१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ७ मंगलबार ०७:५२:००
Read Time : > 1 मिनेट
सम्पादकीय

नेपाली समाजमा सम्बन्धविच्छेद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ७ मंगलबार ०७:५२:००

नेपाली समाजमा आइरहेको तीव्र परिवर्तनको एउटा सूचकका रूपमा लिन सकिने गरी यतिवेला सम्बन्धविच्छेदका मुद्दा बढिरहेको चितवन र मकवानपुर जिल्ला अदालतमा परेका पछिल्ला मुद्दाको प्रकृतिले देखाएको छ । मकवानपुरमा ०७५/७६ मा परेका कुल मुद्दामा २८ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा रहेको र चितवनमा पनि यो प्रतिशत एकचौथाइ रहेको देखिन्छ ।

गतवर्ष लागू भएको मुलुकी देवानी कानुनमा पुरुषले पनि सम्बन्धविच्छेदका लागि अदालतसमक्ष मुद्दा दिन सक्ने प्रावधान राखेपछि यसमा केही बढोत्तरी आएको भए पनि पछिल्लो समय सम्बन्धविच्छेद हाम्रो समाजको एउटा नयाँ प्रवृत्तिका रूपमा देखा परेको छ । यो समाजमा भित्रभित्र आएको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनको संकेत पनि हो ।

पछिल्लो समय नेपाली समाजले तीनवटा महत्वपूर्ण  पक्षमा तीव्र परिवर्तनको अनुभव गरेको छ । पहिलो– हाम्रो आर्थिक आधारमा आउँदै गरेको परिवर्तन । परम्परागत कृषि अर्थतन्त्र थला पर्दै गएको छ । आर्थिक उपार्जनका लागि घर या गाउँ छाडेर सहर पस्ने या बिदेसिनेको संख्या बढेको छ । यसरी सहर या विदेश पस्नेहरू पहिले पुरुष मात्र हुन्थे, अहिले महिला पनि बिदेसिने या जागिरमा जाने चलन ह्वात्तै बढेको छ ।

यसले एकातिर पहिलेजस्तो समाजसँग जोडिएर, एउटै कुलका मानिसले बन्ने टोल–समाजमा जेलिएर बस्नुपर्ने अवस्थाबाट नयाँ पुस्ता मुक्त भएको छ । अर्कातिर महिलाहरू आर्थिक रूपले पहिलेभन्दा स्वतन्त्र र आत्मनिर्भर हुन थालेका छन् । यस्तो अत्मनिर्भरताले पहिले लोग्नेले दुइवटी ल्याउँदा या हेला गर्दा पनि खुम्चिएर जीवन बिताउनुपर्ने बाध्यताबाट महिला स्वतन्त्र भएका छन् । यही आर्थिक परिवर्तनसँग मानिसले विश्वका अरू सभ्यता र संस्कृतिबाट जीवनप्रतिका धारणा पैँचो लिएका छन्, सिको गरेका छन् । शिक्षा र सञ्चारका साधनमाथिको पहुँच सरल बन्दै जाँदा आफ्नो जीवन र अरूहरूले बिताउँदै गरेको जीवनबीच तुलना गरेर जीवन त यसरी पनि जिउन सकिने रहेछ भनी मन बदल्न सजिलो भएको छ ।

बढ्दो सम्बन्धविच्छेदका मुद्दाले समाजमा भित्रभित्रै आएको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनको संकेत गरेका छन्

संयुक्त परिवारमा बाँधिने र बाध्यतामा बनेका सम्बन्धलाई जीवनको नियति मानेर स्विकार्नेहरू घट्दै जाँदा सामाजिक मूल्य–प्रणाली र संस्कृतिमा रूपान्तरण आएको छ । यसले एउटा पति या एउटी पत्नीसँगै जीवन जिउनुपर्ने मान्यतालाई खण्डित गरेको छ । अर्थात्, सांस्कृतिक पक्षमा परिवर्तन आएको छ, जुन दोस्रो परिवर्तन हो । यिनै आधारमा आएका परिवर्तनसँगै समाजमा स्त्री–पुरुषबीचको शक्ति सम्बन्ध बदलिएको छ । यसलाई राजनीतिमा आएको परिवर्तनले भरथेग गरेको छ ।

संविधान  र कानुनमा महिला र पुरुषबीच समानता र स्वतन्त्रताको पक्ष जोडदारसँग समावेश गरिएको छ । यद्यपि परम्परागत मूल्य प्रणाली र व्यवहारमा शक्ति सम्बन्धमा पूरै फेरबदल आइसकेको छैन, जसले अझै पनि महिलालाई बढी पीडित बनाउने गरेको छ । तैपनि, राजनीतिक क्षेत्रमा आएका परिवर्तन तेस्रो त्यस्तो शक्ति हो, जसले समान सम्बन्ध रहेन र कतै न कतै जीवन सँगै जिउन सकिन्न भन्ने लाग्यो भने सहजै सम्बन्धविच्छेदमा जाने कुरालाई समाजले स्वीकार गर्न थालेको छ ।

यो आफैँमा नराम्रो भने होइन । तर, यसले परिवारमा ल्याउने विखण्डनपछि ससाना बालबालिका, महिला र पुरुषले व्यहोर्नुपर्ने समस्या र सामाजिक लाञ्छनाका कारण झेल्नुपर्ने आर्थिक र मानसिक चुनौती भने जटिल छन् । यस्तो अवस्थाबाट परिवारलाई पर्न सक्ने प्रभाव न्यूनीकरणका उपायतर्फ भने राज्य र समाजले  अहिल्यैदेखि सोच्न जरुरी छ ।