मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ श्रावण ७ मंगलबार ११:३८:००
Read Time : > 1 मिनेट
प्रदेश

राजनीतिक स्थिरतासँगै उद्योग बढे 

Read Time : > 1 मिनेट
२०७६ श्रावण ७ मंगलबार ११:३८:००

राजनीतिक स्थिरतासँगै जिल्लामा साना तथा मझौला उद्योग खुल्ने क्रम बढेको पाइएको छ । दाङमा आर्थिक वर्ष ०७५/७६ वर्षमा एक हजार ७२ वटा उद्योग थपिएका छन् ।  घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष ०७५/७६ मा एक हजार ७२ वटा उद्योग दर्ता भएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा बढी हो ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख वासुदेव रिजालका अनुसार जिल्लामा गत आर्थिक वर्षमा एक हजार दुईवटा उद्योग दर्ता भएका थिए । एक वर्षको अवधिमा सात सय ८२ वटा उद्योगको नवीकरण भएको छ । दुईवटाको अन्य संशोधन गरिएको, एक सय ५५ वटाको लगत कट्टा गरेकोे कार्यालय प्रमुख रिजालले बताए । पछिल्लो समयमा जिल्लामा उद्योगको संख्या वृद्धि हुँदै गएको उनको भनाइ छ । नयाँ थपिएका संख्यासँगै जिल्लामा झन्डै दुई हजार उद्योग स्थापना भएको कार्यालय प्रमुख रिजालले बताए । उनका अनुसार हाल दाङमा एक हजार आठ सय ५४ उद्योग स्थापना भएका छन् ।

डेढ अर्ब लगानी 
उद्योग खुल्ने क्रम बढेसँगै दाङमा औद्योगिक क्षेत्रमा लगानीको पनि बढेको छ । गत आर्थिक वर्षमा जिल्लाका साना तथा मझौला खालका उद्योगमा एक अर्ब ३८ करोड ५ लाख २९ हजार ४७ रुपैयाँ लगानी थपिएको प्रमुख रिजालले बताए । ‘राजनीतिक स्थिरता, संविधान निर्माण, लगानीको वातावरणको प्रत्यक्ष रूपमा सकारात्मक प्रभाव औद्योगिक क्षेत्रमा परेको छ,’ प्रमुख रिजालले भने, ‘यी उद्योगमा गरिएको लगानीले उत्पादन र रोजगारी पर्वद्धनमा योगदान पु-याउने विश्वास गरेका छौँ ।’ जिल्लामा खुलेका उद्योगमा झन्डै चार हजारजनाले रोजगारी पाएका छन् । तीन हजार आठ सय ६४ जना पुरुषले र एक सय ४५ जना महिलाले रोजगार प्राप्त गरेका हुन् । गत वर्ष  दर्ता भएका उद्योगमा मात्रै एक हजार ६७ जना पुरुष र दुई सय ५० जनाले रोजगारी पाएका हुन् । 

जिल्लामा खुलेका उद्योगबाट बितेको आर्थिक वर्षमा एक करोड तीन लाख ७९ हजार पाँच सय पाँच रुपैयाँ राजस्व संकलन भएकोे छ ।  कार्यालय विभिन्न शीर्षकबाट दुई करोड ५२ लाख ६९ हजार सात सय ५६ रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ । उद्योग प्रशासनमार्फत् एक करोड तीन लाख ७९ हजार पाँच सय पाँच रुपैयाँ, वाणिज्य प्रशासनबाट एक करोड ४३ लाख ६९ हजार ६ सय ६० रुपैयाँ, उत्पादित सामान बिक्रीबाट चार लाख ९६ हजार पाँच सय ९१ रुपैयाँ, बेरुजु दाखिला एक हजार, टेन्डर बिक्रीको २३ हजार रुपैयाँ राजस्व संकलन गरेको प्रमुख रिजालले बताए ।