१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ श्रावण ७ मंगलबार ०७:००:००
Read Time : > 1 मिनेट
समाचार

रसुवामा कामदारको ज्याला निर्धारण

ढुवानी एवं निर्माण सामग्रीको पनि दररेट तोकियो

Read Time : > 1 मिनेट
२०७६ श्रावण ७ मंगलबार ०७:००:००

चालू आर्थिक वर्ष २०७६/०७७ का लागि रसुवामा कामदारको ज्याला, ढुवानी एवं निर्माण सामग्रीको दररेट निर्धारण गरिएको छ । जिल्लाको दररेटमा एकरूपता ल्याउन सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४८ बमोजिम दररेट निर्धारण गरिएको हो । जिल्ला दररेट निर्धारण समितिका अनुसार गत वर्षको दररेटमा यो वर्ष पाँचदेखि करिब १५ प्रतिशत वृद्धि गरिएको छ । जिल्लाको दररेटमा उल्लेख भएको निर्माण सामग्रीबाहेक अन्य निर्माण सामग्रीको हकमा नुवाकोट तथा काठमाडौंको दररेटलाई आधार मानी ढुवानी भाडा जोडी मूल्य कायम गर्ने निर्णय गरिएको छ । 

त्यस्तै, वर्षामा काम गर्दा ज्याला तथा ढुवानीमा २० प्रतिशत र जटिल र जोखिमपूर्ण कार्य गराउँदा बढीमा ५० प्रतिशत बढाउन सकिने निर्णय गरिएको छ । त्यस्तै, विभिन्न कार्यालयका लागि जिप, कार बढीमा पाँच दिनका लागि सवारी इन्धन र जनशक्तिसहित प्रतिदिन आठ हजार भाडामा लिन सकिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । 

कहाँ–कस्तो दररेट ?
कालिका उत्तरगया नौकुण्ड गाउँपालिककाको साबिकको यार्साबाहेक डकर्मी, सिकर्मी, बज्रकर्मी, लोहाकर्मी, नकर्मी, प्लम्बर, वेल्डर, इलेक्ट्रिसियन चित्रकार आदि दक्ष कामदारका लागि प्रतिदिन एक हजार २५ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, ज्यामिका लागि सात सय २५ रुपैयाँ, अर्धदक्ष कामदारका लागि आठ सय ७५ रुपैयाँ कायम गरिएको छ । गत वर्ष दक्ष कामदारका लागि नौ सय १० रुपैयाँ कायम गरिएको थियो भने ज्यामीका लागि ६ सय १० र अर्धदक्ष कामदारका लागिसात सय ८५ रुपैयाँ कायमगरिएको थियो ।

 धुन्चेभन्दा उत्तरी क्षेत्र साबिकको धुन्चे, यार्सा, स्याफ्रु, बृद्धिम, टिमुरे, थुमन, गोल्जुङ, चिलिमे, गतलाङ र हाकु गाविसका डकर्मी, सिकर्मी, बज्रकर्मी, लोहाकर्मी, नकर्मी, प्लम्बर, वेल्डर, इलेक्ट्रिसियन चित्रकार आदि दक्ष कामदारको एक हजार एक सय कायम गरिएको छ । त्यस्तै, ज्यामीका लागि एक सय  र अर्धदक्ष कामदारका लागि आठ सय ५० रुपैयाँ कायम गरिएको छ । गत वर्ष दक्ष कामदारका लागि एक हजार १५ रुपैयाँ कायम गरिएको थियो भने ज्यामीको सात सय ३५ र अर्धदक्ष कामदारको सात सय ८५ रुपैयाँ कायम गरिएको थियो । 

साबिकको लाङटाङ गाविस र स्याफ्रु गाविसको गोसाइँकुण्ड क्षेत्रका डकर्मी, सिकर्मी, बज्रकर्मी, लोहाकर्मी, नकर्मी, प्लम्बर, वेल्डर, इलेक्ट्रिसियन चित्रकार आदि दक्ष कामदारका लागि एक हजार सात सय ७० रुपैयाँ कायम गरिएको छ । त्यस्तै, ज्यामीका लागि एक हजार ३ सय ४१ र अर्धदक्ष कामदारका लागि एक हजार पाँच सय ४८ रुपैयाँ कायम गरिएको छ । गत वर्ष दक्ष कामदारका लागि एक हजार ६ सय ८६ कायम गरिएको थियो भने ज्यामीको एक हजार दुई सय ७७ र अर्धदक्ष कामदारका लागि एक हजार पाँच सय ४८ रुपैयाँ कायम गरिएको थियो ।