१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ श्रावण ७ मंगलबार ११:२०:००
Read Time : > 1 मिनेट
प्रदेश

पानी नपर्दा १५ प्रतिशत खेत बाँझै 

Read Time : > 1 मिनेट
२०७६ श्रावण ७ मंगलबार ११:२०:००

साउनको पहिलो साता भइसक्दा पनि पर्याप्त पानी नपर्दा सुदूरपश्चिममा रोपाइँ सकिएको छैन । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकअनुसार साउन पहिलो सातासम्म यहाँको कुल रोपाइँ हुने जमिनमध्ये करिब १५ प्रतिशत अझै बाँझै छ । अन्न उत्पादनको भण्डारका रूपमा रहेको कैलाली–कन्चनपुरमा पनि रोपाइँ सकिएको छैन ।

मन्त्रालयका कृषि महाशाखा प्रमुख यज्ञराज जोशीले कैलालीमा १० प्रतिशत र कन्चनपुरमा ५ प्रतिशत क्षेत्रमा रोपाइँ हुन बाँकी रहेको जानकारी दिए । प्रदेशका ९ जिल्लामा वर्षायाममा धान लगाउने एक लाख ८१ हजार चार सय २४ हेक्टर क्षेत्रमध्ये एक लाख ५३ हजार नौ सय ४२ हेक्टमा रोपाइँ सकिएको जनाइएको छ । 

सिँचाइ सुविधा नभएका ठाउँमा रोपाइँ हुन नसकेको हो । रोपाइँ हुने भूभागमध्ये सबैभन्दा बढी अछाममा ४० प्रतिशत, डोटीमा ३५ प्रतिशत र डडेल्धुरामा ३० प्रतिशत क्षेत्रमा रोपाइँ हुन बाँकी रहेको कृषि विकास निर्देशनालयले जनाएको छ । वर्षा नभएपछि रोपेका खेतमा पनि चिरा पर्न थालेको किसानले बताएका छन् ।
‘अहिलेसम्म रोपाइँ सकिसक्नुपर्ने हो,’ महाशाखा प्रमुख जोशीले भने, ‘उत्पादनका हिसाबले ढिलो रोप्नु राम्रो होइन ।’ ढिलो रोपाइँ हुँदा, पर्याप्त वर्षा नहुँदा रोपेको जमिन पनि सुख्खा हुनुले उत्पादनमा असर पर्न सक्ने उनले जनाए ।

जोशीले भने, ‘रोपाइँ सकिएको छैन, धान लगाएको खेत पनि वर्षा नहुँदा सुख्खा छ । गत वर्षभन्दा अहिले उत्पादनमा केही ह्रास आउँछ कि भन्ने आशंका छ ।’ वर्षा नहुँदा रोपेको खेतमा चिरा पर्न थालेको किसानहरूले बताएका छन् । प्रदेशभरि नै यस वर्ष भारी वर्षा भएको छैन । कैलाली–कन्चनपुरमा सातायता वर्षा भएको छैन । जेनतेन रोपेको खेत पनि वर्षा नहुँदा सुक्न थालेपछि उत्पादन घट्ला भनेर किसान चिन्तित बनेका छन् । धनगढी उपमहानगरपालिका–३, का किसान ललुराम चौधरीले खेत चिराचिरा भएको बताए ।

‘मोटर लगाएर बल्लबल्ल रोपाइँ गरेका थियौँ । पानी नपरेपछि रोपो सुक्न थालेको छ,’ चौधरीले भने, ‘पानी पर्दैन, रोपो सुक्न थाल्यो, यस वर्ष धान उत्पादन हुँदैन कि भन्ने चिन्ता छ ।’ कैलालीमा मात्र ७२ हजार हेक्टरभन्दा बढीमा रोपाइँ हुन्छ । सिँचाइ नहुँदा अधिकांश किसानले आकाशे पानीको भरमा खेत रोप्ने गरेका छन् ।

प्रदेशभर ५० प्रतिशत भूभाग खेतीयोग्य जमिनमा सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेती लगाउनुपर्ने अवस्था रहेको प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।  साउन पहिलोसातासम्म खोलानालामा पानी भरिने गरी वर्षा भएको छैन । यसअघि भएको वर्षाले खोलानालामा पानीको सतह केही बढे पनि लामो समय वर्षा नहुँदा खोलानाला सुक्न थालेका कृषकले बताएका छन् ।