१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ श्रावण ७ मंगलबार ०६:१३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

हस्तान्तरणअगावै भाँचियो चार करोडमा बनेको पुल

पुरेको माटोमाथि पुल बनाउँदा दुवैतर्फको भाग छुट्टियो

Read Time : > 1 मिनेट
२०७६ श्रावण ७ मंगलबार ०६:१३:००

काभ्रेको रोशी नदीमा बनेको पुल हस्तान्तरणअगावै भाँचिएको छ । पुरेको माटोमाथि पुल ठड्याउँदा वारि र पारि नै भाँचिएको हो । पनौती नगरापालिका वडा नम्बर १० र ११ लाई जोड्ने ३५ मिटर लम्बाइको पुल शैलुङ/वन्दना भगवती जेभी निर्माण कम्पनीले चार करोड चार लाख ५८ हजार लागतमा निर्माण गरेको हो । पुल चाँडै स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी थियो ।

संघीय सरकारको पुल सडक कार्यक्रमअन्तर्गत निर्माण भएको पुलको प्राविधिक सहयोग स्विस सरकारको थियो । पुल निर्माण भएपछि पनौती नगरपालिका वडा नम्बर ११ को बल्थली, बेथानचोक गाउँपालिकाको भुग्देउ, रोशी गाउँपालिकाको महादेवटार, नमोबुद्ध नगरपालिकाको केही वडाले समेत प्रयोग गर्न सक्नेछन् ।

सनथान, साल्मीटार बल्थली सडकमा निर्माणाधीन रोशी–बल्थली पुल ठेकेदारको लापरबाहीले भाँचिएको पनौती नगरपालिका–११ का वडाध्यक्ष तारामान तामाङले बताए । ठेकेदारले पुलको वारि र पारि नै पुरुवा माटोमाथि राखेकाले भासिएर भाँचिएको उनको भनाइ छ । ‘काम गरेपछि पक्का र दिगो गर्नुपर्नेमा ठेकेदार कम्पनीले बजेट सकाउने र स्थानीयको आँखामा छारो हाल्ने काम मात्र गर्‍यो,’ तामाङले भने । पनौती नगरपालिकाका नगरप्रमुख भीम न्यौपानेलाई पनि बोलाएर भाँचिएको पुल देखाइसकेको उनले बताए । 

 स्थानीय रामप्यारी केसी भन्छिन्, डिजाइनमै यस्तै छ भनेर हप्काए
स्था
नीयवासी आफूहरूले ठेकेदार कम्पनीलाई पुल राम्रो बनाउन आग्रह गर्दा उल्टै झपारेको बताउँछन् । पुल भाँचिनुमा ठेकेदार कम्पनीकै चरम लापरबाही रहेको स्थानीय रामप्यारी केसीले बताइन् । ‘हामीले पहिले नै भनेका थियौँ पुल बनाएको भएन, फुक्को माटोमा यसरी स्ल्याब राख्न भएन भन्दा बनाउने मान्छेले डिजाइनमै यस्तै छ भने । मलाई पनि मन परेको थिएन, मन नपर्दा–नपर्दै भाँचियो,’ उनले भनिन् ।

 ठेकेदार कम्पनीले अटेर गर्‍यो : पूर्वाधार विकास कार्यालय
पूर्वाधार विकास कार्यालय काभ्रेका इन्जिनियर चन्द्र भट्ट पुलको काम हँुदाहुँदै फिलिङ राम्रो भएन भनेर आफूले सुझाएको बताउँछन् । निर्माण कम्पनीलाई जानकारी गराउँदा–गराउँदै पनि अटेर गरी काम गरेका कारण भाँचिएको उनको भनाइ छ । ‘हामीले पहिला पनि भनेका थियौँ, फिलिङ राम्रो भएन भनेर, तर मान्नु भएन अहिले यस्तो भयो,’ इन्जिनियर भट्टले भने, ‘निर्माण सम्पन्न भएपछि पनि एक वर्षसम्म मर्मत–सम्भार गर्ने जिम्मा निर्माण कम्पनीको हुने सम्झौता छ, त्यसकारण हामीले चिठी पठाइसकेका छौँ, ठेकेदार कम्पनीले मर्मत गर्नैपर्छ ।’

पुल निर्माण कम्पनी शैलुङ/वन्दना भगवती जेभीका प्रतिनिधि विनोद रूपाखेतीले वर्षाका कारण बाढीले भासिएको दाबी गरे । माटो फिलिङ गरेरै पुलको दुवैछेउमा साढे तीन मिटरको एप्रोस्ल्याब राखे पनि भत्केको बताए । ठेकेदार कम्पनीले साढे ३५ मिटर लम्बाइको पुलसहित वडा नम्बर ११ तर्फ दुई मिटर सडक र वडा नम्बर १० तर्फ तीन मिटर सडक निर्माण गर्नुपर्ने सम्झौता छ ।