मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सिलिचोङ–५ याफुका डम्बर राईको बगानमा रुद्राक्ष सुरक्षाका लागि जडान गरेको सिसिक्यामेरा ।तस्बिरः नयाँ पत्रिका
२०७६ श्रावण ७ मंगलबार ११:२९:००
Read Time : > 2 मिनेट
समाचार

रुद्राक्षको सुरक्षा सिसिक्यामेराबाट

Read Time : > 2 मिनेट
२०७६ श्रावण ७ मंगलबार ११:२९:००

बोटबाटै रुद्राक्ष चोरी हुने क्रम बढेपछि संखुवासभाका किसानले बगैँचामा सिसिक्यामेरा जडान गर्न थालेका छन् । यहाँका किसानको एउटै बोटमा झन्डै एक करोडको रुद्राक्ष फल्छ । मूल्य बढेसँगै पछिल्लो समय रुद्राक्ष चोरी हुने क्रम पनि बढेको किसानले बताए । चोरी नियन्त्रणका लागि रुद्राक्ष बगैँचामै सिसिक्यामेरा जडान गरेर किसानले रुद्राक्षको रेखदेख सुरु गरेका हुन् । बगैँचामै सिसिक्यामेरा जडान गरेपछि चोरी नियन्त्रणमा सहयोग पुगेको सिलिचोङ गाउँपालिका–५ का किसान डम्बरबहादुर राईले बताए । ‘सिसिक्यामेराले चोरी नियन्त्रणसँगै चोरिएको रुद्राक्षको क्षतिपूर्ति भराउन पनि सजिलो हुन्छ,’ राईले भने । राईले भर्खरै आफ्नो बगैँचामा ८० हजार रुपैयाँ खर्चेर पाँचवटा सिसिक्यामेरा जडान गरेका छन् ।

कुरुवा र क्यामेराद्वारा सुरक्षा
बगानका चारैतिर देखिने गरी प्राविधिक खटाएर सिसिक्यामेरा जडान गरिएको राईले बताए । कतिपय किसानले रुद्राक्षको बगानमा कुरुवासमेत खटाएका छन् । ‘कुरुवा राख्दा पनि ढुक्क हुने अवस्था नरहेपछि यस वर्ष क्यामेरा जडान गरेको हुँ,’ राईले भने, ‘तीनजनालाई मासिक तलब दिएर कुरुवा राख्दा पनि रातिराति चोरी हुन छाडेन । अहिले तीन कुरुवासँगै सिसिक्यामेरा पनि जडान गरेको छु ।’ 

उनको बगानमा २६ वटा रुद्राक्षका बोट छन् । आफ्नो बगानमा मुखदार र गुणस्तरीय रुद्राक्ष फल्ने भएकाले सुरक्षा चुनौती बढेको राईले बताए । ‘राम्रो र मुखदार रुद्राक्ष राति नै चोरी हुने भएकाले सुरक्षाका लागि सिसिक्यामेरा जडान गरेको हुँ,’ उनले भने ।

रूख ढालेरसमेत चोरी
गत वर्ष याफुमा बहुमूल्य रुद्राक्ष फल्ने एउटा बोट राति नै ढालेर दाना चोरी भएको थियो । वार्षिक झन्डै करोड रुपैयाँ आम्दानी दिने रूख चोरले ढाल्न थालेपछि सुरक्षा चुनौती बढेको किसानले बताए । चोरले सकेसम्म रुद्राक्ष टिपेर लैजाने र नसके बोट नै ढालिदिने गरेका छन् । जिल्लाभरि नै रुद्राक्षको सुरक्षा चुनौती बढेको किसान बताउँछन् । हालै मात्र पाँचखपन नगरपालिकाको स्याबुनमा रुद्राक्षको जरामा विषादी हालेर बोटै मार्ने प्रयाससमेत भएको छ । 

गुणस्तरीय रुद्राक्ष फल्ने यहाँका बगानमा सुरक्षाका लागि प्रायः सबैले राम्रो पारिश्रमिक दिएर कुरुवा राख्ने गरेको पाइन्छ । किसानसँग बोटमै रुद्राक्ष खरिद गरेका ठेकेदारले पनि कुरुवा राखेर रुद्राक्षको सुरक्षा गर्छन् । 

केही किसानले भने कुरुवाको मात्र भर नभएपछि रुद्राक्षको सुरक्षाका लागि सिसिक्यामेरा जडान गरेका छन् । खाँदबारी, चेवाबेँसी, स्याबुन, धुपुलगायत ठाउँका सयौँ बगानमा सिसिक्यामेरा जडान गरेका छन् । धेरैजसो किसानले गोप्य ढंगले बगैँचामा सिसिक्यामेरा राखेका छन् । यसले आँखा छलेर रुद्राक्ष चोरी गर्ने र बोटमा क्षति पुर्‍याउनेलाई कारबाही गर्न सहज हुने अपेक्षा किसानको छ । 

साउनदेखि मंसिरसम्म सिजन
साउन लागेपछि रुद्र्राक्ष उत्पादन सुरु हुन्छ । ढिलोमा मंसिरसम्म रुद्राक्ष टिपिसक्नुपर्छ । रुद्राक्षको मुख्य बजार खाँदबारी नै हो । विशेषगरी, खाँदबारी, चेवाबेँसी, स्याबुन, याफू, माङतेवा र धुपुका साथै छिमेकी जिल्ला भोजपुरको दिङ्ला, नेपालेडाँडा र सोमबारे क्षेत्रमा बहुमूल्य रुद्राक्ष उत्पादन हुने गरेको छ ।

चीन र भारत निकासी
संखुवासभामा उत्पादन भएको रुद्राक्ष चीन र भारत दुवै छिमेकी मुलुकमा निर्यात हुँदै आएको छ । मुख्य गरी धार्मिक हिसाबले रुद्राक्षको बिक्री,  वितरण हुने गरेको छ । मुखदार रुद्राक्ष भारततर्फ र थोरै मुख भएको तर आकारमा ठूलो, चिल्लो र थेप्चो रुद्राक्ष चीनतर्फ निर्यात हुने गरेको रुद्राक्ष व्यवसायी संघका अध्यक्ष चक्र विसुङ्केले बताए ।

धेरै मुखे बहुमूल्य
२१ मुखे एउटै रुद्राक्ष ५० लाखभन्दा बढी मूल्यमा बिक्री हुने गरेको व्यवसायी बताउँछन् । ‘१४, २१ र २७ मुखे रुद्राक्ष  सबैभन्दा महँगो मूल्यमा बिक्री हुन्छन्,’ अध्यक्ष विसुङ्केले भने, ‘थोरै मुखे रुद्राक्ष भने केजीमा बिक्री हुन्छ । त्यस्तो रुद्राक्ष बिक्री गर्दा किसानले प्रतिकेजी पाँचदेखि ६० हजारसम्म लिन्छन् ।’ थोरै मुख भएको तर आकारमा ठूलो (२० एमएमभन्दा माथि) रुद्राक्ष प्रतिकेजी २० हजारदेखि डेढ लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको अध्यक्ष विसुङ्केको भनाइ छ ।