१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ७ मंगलबार ०७:३४:००
Read Time : > 1 मिनेट
सप्तरंग

नेपाली फिल्म कम हेर्छु :निशान भट्टराई

फिल्म संवाद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ७ मंगलबार ०७:३४:००

नेपाली फिल्म कत्तिको  हेर्नुहुन्छ ?
तुलनात्मक रूपमा नेपाली फिल्म कम हेर्छु । तर, राम्रा फिल्म हेर्न छुटाउँदिनँ ।

कस्ता फिल्म छुटाउनुहुन्न ?
राम्रो फिल्म बन्नका लागि आवश्यक कुराहरू भनेको राम्रो कथावस्तु, अभिनय र निर्देशकीय पक्ष हुन् । यी तीन गुण मिल्दा राम्रो फिल्म बन्छ । मलाई यी पक्ष राम्रा छन् भन्ने लाग्यो भने छुटाउँदिनँ । 

कस्तो कथावस्तु समेटिएको राम्रो हो ?
व्यक्तिअनुसार बुझाइ र रुचि फरक हुन्छ । हास्यशैली, गम्भीर अथवा सामान्य जस्तोसुकै ढंगले प्रस्तुत गरिए पनि त्यसले समाजमा सकारात्मक सन्देश दिने खालको हुनुपर्छ । हुन त फिल्म हेर्ने भनेको मनोरञ्जनका लागि हो । सबैले सन्देश नै दिनुपर्छ भन्ने पनि होइन । सकारात्मक सन्देश दिन नसके पनि नकारात्मक सन्देश दिने खालका फिल्मचाहिँ बन्नु हुँदैन भन्ने लाग्छ । मचाहिँ रमाइलोका साथै सन्देशमूलक फिल्म हेर्न रुचाउँछु । सकारात्मक समाज निर्माणका लागि फिल्मको महत्वपूर्ण योगदान हुन्छ । कुनै पनि फिल्म हेरिसकेपछि मनमा सकारात्मक भावना पलाओस्  भन्ने लाग्छ ।

आफैँले गीत गाएको फिल्म हेर्नुहुन्छ ?
हेर्छु । तर, मैले गीत गाएको छु भनेर मात्रै हेर्न जाँदिनँ । गीत गाउँदा नै फिल्म कस्तो हो भन्ने हल्का थाहा हुन्छ । मलाई यो फिल्मचाहिँ राम्रो बनेको छ भन्ने लाग्यो भने हेर्न जाने गरेको छु । 

गीत हिट भयो भने फिल्म पनि चल्छ भनिन्छ । त्यस्तो लाग्छ ?
अवश्य पनि फिल्म चल्नु/नचल्नुमा गीतको केही भूमिका हुन्छ । कुनै पनि गीत कथावस्तुसँग सम्बन्धित नै हुन्छ । गीत हिट हुँदा केही मात्रामा दर्शक हलसम्म तानिन्छन् भन्ने मलाई पनि लाग्छ । तर, गीत राम्रो भएको फिल्म राम्रो नै हुन्छ भन्नेचाहिँ हुँदैन । 

व्यक्तिअनुसार बुझाइ र रुचि फरक हुन्छ । हास्यशैली, गम्भीर वा सामान्य जस्तोसुकै ढंगले फिल्म प्रस्तुत गरिए पनि त्यसले समाजमा सकारात्मक सन्देश दिनुपर्छ ।

तपाईंलाई म्युजिक भिडियोमा त दर्शकले रुचाइरहेका छन् । फिल्म खेल्ने अफर आएको छैन ?
आफ्नै गीतको म्युजिक भिडियोमा मात्रै अभिनय गरिरहेको छु । दर्शकले माया पनि गरिरहनुभएको छ । खुसी लाग्छ । तर, फिल्ममा अभिनय गर्ने अफरचाहिँ अहिलेसम्म आएको छैन । 

अफर आयो भने खेल्नुहुन्छ ?
अभिनयभन्दा पनि गायनमा म रमाउँछु । आफ्नै गीतमा मात्रै अभिनय गरिरहेको छु र गर्छु । अभिनय त्यसमा पनि फिल्म मेरो लागि होइन । म गाउनकै लागि हो । मेरो त्यही खुबीले गर्दा आज यहाँ छु । फिल्ममा गीतचाहिँ गाइरहन पाऊँ । त्योभन्दा बाहेक सोचेको छैन । फिल्ममा अभिनय गर्ने रुचि छैन ।