मेरो जन्म काठमाडौंको डिल्लीबजारको एक मध्यमवर्गीय शिक्षित परिवारमा भएको हो । बुबा सूधानिधि तिवारी उच्च प्रशाशक हुनुहुन्थ्यो भने आमा ललिता तिवारी शिक्षिका । अनि साक्खै ठूलो बुबा भीमनिधि तिवारी साहित्यकार । म सानो छँदा काठमाडौं अहिलेजस्तो थिएन । कतै भिडभाड थिएन । चारैतिर शान्त थियो । काठमाडौंका चारैतिरका डाँडा प्रस्टसँग देख्न सकिन्थ्यो । डिल्लीबजारको मुख्यसडकमै गुच्चा र डन्डीबियो खेलेको अहिले पनि झलझली आँखामा आउँछ ।
त्यतिवेला प्रायः घर ठूलो कम्पाउन्ड भएका हुन्थे । हाम्रै घरको कुरा गर्ने हो भने नासपाती, आरुबखडा, अम्बा आदिका बोट थिए । मौसमअनुसारका तरकारी आफ्नै बारीमा उब्जन्थे । ‘मैतीदेवीको काउली र साग’ भन्दै कृषकले खर्पनमा डिल्लीबजारमा बेच्न ल्याएको मलाई अझै याद छ ।हाम्रो घर डिल्लीबजारतिर भए पनि एउटा सानो पर्खाल नाघ्नासाथ कमलपोखरी पुगिन्थ्यो । अनि त्यो पर्खाल र घरचाहिँ अभिनेता शैल्यान केसी (मनको बाँध ,कुमारी फिल्मका अभिनेता)को थियो । म उहाँलाई बुबा भन्थेँ । साहै्र असल र मायालु हुनुहुन्थ्यो । दुर्भाग्यवश उहाँको अल्पायुमै निधन भयो । म उहाँलाई बुबा र आमापछि अहिले पनि ‘मिस’ गर्छु ।
हामीकहाँ ल्यान्डलाइन टेलिफोन र टेलिभिजन थियो । त्यसवेला यस्ता सामग्री बिरलैका घरमा हुन्थे । टेलिभिजन हेर्न हाम्रो घरमा टोलभरिको मानिस झुम्मिएको अहिले दन्त्यकथाजस्तो लाग्छ । कसैको फोन आउँदा ओल्लो÷पल्लो घरका मानिसलाई बोलाउन गएको पनि हिजैजस्तो लाग्छ । टोलभरिका मानिसले एक–अर्कालाई चिन्थे र सहयोग गर्थे । अहिलेको परिवेशलाई विश्लेषण गर्दा हामी कति असामाजिक, कुटिल अनि आत्मकेन्द्रित छौँ भन्ने लाग्छ । अहिले कसैलाई कसैको मतलब छैन ।
अहिले सिटी सेन्टर भएको ठाउँमा एउटा घरनजिकै गोठ थियो र त्यहाँ सयौँ गाई पालिएका थिए । नजिकै तीन–चारवटा परालका कुन्यु ठडाएका हुन्थे । त्यो घरका मालिकको भैरहवामा चिनी मिल र मदिरा उद्योग थियो । सयौँ परेवा पालिएका थिए । सानोमा मैले पनि परेवा पाल्थेँ । तर, मेरा परेवासमेत उनकै घरमा डुल्थे । उनको घरबाट हाम्रो घरमा दूध, दही उपहार आउँथ्यो । अनि सिटी सेन्टर पश्चिमपट्टि रहेको रसियन कल्चर सेन्टर रहेको स्थानमा ठूलो पोखरी थियो ।
त्यतिवेला जेठ–असारदेखि चंगा उडाउन सुरु गरिन्थ्यो । शुक्रबार स्कुल बिदा भएपछि खुब चंगा उडाइन्थ्यो । चंगाचेट भनेर कराएको अझै मेरो कानमा गुन्जिन्छ । चंगा उडाउनेक्रममा कयौँपटक धानबारीमा खसेर चोटपटक लाग्यो । त्यसको अहिले कुनै लेखाजोखा छैन । अब त काठमाडौंका आकाशमा चंगा देख्नै मुस्किल छ । कुनै समयको पर्वको झलक दिने चंगा अहिले कम्प्युटरमा खेल्ने गरिन्छ । अनि कसरी हुन्छ शारीरिक र मानसिक स्फूर्ति ?
त्यतिवेला जेठ–असारदेखि काठमाडौंका आकाशमा चंगा उडाउन सुरु गरिन्थ्यो । चंगाचेट भनेर कराएको अझै मेरो कानमा गुन्जिन्छ । अहिले त काठमाडौंका आकाशमा चंगा देख्नै मुस्किल छ । कुनै समयको पर्वको झलक दिने चंगा अहिले कम्प्युटरमा खेल्ने गरिन्छ । अनि कसरी हुन्छ शारीरिक र मानसिक स्फूर्ति?
खोला तथा नदी अहिलेभन्दा निकै कञ्चन थिए । गुह्येश्वरी बागमतीमा पौडी खेल्न गएको हिजोजस्तो लाग्छ । तर, अहिलेको स्थिति हेर्दा त्यहाँ पौडी खेलेको म नै हुँ र जस्तो लाग्छ । बागमतीको अवस्था यस्तो खराब छ भने अन्य खोलाको बारेमा के चर्चा गर्नु ? आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि पर्यावरण सखाप पारेर हामीले भोलिको भविष्य कस्तो बनाएका छौँ एकपटक सोच्नुपर्ने वेला आएको छ ।
काठमाडौंको नयाँ–सडक फेसन र सम्पन्नताको प्रतीक थियो । अहिले पनि त्यस्तै छ । त्यस्तै, दरबारमार्गमा घुम्नुलाई पनि सम्पन्नता मानिन्थ्यो । दरबारमार्गमा निरुलाज थियो, जहाँ आइसक्रिम खानु इज्जत मानिन्थ्यो ।त्यो समयमा ट्रलीबस चढेर भक्तपुरसम्म जाँदा बाटोको दुवैतिर खेतमा धान झुलिरहेका हुन्थे । लाग्थ्यो, कुनै अलौकिक यात्रा हुँदै छ । अहिले त त्यहाँ केवल अस्तव्यस्त घर ठडिएका छन् ।
नेपाली सिनेमा लाग्नु सम्पूर्ण परिवारका लागि पर्वजस्तो हुन्थ्यो । कुमारी, जय नेपाल, विश्वज्योति अनि रञ्जनामा गएर सिनेमा हेरिन्थ्यो । अनि कहिलेकाहीँ भक्तपुर र पाटनका हलमा पनि जान्थ्यौँ । त्योवेलामा सिनेमा चर्चित साहित्यकारका प्रख्यात कृतिमा आधारित हुन्थे र चल्थे । अहिलेका सिनेमाजस्ता कपी–पेस्ट हुँदैनथे । नक्कल गर्ने प्रवृत्तिले हामीलाई नोक्सानी पु-याएको छ ।
हेर्दाहेर्दै काठमाडौं ठूलो अनि महानगर बन्यो । जनसंख्या पनि ह्वात्तै बढेको छ । सबै क्षेत्रमा विकास भएको छ । चौतर्फी विकास भए पनि मानसिकता संकुचित छ । म अझै पनि यसअघि भोगेको काठमाडौं देख्न चाहन्छु, जहाँ बिहानको मन्दिरको घन्टीसँगै मानिस विनयी र सहयोगी बन्न सकून् ।