मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
किरण दहाल काठमाडौं
२०७६ श्रावण ७ मंगलबार ०७:०७:००
Read Time : > 1 मिनेट
समाचार

विज्ञापन विधेयकबाट  क्लिनफिड हट्दैन : सञ्चारमन्त्री

Read Time : > 1 मिनेट
किरण दहाल काठमाडौं
२०७६ श्रावण ७ मंगलबार ०७:०७:००

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विज्ञापन विधेयकबाट ‘क्लिनफिड’ नहट्ने बताएका छन् । ‘विकास तथा प्रविधि’ समितिको सोमबारको बैठकमा मन्त्री बाँस्कोटाले ‘क्लिनफिड’को व्यवस्था हटाएर विधेयक अघि बढ्नै नसक्ने जानकारी गराए । ‘विज्ञापन विधेयकमाथि सयपटक छलफल गरे पनि क्लिनफिड हट्दैन,’ उनले भने । 

‘विज्ञापन नियमन गर्ने सन्दर्भमा व्यवस्था गर्न बनेको विधेयक, ०७५’ गत १० माघमा राष्ट्रिय सभामा प्रस्तुत भएको थियो । अहिले विधेयक संसदीय समितिअन्तर्गतको विकास तथा प्रविधि समितिमा छलफलरत छ । विधेयकको दफा ६ मा विज्ञापनरहित प्रकाशन वा प्रसारण गर्नुपर्ने सम्बन्धमा व्यवस्था गरिएको छ । 

के छ विधेयकमा ?
विधेयकको दफा ६ को उपदफा १ मा भनिएको छ, ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्नेछ ।’ यसै दफाको उपदफा २ मा भनिएको छ, ‘विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ, गरी प्रसारण गर्न पाइनेछैन ।’ 

संशोधन प्रस्ताव हालेकोमा असन्तुष्टि
बैठकमा विधेयकमा उल्लेखित व्यवस्थाबारे सांसद लक्ष्मणलाल कर्ण, एकवाल मियाँले संशोधन प्रस्ताव राखेका थिए । क्लिनफिड व्यवस्थाप्रति संशोधन प्रस्ताव राखेकोमा मन्त्री बाँस्कोटाले असन्तुष्टि व्यक्त गरे । ‘संशोधन राख्न पाउनु अधिकारको कुरा हो । तर, सरकार संशोधन गर्ने पक्षमा छैन । कानुन नै त्यही व्यवस्था गर्न ल्याएको हो, मुख्य कुरा नै हटाउनु भनेपछि कानुनलाई खोस्टोमा परिणत त गर्न सकिँदैन,’ उनले भने । मन्त्री बाँस्कोटाले बैठकमा संशोधन फिर्ता लिन सांसदहरूलाई आग्रहसमेत गरे । क्लिनफिडको विषयमा खासै असन्तुष्टि नभएको उनको भनाइ थियो । 

भारत र अमेरिकामा लागू भएको छ, नेपालमा किन हुन सक्दैन ?
मन्त्री बाँस्कोटाले बहुराष्ट्रिय कम्पनी, मिडिया, कलालगायतका क्षेत्रमा क्लिनफिडसम्बन्धी खासै असन्तुष्टि नदेखिएकाले विरोध गरिरहनुपर्ने आवश्यकता नभएको बताए । बाह्य देशमा पनि प्रकाशन–प्रसारणमा क्लिनफिडको व्यवस्था भएकाले नेपालमा यसको आवश्यकता रहेको उनको भनाइ थियो । ‘भारतमै लागू भएको छ । अमेरिकाले पनि प्रयोगमा ल्याइरहेको छ । त्यसैले हामी पनि यस विषयमा दृढतापूर्वक उभिनुपर्छ,’ उनले भने ।

विदेशी च्यानलको विज्ञापन नेपालमा डबिङ गर्न नपाउने बाँस्कोटाको भनाइ थियो । ‘बहुराष्ट्रिय कम्पनीले नेपालमै आएर विज्ञापन गर्नुपर्छ । साहस देखाउने विज्ञापन नेपालको सगरमाथामा भन्दा अन्त राम्रो हुनै सक्दैन । कोकाकोलालाई साहसको प्रतीक मानेर विज्ञापन गरिन्छ भने हिमाल चढ्ने कुराचाहिँ हाम्रो सगरमाथाकै फेदीमा चढेको बनाउनु परेको छ । त्यहाँ प्रयोग हुने कलाकार पनि नेपाली हुनुपर्‍यो,’ उनले भने ।

विकास तथा प्रविधि समितिको १७ असारकै बैठकमा मन्त्री बाँस्कोटाले विधेयक राम्रो भएकाले छिटो पास गरिहाल्नुपर्ने धारणा राखेका थिए । ‘विधेयक नेपालको हितमा भएकाले संसद्बाट छिट्टै पारित गर्नुपर्छ । समितिले पनि यसलाई छिट्टै टुंगो लगाइदिनु भए राम्रो हुन्थ्यो,’ उनको भनाइ थियो । समितिको सोमबारको बैठकमा पनि मन्त्री बाँस्कोटाले क्लिनफिड नेपालको हितमा रहेको जिकिर गरे ।