मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ श्रावण ७ मंगलबार ११:३८:००
Read Time : > 2 मिनेट
प्रदेश

नेपालगन्जमा ‘साइक्लिङ क्रेज’

Read Time : > 2 मिनेट
२०७६ श्रावण ७ मंगलबार ११:३८:००

नेपालगन्जमा साइक्लिङप्रति युवाको आकर्षण बढ्दो छ । साइक्लिङमा युवाको ‘क्रेज’ बढेपछि यहाँका युवाले नेपालगन्ज साइक्लिङ क्लब स्थापना गरी साइक्लिङलाई विस्तार गर्दै लगेका छन् ।  विक्रम संवत् ०७५ सालमा ११ जनाबाट सुरु भएको नेपालगन्ज साइक्लिङ क्लबमा पछिल्लो समय सदस्य थपिँदै ४५ जना सदस्य छन् ।

दिनदिनै नयाँ सदस्य थपिँदै गएपछि क्लबका संस्थापक सदस्य हौसिएका छन् । सदस्य बनाउन पहिले ठूलो कसरत गर्नुपरे पनि पछिल्लो समय सदस्य बन्नेहरू स्वतस्र्फूत रूपमा आउने गरेको क्लबका संस्थापक सदस्य सतीश निरौलाले बताए । उनले एक महिनाको अवधिमा १० जना नयाँ सदस्य थपिएको बताए ।

‘साइक्लिङको महत्व बुझेपछि स्वतस्र्फुत रूपमा हाम्रो क्लबमा जोडिने क्रम सुरु भएको छ,’ उनले भने, ‘पछिल्लो समय बुझाउनुपर्दैन, आफैँ बुझेर आउनुहुन्छ ।’ उनले नयाँ–नयाँ सदस्य थपिने क्रमसँगै यसको आकर्षण नेपालगन्जमा बढेको बताए । स्थापना कालमा पदाधिकारी र कार्यसमिति सदस्यबाहेक अरू साधारण सदस्य थिएनन् । ‘एकदमै मिहिनेत र परिश्रम गरेर क्लब गठन ग-यौँ,’ सचिव निरौलाले भने, ‘धेरै बुझाउन खोज्दा पनि आउन नमान्नेको जमात ठूलो थियो । त्यतिवेला क्लबको नामबाट परिचय दिन पनि असजिलो लाग्थ्यो ।’ 

दिन प्रतिदिन थपिँदै साइकलस्ट
नेपालगन्ज साइक्लिङ क्लबमा चिकित्सक, स्वास्थ्यकर्मी, कानुन व्यवसायी, उद्योगी, सञ्चार उद्यमी, पत्रकारलगायतको आबद्धता बढ्दो छ । नेपालगन्ज साइक्लिङ क्लब सदस्यले नियमित रूपले साइक्लिङ गर्दै आएका छन् । हरेक दिन नियमित रूपमा साइक्लिङ गर्नेहरूको संख्या थपिँदै गएको क्लबका संस्थापक टिएस ठकुरीले बताए । उनले १२–१५ जना नियमित रूपमा साइक्लिङ गर्दै आएको बताए । ‘कुनै दिन धेरै र कुनै दिन थोरै भइन्छ, तर नियमित रूपमा १२–१५ जना साइक्लिङ गर्छौँ,’ उनले भने । केही दिन बिराएर भए पनि सबै सदस्य साइक्लिङमा सहभागी हुनुहुन्छ,’ उनले भने, ‘सानो समूहबाट सुरु भएको क्लबले मूर्त रूप लिएको छ ।’

नेपालगन्जमा एक लाख ५० हजारका साइकल बिक्री
साइक्लिङका लागि नेपालगन्जका व्यापारीले बिक्रीका लागि माउन्टेन बाइक पनि राखेका छन् । नेपालगन्जमा साइक्लिङका लागि २५ हजारदेखि एक लाख ५० हजार रुपैयाँ मूल्य पर्ने माउन्टेन बाइक बिक्रीका लागि राखेको नेपालगन्ज बाइसाइकल प्रालिका प्रबन्धक सतीश निरौलाले बताए । 

उनले एक वर्षको अवधिमा एक लाख ५० हजारका चारवटा माउन्टेन बाइक बिक्री भएको बताए । त्यसैगरी, ७५–८० हजार पर्ने १५ वटा साइकल बिक्री भएको बताउँदै उनले साइक्लिङका लागि माउन्टेन बाइक खरिद गर्नेको संख्या बढ्दै गएको बताए । ‘महँगो मूल्यका माउन्टेन बाइक बिक्री हुँदैन कि भन्ने चिन्ता थियो, सस्तोभन्दा महँगो साइकल खोज्ने पो धेरै आउन थाले,’ उनले भने ।

नेपालगन्जमा लामो समयदेखि साइकलको व्यापार गर्दै आएका बागवान  साइकलका प्रोपाइटर मोहम्मद सरिफ बागवानले पनि ग्राहकको मागलाई मध्यनजर गरेर महँगो मूल्य पर्ने साइकल पनि बिक्रीका लागि ल्याएको बताए । उनले भने, ‘पछिल्लो समय किशोरदेखि अधवैँसेसम्मको रोजाइमा माउन्टेन बाइक परेको छ ।’ उनले गरिबको सवारीसाधन साइकल भन्ने गलत बुझाइलाई यहाँका युवाले चिर्ने प्रयास गरेको बताए 

नेपालगन्जमा साइकल  लेन बनाउन माग
नेपालगन्जमा साइक्लिङको क्रेज बढ्दै गएपछि नेपालगन्ज साइक्लिङ क्लबले साइकल लेनको माग गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा र उपमेयर उमा थापा मगरले साइकल लेन बनाउने प्रतिबद्धता जनाएको क्लबका सचिव गगन थापाले बताए । उनले साइकल लेन नहुँदा साइकलमा यात्रा गर्नेलाई असहज हुनुका साथै दुर्घटना हुने गरेको बताए । ‘नेपालगन्जमा साइकल चढ्ने धेरै भएकाले हामीले सुरक्षित यात्राका लागि साइकल लेनको अवधारणार अघि सारेका छौँ,’ उनले भने । 

अक्टोबरमा ‘टुर दी रारा’
सदस्य संख्या थपिँदै गएपछि क्लबले प्रतियोगिता र गतिविधि गर्न थालेको छ । नेपालगन्ज साइक्लिङ दौड प्रतियोगिता गरेको क्लबले ‘सद्भाव डट कम टुर दी ठाकुरद्वारा’ आयोजना गरिसकेको छ । आगामी अक्टोबरमा ‘टुर दी रारा’ प्रतियोगिता गर्न लागेको अध्यक्ष केशव आलेमगरले बताए । प्रतियोगितामा प्रथम हुनेलाई एक हजार अमेरिकी डलर पुरस्कार तोकिएको उनले बताए । नेपालगन्जबाट सुरु भई रारा तालसम्मको साइक्लिङ प्रतियोगितामा सार्क मुलुकका साइकलस्टलाई समेत सहभागी गराइने भएको छ । ‘रारा तालको प्रचार–प्रसारमा टेवा पु¥याउने उद्देश्यले ‘टुर दी रारा’ प्रतियोगिता गर्ने निश्चित भएको छ,’ उनले भने ।