मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
श्रीधर गौतम उपसचिव
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ७ मंगलबार १०:४३:००
Read Time : > 2 मिनेट
लोकसेवा

सार्वजनिक सेवा प्रवाह

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ७ मंगलबार १०:४३:००

प्रश्न  ः सार्वजनिक सेवा प्रवाह भन्नाले के बुझिन्छ ? यसको महत्वमाथि प्रकाश पार्नुहोस् । ५+५=१०

सार्वजनिक सेवा प्रवाह
सरकारले आफ्ना संयन्त्रहरू साथै सरकारबाहेकका क्षेत्र, पात्र र संयन्त्र (निजी क्षेत्र, गैरसरकारी संस्था, सहकारी, नागरिक समाज, सामुदायिक संस्था आदि)मार्फत सशुल्क वा निःशुल्क प्रवाह गर्ने–गराउने सेवा–सुविधा वा सम्पादन गर्ने–गराउने कार्य सार्वजनिक सेवा प्रवाह हो । उदाहरणका लागि हाल नेपालमा ३ तहका सरकार (७ सय ६१ निकायअन्तर्गतका अनुमानित १५ हजार कार्यालय), करिब ९० हजार निजामती र केही हजार स्थानीयतर्फका कर्मचारी, ३७ संस्थानका ३० हजार हाराहारी कर्मचारी, ४ सुरक्षा निकायका करिब २ लाख सुरक्षाकर्मीद्वारा प्रवाहित सेवा साथै ५० हजारभन्दा बढी गैरसरकारी संस्था, ३२ हजारभन्दा बढी सामुदायिक संस्था, ४३ हजार हाराहारी सहकारी, हजारौँ निजी क्षेत्रका निकाय, सयौँ नागरिक समाज एवं सञ्चार माध्यममार्फत प्रवाहित सेवा सार्वजनिक सेवाअन्तर्गत पर्छ ।

राज्य व्यवस्थाको प्रादुर्भावसँगै आएको सार्वजनिक सेवा प्रवाह सन् १९७० को दशकअघिसम्म सरकारले नै सबैखाले सेवा प्रवाह गर्नुपर्ने मान्यता थियो । सन् १९८० को दशकसँगै सेवा प्रवाहमा बहुपात्रहरू रहने अवधारणाले मूर्तता पाएको छ ।  सरकार प्रमुख सेवा प्रदायक र अन्तिम दायित्व वहनकर्ता त हो नै तर सम्पूर्ण सेवाहरू आफ्नै संयन्त्रबाट प्रवाह गर्न असम्भवप्राय हुने हुँदा अन्य पात्रमध्ये सही पात्रलाई सही भूमिका सुम्पने र सोहीबमोजिम सेवाप्रवाहको सुनिश्चितता गराएर सार्वजनिक सेवा प्रवाह गर्नुपर्ने नवीन मान्यता रहेको छ ।

यसको एक दृष्टान्तका रूपमा सरकारले सुरक्षा, मौलिक, कूटनीतिकजस्ता अन्य क्षेत्र र पात्रलाई दिन नमिल्ने वा निजीलगायतले गर्न नचाहने Free rider effect हुने एवं मुनाफा नहुने सेवाहरू सरकार आफैँले प्रवाह गर्ने र बाँकी सबै काम निजी या सहकारी या सामुदायिक संस्थाजस्ता पात्रमध्ये जसको जुन क्षेत्रमा दक्षता र क्षमता छ, तिनीहरूलाई अधिकार प्रत्यायोजन गरी नीति र कानुनी प्रबन्ध सेवा प्रवाहको सुनिश्चितता गराउने गरिन्छ ।

समष्टिमा सार्वजनिक सेवा प्रवाह
– सरकार र सरकारबाहेकका निकाय, संयन्त्र र पात्रहरूमार्फत प्रवाहित सेवा
राज्य र नागरिकसँग जोडिएका नियमित, आकस्मिक एवं विकासात्मक कार्यहरूको समष्टि
–     राज्यको दायित्व र नागरिकको अधिकारको साझा सवाल
–     सरकारको सक्षमता र सफलता मापनको आधार
–     नागरिकको सन्तुष्टिमा नै यसको प्रभावकारिता मापन हुने
–     सेवा प्रदायक, सेवा प्रापक र नियामक निकायबीचको त्रिकोणात्मक सक्रियतामा यसको प्रभावकारिता भर पर्ने

सार्वजनिक सेवा प्रवाहको महत्व
समग्रतामा मुलुकलाई चलायमान बनाउने आधार नै सार्वजनिक सेवा प्रवाह हो । नागरिकका आधारभूत आवश्यकतादेखि मुलुकको अग्रगामी छलाङसमेत सार्वजनिक सेवा प्रवाहको माध्यमबाट सम्भव हुने कारण यसको विशेष महत्व छ ।

सार्वजनिक सेवा प्रवाहको महत्वलाई देहायका बुँदाबाट थप प्रस्ट पार्न सकिन्छ :
–     नागरिकका आधारभूत सेवाहरू सुनिश्चित गराउन, जस्तै– स्वास्थ्य, शिक्षा, सुरक्षा, खानेपानी आदि 
–     मुलुकमा पूर्वाधार विकास साथै आर्थिक–सामाजिक र वातावरणीय विकास गर्न, जस्तै– बाटो, बिजुली, सिँचाइ आदि
–     नागरिकलाई सुशासनको प्रत्याभूति गराउन, जस्तै– कानुनको परिपालना गराउने, काममा पारदर्शिता कायम गराउने, दण्डहीनताको अन्त्य गर्ने÷गराउने, उत्तरदायित्वको प्रवद्र्धन गर्ने/गराउने आदि
–     नागरिकका मौलिक हकहरूको प्रचलन गराउन, जस्तै– खाद्य सुरक्षा, आवास, शिक्षा, रोजगारीजस्ता 
हकको प्रचलन  
    सामाजिक न्याय प्रदान गराउने माध्यम भएकाले, जस्तै– वृद्ध, फरक क्षमता भएका, महिला, पिछडिएका वर्ग र क्षेत्रका नागरिकका लागि सकारात्मक विभेद र विशेष सहुलियत प्रदान
सरकारका नीति तथा योजनालाई कार्यरूप प्रदान गर्न, जस्तै– समृद्ध नेपाल सुखी नेपाली, सन् २०२२ सम्म विकासोन्मुख मुलुकमा स्तरोन्नति, दिगो विकास लक्ष्य हासिल आदि
अन्तर्राष्ट्रिय जगत्मा मुलुकको सशक्त उपस्थिति दर्साउन
नागरिकसामु सरकारको उपस्थिति, अस्तित्वबोध गराउन र सरकारको साख जोगाउन 
सीमान्तकृत वर्ग, क्षेत्र, समुदायको हित, संरक्षण, प्रवद्र्धन एवं सशक्तीकरण गर्न
सार्वजनिक सेवा प्रवाहको माध्यमबाट नागरिक हित र मुलुकको समृद्धि सम्भव हुन्छ । नागरिकमा अधिकारप्रतिको जागरुकता र कर्तव्यबोध, सरकारी संयन्त्रमा कानुन र नीतिप्रति प्रतिबद्धता र उत्तरदायित्वबोध र अन्य पात्रहरूको उचित परिचालन साथै नियमनकारी निकाय र खबरदारीका संयन्त्रहरूको अपेक्षित भूमिका निर्वाह हुन सकेमा सेवा प्रवाह प्रभावकारी हुन सक्छ । यसको वास्तविक महत्व त्यसवेला मात्र सम्भव हुन्छ ।

निष्कर्ष
जनताको सार्वभौमिकता र सर्वोच्चता स्विकारिने लोकतन्त्रमा सार्वजनिक सेवा जनताको वरिपरि घुम्नुपर्छ । नागरिकको सन्तुष्टि नै सेवा प्रवाहको प्रभावकारिता मापन गर्ने मुख्य आधार हो । अतः विद्यमान कमी–कमजोरी हटाउँदै सेवा प्रवाहका सबै संयन्त्र र पात्रहरूलाई नागरिकमैत्री बनाउन नवीन अवधारणाको अवलम्बन गर्ने कार्यमा कुनै कसर राख्‍नु हुँदैन ।