाङले बताए । अहिलेको नर्सरीसँगै अर्को संरचना बनाएर बिरुवा उत्पादन गर्ने उनको लक्ष्य छ । ‘अर्को नर्सरी पनि स्थापना गर्ने तयारीमा छु,’ उनले भने । ‘सुन कागती १’ जातको बिरुवाको बजारमा माग धेरै रहेको उनले बताए । 

पोलिब्यागमा उत्पादन गरेको बिरुवा बिक्रीका लागि अन्यत्र पठाउन पनि सहज हुने उनले बताए । ‘बारी बाँझिएका छन्, थोरै श्रम गरेर कागती लगाउँदा राम्रै फाइदा हुन्छ भन्ने बुझेका छौँ,’ उनले भने । उनले नर्सरी व्यवस्थापनासँगै कुखुरापालन, बंगुर र भैँसी पनि पालेका छन् ।