मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ श्रावण ७ मंगलबार ०६:०६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

११ साउनमा लगाउन तयार  खोप पानीले डुबायो

सरकारले गुहार्‍यो दाता

Read Time : > 1 मिनेट
२०७६ श्रावण ७ मंगलबार ०६:०६:००

असार २८ र २९ गतेको वर्षापछि आएको बाढीले महोत्तरीमा बालबालिकालाई लगाउन तयार राखिएको भ्याक्सिन बिगारेको छ । महोत्तरी स्वास्थ्य कार्यालयभित्र पसेको पानीले त्यहाँको स्टोरमा राखिएका विभिन्न प्रकारका आठ हजार आठ सय तीनवटा खोप डुबेको हो । ठूलो मात्रामा भ्याक्सिन नष्ट भएपछि साउन ११ गतेदेखि लगाइने नियमित खोप प्रभावित हुने देखिएको छ । 

परिवार कल्याण महाशाखाका खोप अधिकृत भरत भण्डारीले बाढीका कारण ठूलो परिमाणमा भ्याक्सिन बिग्र्रिएको बताए । ‘एक महिनाका लागि भ्याक्सिन भण्डारण गरिएको थियो,’ उनले भने, ‘अधिकांश बिग्रेका छन् ।’ उनका अनुसार स्टोर तीन फिटसम्म डुबेको थियो । बाढीबाट जिल्ला स्वास्थ्य कार्यालयमा रहेका १० वटामध्ये सातवटा रेफ्रिजेरेटर बिग्रेका छन् । हाल तीनवटा मात्रै रेफ्रिजेरेटर सञ्चालनमा रहेको भण्डारीले बताए । कार्यालयमा रहेका दुईवटै जेनेरेटर पनि बिग्रेका छन् । जेनेरेटर दुईवटा रहेकोमा सबै बिग्रिएको छ । 

दातासँग सरकारले माग्यो सहयोग
आठ प्रकारका भ्याक्सिन डुबेपछि ११ गतेबाट खोप कार्यक्रम सञ्चालन गर्न सरकारले दातासँग सहयोग मागेको छ । आवश्यक खोप खरिद गर्न प्रक्रियामा जाँदा समय लाग्ने भन्दै सरकारले दाता गुहारेको हो । 

कति खोप बिग्रेका हुन् र कतिलाई आंशिक रूपमा प्रयोग गर्न मिल्छ भन्नेबारे अनुगमन गर्न दातासहितको टोली सोमबार महोत्तरी गएको छ । टोलीमा परिवार कल्याण महाशाखा, विश्व स्वास्थ्य संगठन, युनिसेफ, प्रादेशिक स्वास्थ्य निर्देशनालय र प्रादेशिक आपूर्ति केन्द्रका प्रतिनिधि छन् । 

‘कतिपय भ्याक्सिन आंशिक रूपमा सञ्चालन गर्न मिल्नेछन्, तर त्यसको अनुगमन गर्नुपर्ने भएको छ,’ भण्डारीले भने । उनले विराटनगर र जनकपुरबाट भ्याक्सिन ल्याएर भए पनि महोत्तरीमा खोप लगाइने बताए । 

यस्तो छ भ्याक्सिनको अवस्था

  • बिसिजी जम्मा एक हजार १५ रहेकोमा एक सय १५ लगाउन नमिल्ने गरी बिग्रिएको छ । नौ सयवटा शंकास्पद छ । 
  • पेन्टा एक हजार २० रहेकोमा २० बिग्रिएको र एक हजार शंकास्पद । 
  • पिभिसी तीन हजार ४० रहेकोमा एक सय ४० बिग्रेको, २९ सय शंकास्पद । 
  • ओपिभी नौ सय ६५ रहेकोमा १० बिग्रेको, नौ सय ५५ शंकास्पद । 
  • एफआइपिभी सात सय १२ रहेकोमा एक सय दुई बिग्रेको, ६ सय १० शंकास्पद । 
  • एमआर एक हजार ३६ रहेकोमा दुई बिग्रेको, एक हजार ३४ शंकास्पद । 
  • जेई एक सय १० रहेकोमा २० बिग्रेको, नौ सय ९० शंकास्पद । 
  • टिडी नौ सय पाँच रहेकोमा पाँच बिग्रेको, नौ सय शंकास्पद ।