मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
लेखनाथ न्यौपाने काठमाडाैं
२०७६ श्रावण ७ मंगलबार ०८:३९:००
Read Time : > 6 मिनेट
दृष्टिकोण

नीतिमा सफल, नेतृत्वमा असफल पुष्पलाल

सन्दर्भ : पुष्पलाल स्मृति दिवस

Read Time : > 6 मिनेट
लेखनाथ न्यौपाने काठमाडाैं
२०७६ श्रावण ७ मंगलबार ०८:३९:००

वि सं १९८१ मा रामेछापको भँगेरीमा जन्मिएका पुष्पलाल श्रेष्ठको २०३५ मा भारतको दिल्लीमा मृत्यु भयो । यो ५४ वर्षे जीवनको दौरान उनको राजनीतिक जीवन उतारचढावपूर्ण रह्यो भने व्यक्तिगत जीवन निकै कष्टकर र जीवनको अन्त्यतिर उनी एक्लैजस्तो भए ।  पुष्पलाल; भक्तलालका छोरा, गंगालालका भाइ र सहाना प्रधानका  जीवनसाथी । १९९७ ताका प्रजातन्त्र संघको सदस्य, त्यसपछि कम्युनिस्ट हुँदै पार्टीको संस्थागत महासचिव । सुवर्णशमशेरले निरंकुशतासमक्ष आत्मसमर्पण गरेपछि बर्मा पुगेर छापामार तालिम लिने गुरिल्ला ।

२०१७ सालताका कम्युनिस्ट पार्टी विसर्जनको सँघारमा पुग्दा तेस्रो महाधिवेशनमार्फत उपचार खोज्ने अभियान्ता । यसले पनि बाटो नसमाते पछि तेस्रो सम्मेलनमार्फत पार्टी पुनर्गठन गरेर क्रान्ति अघि बढाउने अगुवा । कहिले काठमाडौं र वीरगन्जको मोर्चा सम्हाल्ने कमान्डर त कहिले बनारसतिर मार्क्सवादी  साहित्यका प्रचारक । तर, विडम्बना ! पुष्पलाल सधैँ नीति पास गराउने, तर नेतृत्व लिन नपाउने पात्र अथवा नीतिमा सफल, तर नेतृत्वमा असफल नेता बने ।

अझ विडम्बना, पुष्पलाल महामन्त्रीबाट हटाइए (२००८) पछि नेकपा एकीकृत हुने वेला (२०१९)सम्म नेता बन्न दिइएन । त्यसपछि पार्टी टुटफुट र विभाजनको अनन्त शृंखलामा फस्यो । त्यो स्थितिमा उनी आफैँ नेता बन्न सकेनन् । यसको उत्कर्ष चौथो महाधिवेशनवालाका मुख्य नेता मोहनविक्रमले त गद्दार पुष्पलाल भनेर दस्ताबेज नै लेखेर उनलाई अपमानित गरे । पुष्पलालको मृत्युपछि ‘उनको अस्तु नेपाल ल्याउन पाऊँ’ भनेर सहान प्रधानले हालेको निवेदनलाई अस्वीकार गरेर राज्यले थप अपमान ग-यो । यसरी पुष्पलालको जीवन बित्यो । 

पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गर्नुअघि नै कम्युनिस्ट घोषणा–पत्र नेपालीमा रूपान्तरण गरेर सार्वजनिक गरेका थिए । जसले कम्युनिस्ट पार्टी स्थापनाको निम्ति वैचारिक आधार निर्माणमा सहयोग गर्‍यो ।  त्यसपछि उनले पार्टी स्थापनाको आधार फराकिलो बनाउने उद्देश्यले ‘सोभियत रुसमा व्यक्ति र समाज’, ‘मार्क्सवाद के हो ?’, ‘चिनियाँ क्रान्ति र कम्युनिस्ट पार्टी’, ‘गाउँका गरिबलाई अपिल’जस्ता पुस्तक नेपाली भाषामा उल्था गरेर प्रचारमा ल्याए ।

पार्टी स्थापनाअघि उनले अनुमति, स्वीकृति र वैधानिकताका लागि संसारका कम्युनिस्ट पार्टीसँग सम्पर्क राखेर अन्तर्राष्ट्रिय परिचय मात्र स्थापित गरेनन्, कम्युनिस्ट पार्टी सामूहिक निर्णय र विधिमा चल्नुपर्छ भन्ने संस्कृति पनि बसाले । यस दौरान उनले राहुल सांकृत्ययान र लंकाका कम्युनिस्ट नेतासँग पत्राचार गरे भने भारतीय कम्युनिस्ट पार्टीका नेता नृपेन्द्र चक्रवर्तीसँग भेटेरै लामो र गम्भीर छलफल गरे । पहिलो माक्र्सवादी साहित्य ‘कम्युनिस्ट घोषणा–पत्र’ छाप्दाछाप्दै प्रहरीले प्रेसबाटै उठाइदिएपछि फेरि छाप्नका निम्ति पैसा नहुनुको पीडा खपेर पनि किञ्चित हरेस खाएनन् । 

समस्या फुकाउने र सहयोग जुटाउने मेसोमा उनले भारतीय मित्र नृपेन्द्रसँग आग्रह गर्दा पाएको जवाफ सामान्य थिएन । नृपेन्द्रले पुष्पलाललाई दिएको जवाफ यस्तो थियो, ‘हेर पुष्प ! केही हजारको प्रश्न हाम्रो निम्ति केही ठूलो कुरा होइन । हामीले दियौँ भने फिर्ता लिँदैनौँ, तर एउटा कुरा याद गर, यदि नेपाली जनता तिम्रो पार्टीलाई हुर्काउन र बढाउन सक्दैनन् भने कम्युनिस्ट पार्टीको गठन नै निरर्थक छ ।’ यस्तो मुटु छेड्ने नीतिगत जवाफबाट शिक्षा लिएर विदेशीसँग पैसा नमाग्ने अठोटमा पुगे पुष्पलाल । तर, आज हामी पुष्पलालको उत्तराधिकारी भन्ने वा बन्ने प्रतिस्पर्धामा रहेकाहरू विदेशीसँग आफ्नै हातमा डलर थापेर आफ्नै कोटको गोजीमा हाल्छौँ । नेतादेखि खजान्जीसम्म आफैँ वा आफन्तलाई बनाउछौँ । 

२००६  सालमा भारतमा नेपाल कम्युनिस्ट पार्टी स्थापना हुँदै गर्दा समग्र अन्तर्राष्ट्रिय अवस्था मात्र होइन कि विश्व कम्युनिस्ट आन्दोलन समेत निकै उथलपुथल ढंगले अघि बढिरहेको थियो । भर्खर दोस्रो विश्वयुद्ध सकिएको र विश्वयुद्धमा फाँसिवादको पराजयपछि पूर्वी यूरोप र एसियामा अभियानकै रूपमा समाजवादी र जनवादी राज्य (विश्वको लगभग आधा भूगोल) स्थापनाको लहर चलिरहेको थियो ।

एकातिर उत्तरतिरको छिमेकी मुलुक चीन (हाम्रो जस्तै गाउँ र किसान बाहुल्य अनि अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्र भएको मुलुक)मा माओ नेतृत्वमा विजयको निकट पुगेको जनवादी क्रान्ति थियो भने अर्कोतिर दक्षिणतिरको छिमेकी मुलुक भारतमा अंग्रेज साम्राज्यको पतन, पुँजीवादी प्रणालीको विकास र कम्युनिस्टहरूको नेतृत्वमा शक्तिशाली तेलंगना सशस्त्र किसान (१९४६–४७) विद्रोह अघि बढिरहेको थियो ।

देशभित्र हेर्ने हो भने एकातिर गंगालाल, धर्मभक्त, शुक्रराज र दशरथलाई दिइएको मृत्युदण्ड र त्यसविरुद्ध तीव्र बनेको देशव्यापी जनआक्रोश फैलँदो थियो भने अर्कोतिर राणाविरुद्ध उठिरहेको राजनीतिक जागरण र संघर्ष संगठित हुँदै थियो । सँगै बुर्जुवा वर्गको  प्रतिनिधित्व गर्ने राजनीतिक संस्था नेपाली कांग्रेस स्थापना भइसकेको अवस्थाका साथै कांग्रेसको राजा र भारतपरस्त नीतिबाट असन्तुष्ट युवाको संख्या बढ्दो क्रममा थियो । यी दुई परिस्थितिको प्रभाव एवं अध्ययन र विश्लेषण गर्दै पुष्पलालले नेपाली सर्वहारा श्रकिमको नेतृत्व र प्रतिनिधित्व गर्ने राजनीतिक संस्था नेपाल कम्युनिस्ट पार्टी स्थापनाको मूर्त पहल गरे र परिणाम पनि निकाले । पुष्पलालकै नेतृत्वमा पार्टीले आफ्नो मुखपत्र ‘कम्युनिस्ट पाक्षिक’ प्रकाशित ग¥यो । त्यसमा कम्युनिस्ट पार्टीको १२ बुँदे घोषणा–पत्र सार्वजनिक गरियो । घोषणापत्रको पहिलो बुँदामा भनिएको छ, ‘सामन्तवादी निरकुंश राजसत्ता र विदेशी शोषणको जुवालाई एकदम सफाचट गरी नेपाललाई पूर्ण तथा वास्तविक रूपमा स्वतन्त्र बनाउने ।’

००८ को असोजमा पार्टीको प्रथम राष्ट्रिय सम्मेलन कलकत्तामा सम्पन्न भयो । सम्मेलनमा पुष्पलालले ‘नयाँ जनवादका लागि नेपाली जनताको बाटो’ नामको राजनीतिक प्रस्ताव पेस गरे र सम्मेलनले पारित गर्‍यो । यसमा प्रजातान्त्रिक शक्तिका बीचमा राष्ट्रिय स्तरको संयुक्त मोर्चा गठन गर्ने र सामन्ती शोषणाका विरुद्ध किसान आन्दोलन तेज गर्ने कार्यक्रम समावेश गरिएको थियो । यसपछि नेपाल कम्युनिस्ट पार्टीसँग सम्बन्धित भएर तीनवटा अचम्मका घटना एकैचोटि घटे । पहिलो, पार्टीले किसान विद्रोहको योजना अघि सा¥यो र तराई (बारा, पर्सा, रौतहट) र पश्चिम नेपालमा सामन्तका विरुद्ध किसान विद्रोह सुरु भए ।

दोस्रो, त्यहीवेला डा. केआई सिंहको विद्रोहमा कम्युनिस्टहरूको संलग्नताको आंशकामा ००८ माघ १० गते मातृका कोइराला सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्धको घोषणा गर्‍यो । तेस्रो, त्यही वर्ष सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक समितिको बैठकले पुष्पलाललाई महासचिवबाट हटाएर उक्त ठाउँमा मनमोहन अधिकारीलाई ल्याउने निर्णय भयो । पुष्पलाललाई महामन्त्रीबाट हटाइएपछि नेपालमा रुसपन्थी (खागसरी भारतका रुसपन्थी) कम्युनिस्टको प्रभाव विस्तार र चीनपन्थीको पराजयको रूपमा विश्लेषण भयो । पुष्पलालले चीन पक्षधर अथवा र नयाँ जनवादी क्रान्तिद्वारा नेपालको सामन्तवाद र विदेशी हस्तक्षेपलाई पराजित गर्ने राजनीतिक लाइनको नेतृत्व गरेका थिए ।

०१० साल माघमा नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनमा मनमोहनले प्रस्तुत गरेका ‘देशीय सामन्तवादको सम्पूर्ण स्वरूप र विदेशी प्रभुत्वलाई समाप्त गरी नयाँ जनवादी व्यवस्था नेपालमा स्थापना गर्ने नीति र कार्यक्रम’ सर्वसम्मतिले पारित गर्‍यो । तर, किसान, मजदुरको स्थान र भूमिका के हुने भन्ने विषयमा मौन बस्यो । ‘पुष्पलालले संविधानसभाका लागि कार्यक्रम’ बनाउने प्रस्ताव गरे, तर त्यस्तो कार्यक्रम बनेन । सो महाधिवेशनले मनमोहनलाई महामन्त्री बनायो ।

मनमोहन आउनुमा तेलंगना किसान आन्दोलन फिर्ता (सन् १९५१) लिएको रुसपन्थी भारतीय कम्युनिस्ट पार्टीबाट प्रभावित निर्णय भन्ने तर्क आज पनि बाक्लै रूपमा गरिन्छन् । यसका अतिरिक्त दोस्रो विश्वयुद्धमा बनेको फाँसीवादविरोधी मोर्चामा सहभागी ब्रिटेनको उपनिवेश भारतमा कायम रहनु र यो विशिष्ट अवस्थाको कारण भारतको सत्ताविरुद्ध चलिरहेको तेलंगना विद्रोह स्थगित गर्न स्टालिनले भाकपालाई आग्रह गरेको भन्ने तर्क पनि यदाकदा सुनिन्छन् । ०१४ जेठमा पार्टीको दोस्रो महाधिवेशन काठमाडौंमा खुला रूपमा भयो ।

अधिवेशनमा महामन्त्रीको हैसियतमा केशरजंग रायमाझीले ‘संसदीय व्यवस्था, संवैधानिक राजतन्त्र र शान्तिपूर्ण संक्रमण’को पक्षमा राजनीतिक प्रतिवेदन पेस गरे भने शम्भुराम श्रेष्ठले ‘गणतन्त्र र संविधानसभाको चुनाव’को कार्यक्रम पेस गरे । प्रतिनिधिले रायमाझीको प्रस्तावको व्यापक विरोधसहित अस्वीकार गरे भने श्रेष्ठको अमूर्त कार्यक्रमले पनि मूर्त आकार लिन सकेन । विनाप्रस्ताव गएका पुष्पलालले महाधिवेशनको चित्र देखेपछि ‘नयाँ जनवादी कार्यक्रम र संविधानसभाको निम्ति संघर्ष’ नामको कार्यनीति तयार गरी पेस गरे र पाससमेत भयो । तर, अस्वीकार गरिएको कार्यनीतिको प्रस्तावक पार्टीको मुख्य नेता भए भने जसको लाइन पारित भयो, उसले नेतृत्व गर्ने स्थिति रहेन । यसरी नेपाली कम्युनिस्ट आन्दोलनमा नीति एउटाको, तर नेतृत्व अर्को अन्तरविरोधी विषय प्रवेश गर्‍यो ।

०१७ को फागुनमा पार्टीको विस्तारित बैठक आयोजना भयो । ४१ दिनसम्म चलेको विस्तारित बैठक दरभंगा प्लेनमको नाममा चर्चित छ । प्लेनममा राजावादी रुझान राखेका केशरजंगको तीव्र आलोचना भयो र उनलाई महामन्त्रीबाट हटाइयो । प्लेनममा रायमाझीको ‘संसदीय व्यवस्थाको पुनर्स्थापना ’, पुष्पलालको ‘विघटित संसद्को पुनस्र्थापना’ र मोहनविक्रमको ‘संविधानसभा चुनाव’को प्रस्ताव पेस भएकोमा कुन पारित भएको भन्नेमा विवाद भयो र आजसम्म त्यो विवाद कायम छ ।

दरभंगा प्लेनममा अल्पमतमा परेकाहरूले अन्तर जोन समन्वय समिति बनाए भने बहुमतले हिम्मतसिंह, पुष्पलाल र तुलसीलाललाई कारबाही गरेको निर्णय सार्वजनिक गरे । ०१९को वैशाखमा तलबाट माग गरिएको अधिवेशनको आयोजना भयो । यसमा तीन प्रस्ताव पेस भएका थिए । पहिलो, तुलसीलालको रुसी लाइनअनुसार ‘पिछडिएका देशका लागि क्रान्तिको नारा राष्ट्रिय प्रजातन्त्र’ भन्ने प्रस्ताव, दोस्रो, पुष्पलालको ‘विघटित संसद्को पुनस्र्थापना’को प्रस्ताव र तेस्रो मोहनविक्रमको (जो अधिवेशनमा उपस्थित थिएनन्)को ‘संविधानसभा चुनावका लागि संघर्ष’ नामका प्रस्ताव पेस भए । संविधानसभाको चुनावबारे बहसै भएन भने तुलसीलालले संसद्को पुनर्स्थापना  भन्दा सर्वसम्मत संसद् भने र प्रतिनिधिलाई भ्रममा पारे । पार्टीलाई राजावादी र संशोधनवादीबाट बचाउने उद्देश्यले तलबाट बोलाइएको अधिवेशनको निर्णय भने पुरानै किसिमको भयो ।

पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गर्नुअघि नै कम्युनिस्ट घोषणा–पत्र नेपालीमा रूपान्तरण गरेर सार्वजनिक गरेका थिए । त्यसले कम्युनिस्ट पार्टी स्थापनाको निम्ति वैचारिक आधार निर्माणमा सहयोग गर्‍यो ।

पार्टी विभिन्न टुक्रामा विभाजित भएपछि तीन ठाउँबाट पार्टी पुनर्गठनको प्रयत्न भएका थिए । यसमध्येको एक पहल पुष्पलालको थियो । तेस्रो अधिवेशनबाट कम्युनिस्ट पार्टी औपचारिक रूपमा विभाजित भयो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा चलेको महाविवादको प्रभाव, आन्तरिक पार्टी जीवनमा भावनात्मक एकताको कमी र चरम गुटबन्दीका कारण बैठक नै बस्न नसकी २०२२ मा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति विघटन भयो ।

२०२५ जेठमा पुष्पलालद्वारा भारतको गोरखपुरमा पार्टीको तेस्रो राष्ट्रिय सम्मेलन गरी नेकपाको पुनर्गठनको प्रयत्न गरेका थिए । यसको सकारात्मक पक्ष पहिलो, माक्र्सवाद, लेनिनवाद, माओविचारधारा र सांस्कृतिक क्रान्तिको समर्थन एवं ख्रुस्चेभी संशोधनवादको विरोध थियो । दोस्रो, मजदुरहरूको मुक्ति कहिल्यै पनि सुधार र सम्झौताबाट सम्भव नहुने विषयको किटानी थियो र केन्द्रका सामन्तविरुद्ध मात्र होइन, ग्रामीण वर्गको संघर्षमा पनि जोड दिइएको थियो ।

पुष्पलालसँग जोडिएको यो पाटो भनेको उनी जन्मिएको ठाउँको दुर्दशा, गंगालालको फाँसी र पुष्पलालको कष्टकर दैनिकीकै बीचमा भारतमा भएको उनको मृत्यु हो । दुई लाल, गंगालाल र पुष्पलाल सहोदर दाजुभाइ । दाजु गंगालाल नेपाली विद्यार्थी आन्दोलनका प्रथम सहिद । भाइ पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव । यिनै लाल दाजुभाइले पहिलोपटक टेकेको धर्ती हो, रामेछापको भँगेरी । ‘कम्युनिस्टहरूको मक्कामदिना’ अथवा ‘लन्डनको हाइगेट’जस्तै राजनीतिक पर्यटकीय केन्द्र । 

पुष्पलालले स्थापना गरेको पार्टीबाट ६–६ जना मुलुकका प्रधानमन्त्री भइसके, तर एकजनाले पनि भँगेरी टेक्न आवश्यक ठानेनन् । उनी जन्मेको ठाउँमा सम्मानको फूलसमेत चढाउने ठाउँ अझै छैन । हामी कम्युनिस्टका लागि लाजको विषय, पार्टीका संस्थापक महामन्त्रीप्रति फूल चढाएर सम्मान गर्ने ठाउँसम्म बनाउन चाहदैनौँ र सक्दैनौँ । पुष्पलालले युवाहरूलाई आह्वान गर्दै भनेका थिए, ‘हे युवाहरू हो, स्वतन्त्रताको लागि प्रशस्त रगतको भेटी चढाएका छौँ । युवक गंगालालको अमर सहिद प्राप्तिले तिमीलाई नयाँ संघर्षमा बलिदानका निम्ति उत्साहित तुल्याएको छ । १९३० का एक वीर युवक खड्गमान अझै नेल, हत्कडी र गलफन्दीसहित जेलमै छन् । 

पुष्पलाल बिरामी थिए । खुट्टा राम्रोसँग टेकिँदैनथयो । तैपनि उनी पार्टीको काममा हिँडिरहन्थे । ०३५ वैशाखबाट चाहिँ उनी बिरामीको कारण थला नै परे । पैसाको अभावमा सुरुमा दार्जीलिङका सांसद आनन्द पाठकको क्वार्टर विट्टल वाई पटेल हाउस दिल्लीमा बसेर उपचार गराए । पछि गोविन्दबल्लभ पन्त अस्पतालमा मुटु रोगका कारण भर्ना भए । पैसाको अभावले जनरल वार्डमा बसेर उपचार गर्दै गर्दा एक दिन उनलाई भेट्न चन्द्रशेखर आए । उनले ‘पुष्पलाल हाम्रो साथी हो’ भनेपछि क्याबिनमा राखेर उपचार हुन थाल्यो । अन्तिममा सघन उपचार कक्षमा राखेर उपचार गर्दा पनि रोग निको भएन र अन्ततः ०३५ साउन ७ मा सघन उपचार कक्षमै पुष्पलालको मृत्यु भयो ।