१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
युवराज ज्ञवाली काठमाडाैं
२०७६ श्रावण ७ मंगलबार ०८:०८:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

बढ्दो भ्रष्ट प्रवृत्ति र विषाक्त राजनीति

कम्युनिस्ट राजनीतिले श्रमजीवी जनताको स्वार्थ पूरा गर्नुुपर्नेमा जनताको नाउँमा व्यक्तिगत महत्वाकांक्षा र निजी स्वार्थ पूरा गर्ने साधन बन्नुहुँदैन

Read Time : > 4 मिनेट
युवराज ज्ञवाली काठमाडाैं
२०७६ श्रावण ७ मंगलबार ०८:०८:००

जननेता मदन भण्डारीले ‘सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त’ भन्नेमा विशेष जोड दिनुभएको थियो । उहाँले लाखौँ लाख श्रमजीवी जनताको मुक्ति र समृद्धिका लागि यस्तो विचार व्यक्त गर्नुभएको थियो । तर, यसलाई कतिपय नेता तथा कार्यकर्ताले जनताको समृद्धिभन्दा जस्तोसुकै कुकर्म गरेर भए पनि पहिले आफू धनी बन्नुपर्छ भन्ने अर्थमा बुझे । कतिपय विद्वान्, बुद्धिजीवीले मार्क्सवादबारे भ्रम सिर्जना गर्ने नियतले मार्क्सवादको सारभूत विषयलाई छायामा पारी केही उसवेलाको परिस्थितिका सन्दर्भमा व्यक्त विषयवस्तुलाई आधार बनाएर मार्क्सवादको अपव्याख्या गर्ने गरेका छन् । वास्तवमा मार्क्सवाद  भनेको जम्मा–जम्मी विश्वका श्रमजीवी जनताको मुक्तिको सिद्धान्तबाहेक केही होइन । 

नेपालका श्रमजीवी जनताको मुक्तिका लागि पुुष्पलालदेखि मनमोहन अधिकारी र मदन भण्डारीसम्मका तमाम नेताले आफ्नो सम्पूर्ण जीवन समर्पित गरे । नेत्र घिमिरे, रामनाथ दाहाल, नेत्रलाल ‘अभागी’, रत्नकुमार बान्तवाजस्ता तमाम सहिदले श्रमजीवी जनताको मुक्ति र समृद्धिकै लागि सहादत प्राप्त गरे । तिनै सहिदको बलिदानस्वरूप आज नेकपाको झन्डै दुईतिहाइको सरकार बनेको छ । त्यस्तै आजको यो शक्ति निर्माणका लागि दशवर्षे जनयुद्धका क्रममा हजारौँ क्रान्तिकारीले आफ्नो ज्यानको बलिदान गरे, नेकपाका हजारौँ नेता, कार्यकर्ताले यो शक्ति निर्माणका लागि वर्षौंको भूूमिगत तथा कठोर जेलजीवन बिताए । आफ्ना बाबुआमा, छोराछोरी, जहान–परिवार, राम्रो व्यवसाय, स्थायी जागिर चटक्कै छाडेर देश, जनता र पार्टीका लागि जीवन समर्पित गरे । 

नेपाली समाजलाई बदल्ने सबैभन्दा महत्वपूर्ण विषय मानिसको व्यवहार र आचरणमा रूपान्तरण गर्नु हो । तर, जब पार्टीको शक्ति बढ्यो र सत्तामा पुग्न थाल्योे, समाजभित्रका तमाम अराजक, गुन्डा, आवारा, अपराधी, तस्कर, भ्रष्ट ठेकेदारलगायत तमामखाले गलत तत्वसमेत आफ्नो निहित स्वार्थ पूर्तिका लागि पार्टीको वरिपरि देखा पर्न थाले । उनीहरूले पार्टीभित्रको अमुक गुट तथा तिनका नेताको सेवा चाकरी गर्दै पार्टीको ढोकाबाट छिर्ने र भित्रैसम्म पुगेर पार्टीलाई नै विकृत बनाउन थाले । पार्टीभित्र, सत्ता र शक्तिको आसक्तिले कतिपय मानिस पुष्पलाल र मदन भण्डारीको नाम लिँदै उहाँहरूकै आदर्शमाथि प्रहार गर्न थाले । अगाडि बढ्दै जाँदा उहाँहरूका आदर्श र मूल्य–मान्यताभन्दा आफू कति टाढा पुगियो, उनीहरूलाई पत्तै भएन । 

हेर्दै जाँदा युवालाई पार्टीमा आकर्षित गर्ने नाममा चरी, बाहुन र दीपक मनांगेजस्ता तमाम व्यक्तिलाई प्रोत्साहित गर्न थालियो । देशैभरि यस किसिमका युवाको प्रवेश बढ्यो । त्यस्तै युवालाई उत्पादनमा संलग्न बनाउने नाममा ढुंगा, गिट्टी र बालुवाका ठेकेदारको उत्पादन बढ्यो अनि उनीहरूलाई विकास निर्माणका काममा संलग्न गराउने नाममा कमिसन खाने र अमुक नेतालाई चुनावी खर्च संकलन गर्ने प्रवृत्ति बढ्न थाल्यो । विगतमा पार्टीले विद्यार्थी र युवा संगठनलाई असल कम्युनिस्ट उत्पादन गर्ने नर्सरीका रूपमा अघि बढायो र ठूलो संख्यामा क्षमतावान् युवानेता नेतृत्वमा आए । तर, सत्ताप्राप्तिपछि भने चाकडीबाज र भ्रष्ट तत्वको खोजी हुन थाल्यो । त्यस्ता गलत तत्वलाई प्रश्रय दिँदा भविष्यमा समाजवाद ल्याउने नेतृत्व कसरी निर्माण होला ? यतिवेला गम्भीर चिन्ताको विषय बनेको छ । 

तपाईंलाई जनताले कस्तो मान्छे भनेको सुन्न चाहनुहुन्छ ? भन्ने प्रश्नको उत्तरमा बिपी कोइराला र मनमोहन अधिकारीले ‘जनताले मलाई एउटा असल मान्छे’ बुझिदिए पुग्छ भनेर यत्तिकै बोलेका होइनन् । सारमा अब पनि पार्टी निर्माण गर्दा, असल मान्छे निर्माण गर्ने व्यवस्थित योजनाका आधारमा अघि बढ्न सकिएन भने पार्टीभित्रकै कमजोरीका कारण नेपालको लोकतन्त्र र कम्युनिस्ट आन्दोलन नै बर्बाद हुने खतरा आउन सक्छ । 

केका लागि राजनीति गर्ने ? वर्तमान समयमा नेपालको राजनीतिमा उठ्ने गरेको गम्भीर प्रश्न हो यो । राजनीति, त्यसमा पनि कम्युनिस्ट राजनीति, जनताको सेवा गर्नुबाहेक अरू केही पनि होइन । विकास निर्माणका निकै ठूला सपना हामीले देख्दै आएका छौँ । त्यसको पनि प्रमुख लक्ष्य जनताको सेवा गर्नु हो । तर, हरेक विकास निर्माणका योजनामा कमिसन खाएर देश र जनता लुट्ने परिपाटी स्थापित हुन थाल्यो भने त्यो राजनीतिको नाउँमा जनतामाथिको भयंकर धोखा र बेइमानीबाहेक केही पनि होइन । पार्टीमा भ्रष्ट मान्छेलाई प्रोत्साहन गर्ने हो भने राजनीति फोहोरी खेलमा परिणत हुनेछ । कम्युनिस्ट राजनीति नेपालका आमश्रमजीवी जनताको स्वार्थ पूरा गर्ने माध्यम बन्नुपर्छ, तर जनताको नाउँमा व्यक्तिगत महत्वाकांक्षा र निजी स्वार्थ पूरा गर्ने साधन बन्नुहुँदैन । 

अहिलेको कम्युनिस्ट राजनीतिले योग्य, क्षमतावान् र जनताप्रति इमानदार डाक्टर, इन्जिनियर, वकिल, प्राध्यापक, वैज्ञानिक र तमामखाले प्राविधिक उत्पादन गरोस्, स्कुल, कलेज र विश्वविद्यालयबाट योग्य विद्यार्थी तयार होऊन्, सफल व्यापारी, उद्योगपति, गुणस्तरयुक्त विकासका संरचना निर्माण गर्ने सफल निर्माण व्यवसायी, आधुनिक कृषि प्रणालीका आधारमा उत्पादन बढाउने सफल कृषक उत्पादन गरोस् अनि मात्र राजनीतिलाई जनताको सेवाको माध्यम बनाएको प्रमाणित हुनेछ । अहिले त राजनीति एक किसिमको उद्योग र व्यापारमा परिणत हुने खतरा बढ्दै छ । 

पहिले–पहिले कम्युनिस्ट आन्दोलनमा समाजभित्रको योग्य, सक्षम, इमानदार र श्रमजीवी वर्गको व्यक्ति छानेर पार्टी सदस्यता दिने र उसलाई क्रमिक रूपमा नेतृत्वमा अघि बढाउने परिपाटी थियो । त्यस्तै पार्टीका विभिन्न स्तरका कमिटीमा पु-याउन उसको वैचारिक क्षमता, योगदान र क्रियाशीलतालाई आधार बनाउने परिपाटी थियो । वास्तवमा आजको यो शक्ति त्यसकै जगमा निर्माण भएको हो । तर, अहिले पार्टी सदस्यता नै खरिद–बिक्रीमा पर्ने परिपाटी अघि बढ्न खोज्दै छ । वर्षौंदेखि पार्टीमा क्रियाशील व्यक्तिले सदस्यता नपाउने, तर पैसाको शक्ति देखाएर भर्खर पार्टीको नाम उच्चारण गर्नसम्म सिकेको व्यक्ति पार्टी सदस्य बन्ने, दशकौँदेखि पार्टी सदस्य भई विभिन्न स्तरका कमिटीमा रहेर सक्रियतासाथ काम गरेको व्यक्ति पछाडि पर्ने तर भर्खर मात्र पार्टी प्रवेश गरेका, कतिपय व्यक्तिलाई क्रेनले तानेर माथि पुर्‍याउने परिपाटी अत्यन्त घातक छ । 

माक्र्सवादलाई कुनै दस्ताबेजमा उतारेर त्यो आफैँ व्यवहारमा लागू हुँदैन । त्यसलाई लागू गर्ने संगठनले हो, पार्टीले हो । पार्टी भनेको मार्क्सवादलार्ई आत्मसात् गरेका व्यक्तिको संगठन हो । मार्क्सवाद , त्यस्तो योग्यतम जनशक्तिका माध्यमबाट जनताबीच कार्यान्वयन हुने हो । मार्क्सवादको केही छेउटुप्पो थाहा नभएका व्यक्तिलाई अचानक नेतृत्वमा पु¥याउने हो भने त्यसको परिणाम के होला ? नेतृत्वले यो विषयलाई गम्भीर रूपमा लिनुपर्छ । व्यक्तिगत सामीप्य र पैसाको खेलमा व्यक्तिको छनोट हुन थाल्यो भने नेकपाले पनि अलि छिटै पश्चिम बंगालको कम्युनिस्ट पार्टीको दुर्गति व्यहोर्नु अनिवार्य हुनेछ । 

नेपाली समाजमा योग्य र क्षमतावान् व्यक्तिको कमी छैन । कैयौँ योग्य व्यक्ति यो देशमा केही राम्रो काम गर्छु भन्दाभन्दै पनि उनीहरूको योग्यताको कदर नहुने देखेर विदेश पलायन भएका छन् । तर, उनीहरू यस देशमा आएर आफ्नो क्षमताको सदुपयोग गर्न चाहन्छन् । त्यस्तै स्वदेशमै लामो समय विभिन्न काममा लागेका योग्य मानिस पनि धेरै छन् । तर, तिनको सदुपयोग हुन सकेको छैन ।

चाकडीको भरमा अयोग्यहरू विभिन्न जिम्मेवारीमा पुगेका छन् । पार्टीभित्र पनि हरक्षेत्रमा योग्य र क्षमतावान् व्यक्तिको कमी छैन । तर, त्यस्तो जनशक्तिको कुनै मतलब छैन । जब अयोग्यहरू राज्य सञ्चालनका विभिन्न तहमा पुग्छन्, स्वाभाविक रूपमा मुलुकले दुःख पाउँछ, पार्टी असफल हुन्छ र नेतृत्व पनि असफल हुन्छ । नेपालमा योग्य जनशक्ति नभएर होइन, नेतृत्वले योग्यता पहिचान गर्न नसकेर मुलुकले अपेक्षित प्रगति गर्न सकेन । कस्तो व्यक्तिलाई कुन किसिमको जिम्मा दिने ? त्यसको छनोट गर्ने खुबी नेतृत्वमा हुनुपर्छ । हामीले देख्दा–देख्दै हामीभन्दा पछाडि परेका धेरै देशले हामीलाई कता हो कता, पछाडि पारिसके । उपयुक्त कामका लागि उपयुक्त व्यक्तिको छनोट हुन नसक्नु पनि यसको एउटा महत्वपूर्ण कारण हो । 

एउटा पार्टी जतिसुकै ठूलो र शक्तिशाली किन नहोस्, हाम्रो जस्तो राजनीतिक प्रणाली भएको मुलुकमा विभिन्न सवालमा अरू पार्टीको सहयोग लिन जान्नुपर्छ । तर भिन्न पार्टीको कुरा के गर्नु, पार्टीभित्रकै एउटा गुटले मात्र देश चलाउन खोज्ने हो भने यसबाट मुलुकको बर्बादीबाहेक केही हात लाग्नेवाला छैन । आजको एक्काइसौँ शताब्दीको युगमा, अहिलेको नेपाली विशिष्टतामा सर्वशक्तिमान् नेताको सपना देख्नु लेनिनले भनेजस्तो ‘उल्टी गंगा’ बगाउने कुरा मात्र हो । 

नेपालको राजनीतिमा खासगरी ०७४ सालको स्थानीयदेखि केन्द्रसम्मको निर्वाचन अत्यन्त खर्चिलो र विकृत चरित्रको देखियो । निर्वाचनमा पार्टीले टिकट दिने तर सम्बन्धित उम्मेदवारले धेरै जीम्मेवारी वहन गर्नुपर्ने अनि अधिकतम रूपमा पैसाको परिचालनबाट चुनाव जित्नुपर्ने अवस्था सिर्जना हुन पुग्यो । स्थानीय तहको निर्वाचनमै निकै ठूलो रकम खर्च हुने भयो । यसले गर्दा कतिपय जिल्लामा पार्टीको योग्य उम्मेदवारभन्दा धेरै खर्च गर्न सक्ने व्यक्तिको खेजी हुन थाल्यो । व्यक्तिगत रूपमा खर्च गर्न नसक्ने उम्मेदवारले अमुक ठेकेदार या पुँजीपतिसँग गोप्य साँठगाँठ गर्नुपर्ने अवस्था सिर्जना भयो ।

केही ठाउँमा ठेकेदारलाई उम्मेदवार बनाउने सर्तमा अमुक नेताले मोटो रकम हात पार्ने अवस्था देखा पर्‍योे । यस किसिमको परिस्थितिले मुलुक ठगेर पैसा कमाउनेको महत्व बढ्यो । यस स्थितिलाई बदल्ने कसरी ? पार्टीमा गम्भीर छलफलको विषय बन्नुपर्छ । समाधानका अनेक उपाय नभएका होइनन् । यतिवेला नेपाली राजनीतिमा नेकपासामु देश र जनताको पक्षमा काम गर्ने प्रचुर सम्भावना छ, त्यसका लागि नियमित कामको समीक्षा गर्ने, गल्ती–कमजोरी सच्याउँदै अघि बढ्ने, सामूहिक र संस्थागत निर्णयको परिपाटीलाई स्थापित गर्दै जाने हो भने, समाजवादको लक्ष्यमा पुग्नु अवश्यंभावी छ ।