मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ श्रावण ७ मंगलबार ११:२६:००
Read Time : > 1 मिनेट
प्रदेश

डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै प्रदर्शन

Read Time : > 1 मिनेट
२०७६ श्रावण ७ मंगलबार ११:२६:००

डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै दुहबीका स्थानीयले सोमबार दिनभर राजमार्गमा प्रदर्शन गरेका छन् । घुँडाको अप्रेसन गर्न विराटनगर–४ कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजमा भर्ना भएका दुहबी नगरपालिका–३ का ५१ वर्षीय अनिलकुमार साहको आइतबार मृत्यु भएको थियो । घुँडाको अप्रेसन गर्न उनी ३ साउनमा अस्पतालमा भर्ना भएका थिए । उनको ४ साउनमा डाक्टर धीरज सिंह नेतृत्वको  टोलीले अप्रेसन गरेको थियो । अप्रेसनको दोस्रो दिन ५ साउनमा उनको मृत्यु भएको हो । 

अप्रेसनका क्रममा चिकित्सकको लापरबाहीले साहको मृत्यु भएको आरोप आफन्तले लगाएका छन् । उपचारमा लापरबाही गर्ने डाक्टरलाई पक्राउ गरेर कासबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने आफन्तको माग छ ।

दिनभरि राजमार्गमा प्रदर्शन
अस्पतालको लापरबाहीले सामान्य बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीयले सोमबार दिनभर कोसी राजमार्गस्थित दुहबीमा यातायात र बजार बन्द गरे । दुहबी बजारमा टायर बालेर प्रदर्शन गर्दा यातायात सेवा अवरुद्ध भएको थियो ।  

बन्द खुलाउने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ । प्रहरीले बल प्रयोग गरेर दिउँसो ३ बजे राजमार्ग खुलाइएको छ । मृत्युको विरोधमा आइतबार पनि आफन्तले नोबेल अस्पतालमा प्रदर्शन गरेका थिए । 

लडेर घाइते भएका थिए साह
मृतक साह सोनापुरको एसियन थाइफुड्समा प्रोडक्सन इन्र्चाजका रूपमा कार्यरत थिए । उनका भाइ प्रदीप साहका अनुसार असार अन्तिममा कार्यालयमै लड्दा साहको देब्रे खुट्टाको घुँडामा चोट लागेको थियो । घाइते भएपछि साहले त्यतिवेलै नोबेलमा उपचार गराएका थिए । 

‘सुरुमा डाक्टरले सामान्य उपचार गरेर औषधि दिएका थिए,’ प्रदीपले भने, ‘तर निको नभएपछि डाक्टरले हड्डी भाँचिएको भन्दै अप्रेसन गरेर स्टिल लगाउनुपर्छ भने । ३ साउनमा अप्रेसनका लागि अस्पताल भर्ना हुनु भएको थियो ।’ 

४ साउनमा डा. धीरज सिंहको समूहले अप्रेसनगरेपछि ५ साउनमा दाजुको मृत्यु भएको भाइ प्रदीपले बताए । ‘आइतबार बिहान हर्ट अट्याकबाट उहाँको मृत्यु भयो भनियो,’ प्रदीपले भने, ‘तर यसमा हामीलाई विश्वास छैन, उपचारमा भएको लापरबाहीले नै उहाँको मृत्यु भएको हो । यसको निष्पक्ष छानबिन हुनुपर्छ ।’ 

हार्ट अट्याकले मृत्यु : अस्पताल
नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दहालले भने अप्रेसनपछि वार्डमा सार्ने क्रममा हार्ट अट्याक भएर साहको मृत्यु भएको दाबी गरे । ‘यसमा डाक्टरको कुनै गल्ती छैन,’ दाहालले भने, ‘उहाँको मृत्यु हार्ट अट्याकबाटै भएको हो ।’ तर, आफन्त भने अस्पतालको भनाइमा विश्वस्त छैनन् । अप्रेसनका लागि भर्ना हुनुभन्दा अघि ठीकठाक रहेका हट्टाकट्टा व्यक्तिको उपचारकै क्रममा लापारबाही हुँदा नसा काटिएर मृत्यु भएको हुन सक्ने आफन्तको आरोप छ ।