मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
२०७६ श्रावण ७ मंगलबार ११:४७:००
Read Time : > 1 मिनेट
समाचार

रोपाइँ गर्न खेताला खोसाखोस : अर्मपर्म बन्द भएपछि खेताला हारालुछ

Read Time : > 1 मिनेट
२०७६ श्रावण ७ मंगलबार ११:४७:००

नवलपरासीको दक्षिणी क्षेत्र किसानबीच खेतमा काम गर्ने खेतालाको खोसाखोस हुन थालेको छ । रोपाइँ गर्ने वेला बित्ना लाग्दासमेत खेताला अभाव भएपछि उनीहरूमा यस्तो अवस्था आएको हो । नवलपरासी पश्चिमको माकर, बेलानी, दोविला, जमुनिया, कुकुरमारा, गंगाबस्ती, भटौलियालगायत दर्जनाैं गाउँमा अहिले रोपाइँको चटारो छ । केही वर्षअघिसम्म अर्मपर्म गरेर रोपाइँ हुने भए पनि अहिले अर्मपर्म बन्द भएको छ । अर्मपर्म बन्द र खेताला पनि पाउन गाह्रो भएपछि उपलब्ध खेतालाको हारालुछ भएको हो । 

नवलपरासीका यी गाउँमा मजदुरी गर्न दक्षिणी क्षेत्रका मानिस आउँछन् । सीमा क्षेत्र त्रिवेणी, प्रतापपुर, सेमरी, गुठीप्रसौनीका बासिन्दा रोपाइँको सिजनमा यहाँ आउने स्थानीयको भनाइ छ । सेमरीका रोशन गुप्ताका अनुसार आफ्नो रोपाइँ सकेलगत्तै ५०–६० जनाको टोली खेताला अभाव हुने गाउँमा मजदुरी गर्न पुग्छन् । उनले भने, ‘एउटै परिवारका पाँच जनासम्म खेताला हिँड्छन् । आकाशे पानीको भर पर्नुपर्ने गाउँहरूमा प्रायः असार अन्तिम साताबाट साउन अन्तिम सातासम्म रोपाइँ हुन्छ ।’ घरमा त्यसै बस्नुभन्दा रोपाइँमा हिँडे आम्दानी हुने भएकाले टोली नै बनाएर रोपाइँमा हिँड्ने गरेको गुप्ता बताउँछन् ।  

यसरी हिँड्नेमा अधिकांश पुरुष छन् । पुरुष भए पनि उनीहरूले महिलाले झैँ छिटोछिटो धान रोप्छन् । उनी टोली नै बनाएर गाडी रिजर्ब गरेर आवश्यक परेको स्थानमा पुग्छन् । बिहान ७ बजेतिर रोपाइँ हुने गाउँको पायक पर्ने स्थानमा जम्मा हुन्छन् । उनीहरू आइनपुग्दै सो स्थानमा खेताला खोज्ने गाउँलेको भिड लाग्छ । गाडीबाट झर्न नपाउँदै खेताला आफ्नोमा  ल्याउन तँछाडमछाड हुने गर्छ । महिला, पुरुष, किशोरकिशोरी सबै मिलाएर टोली–टोली बनेर उनीहरू बाडिएर रोपाइँ गर्छन् । 

पाँच सय ज्याला, आठ घन्टा काम
माकरकी चिसा रामदामका अनुसार उनीहरू बिहान करिब ९ बजेबाट साँझ ५ बजेसम्म काम गर्छन् । यसबापत उनीहरूले दिनको पाँच सय रुपैयाँ  ज्याला लिने उनको भनाइ छ । बिहानको खाना र दिउँसो नास्ता दिएर आउनेजाने गाडीभाडा समेत दिनुपर्ने रामदामले बताइन् । माकरका  अधिकांश किसानले उनीहरूबाटै रोपाइँ गराएको रामदामले जानकारी दिइन् । 

चार पाच वर्षअघिसम्म गाउँका दिदीबहिनीहरू मिलेर पर्म लगाएर पालैपालो रोपाइँ गर्ने प्रचलन थियो । तर, अहिले यहाँ यो प्रचलन हराइसकेको स्थानी मञ्जु केसी बताउँछिन । युवा पुस्ताले खेतीप्रति चासो नदिने, गाउँका अधिकांश पुरुष विदेश गएका कारण पनि अर्मपर्म गरेर खेती लगाउने प्रचलन हराउँदै गएको उनको बुझाई छ । ‘पहिले आम्दानी राम्रो हुन्थेन, खेतालालाई दिने पैसा हुन्थेन । त्यसैले अर्मपर्म गरेर महिनौँसम्म रोपाइँमा हिँडिन्थ्यो । तर, अहिले सबैले विदेश गएर कमाएका छन्, खेतालालाई ज्याला दिन सक्छन् । त्यसैले किन दुःख गर्ने भनेर पनि अर्मपर्म छाडेका होलान्,’ केसीले भनिन् ।