मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
२०७६ श्रावण ७ मंगलबार ११:२६:००
Read Time : > 1 मिनेट
प्रदेश

सप्तकोसीको पश्चिमी तटबन्ध जोखिममा : तीन लाख जनता डुबानको खतरामा

Read Time : > 1 मिनेट
२०७६ श्रावण ७ मंगलबार ११:२६:००

भारतले निर्माण गरेको पाइलट च्यानलका कारण सप्तकोसीको पश्चिमी तटबन्ध खतरामा परेको छ । बाँध फुटेमा रम्पुरा मल्हनिया, सकरपुरा, गोबरगाढा, भारदह, जोगिनिया, हनुमाननगर, इनर्वा, लौनिया, तिलाठीलगायतका गाउँका तीन लाख मानिस प्रत्यक्ष प्रभावित हुने हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेस साहले बताए । 

साहका अनुसार च्यानलका कारण २८ असारमा कोसीको बहाव पश्चिमतर्फ मोडिँदा तटबन्धमा क्षति पुगेको छ । साहले भने, ‘२० वर्षदेखि कोसीको तटबन्ध मर्मत भएको छैन । सात दिनअघिको बाढीले भारदह, डलवा र जोगिनियामा बाँधमा क्षति पुर्‍याएको छ ।’ साहका अनुसार बाढीको वेग कम गर्न बनाइएका स्परसमेत जीर्ण भएका छन् ।  तटबन्धको ६(२९) र ६(८०) नम्बरको स्परमा बाढीले क्षति गरेको साहले बताए ।

करिब ८० मिटर स्पर कटान गरेको स्थानीयले बताए । भत्किएको स्पर मर्मतका लागि भारतले बोरामा बालुवा हालेर थुनछेक गरिरहेको उनीहरूले जानकारी दिए । ‘बाढीको खतरा अझै पनि बाँकी छ । यस्तोमा पानी ओभरफ्लो भएर बाँध फुट्यो भने सप्तरीतर्फ ठूलो क्षति हुन सक्नेछ,’ हनुमानगर कंकालिनी नगरपालिका–१ भारदहका राजु शर्माले भने ।

पाइलट च्यानलले थप्यो समस्या

भदौ ०६५ मा सप्तकोसीको पूर्वी तटबन्ध फुट्दा नेपालसहित भारतका विभिन्न ठाउँमा ठूलो क्षति भयो । कोसीका कारण बिहारका सहर्सा, सुपौल, अररिया, पुर्णियालगायतका क्षेत्र अहिले पनि डुबानको खतरामा छन् । यही जोखिम कम गर्न भारतले पूर्वी किनार भएर बग्ने कोसीको धार परिवर्तन गर्न ०६७ सालदेखि कोसी नदीको मध्यभागमा पाइलट च्यानल निर्माण सुरु ग¥यो । निर्माण कार्य हरेक वर्ष चल्छ । च्यानलका लागि बिहार सरकारले पाँच अर्बभन्दा बढी रकम खर्च गरिसकेको स्थानीय बताउँछन् ।

ब्यारेजको २८ नम्बर ढोकाभन्दा मुनिबाट करिब ८ किलोमिटर लम्बाइको च्यानलकै कारण यस वर्ष पनि सप्तरीको हनुमाननगर र तिलाठी कोइलाडीका गाउँ डुबानमा परेको तथा बाँध र स्परमा क्षति भएको हनुमाननगरका बाढीपीडित बताउँछन् ।

च्यानल निर्माणको विषयमा जिल्ला प्रशासन कार्यालय सप्तरीदेखि प्रधानमन्त्री कार्यालयसम्म पत्र लेखेको हनुमाननगर कंकालिनीका मेयर साह बताउँछन् । ‘हामीले बाँधको मर्मत तथा पाइलट च्यानलको वैकल्पिक व्यवस्थाका लागि भारत सरकारसँग पहल गरिदिन आग्रह गर्दै प्रधानमन्त्री कार्यालयमा पत्राचार ग¥यौँ, तर सुनुवाई भएन,’ उनले भने, ‘यस्तै अवस्था रह्यो भने तटबन्ध भत्किएर सप्तरीमा ठूलो क्षति हुन सक्छ ।’

भारतले यसरी गर्छ कोसीको नियन्त्रण
सन् १९५४ को कोसी सम्झौताअनुसार ब्यारेज र तटबन्धको सुरक्षा नेपाल सरकारले गर्छ, संरचनाको मर्मतसम्भार तथा नियन्त्रण भने भारतले गर्छ । भारत सरकार, बिहार राज्यस्थित जल संसाधन मन्त्रालयमार्फत कोसीको रेखदेख तथा नियन्त्रण हुने गर्छ । पटना र वीरपुरमा कोसी परियोजनाका कार्यालय छन् । ब्यारेजमा स्थापना गरिएको ‘कोसी नियन्त्रण कक्ष’मार्फत ती कार्यालयले कोसीको रेखदेख गर्दै आएका छन् ।

भारतले बाढीको समयमा आफ्नो क्षेत्रको पूर्वी तटबन्ध जोगाउन पहिला सप्तरीतर्फका ढोका खोल्ने र आवश्यकता बढ्दै गए मात्र पूर्वका ढोका खोल्ने गरेको स्थानीयको आरोप छ । ब्यारेजमा कुल ५६ ढोका छन् । सुनसरीपट्टिलाई १ नम्बर ढोका मानिन्छ । २८ नम्बर ढोका सप्तरी र सुनसरीको सीमामा छ । भारतको यही रणनीतिका कारण खोलाले पश्चिमतर्फ धार तयार गरेकोे स्थानीयको बुझाइ छ ।