मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ श्रावण ६ सोमबार १३:१३:००
Read Time : > 1 मिनेट
प्रदेश

‘रक गार्डेन’मा पर्यटक आकर्षित

Read Time : > 1 मिनेट
२०७६ श्रावण ६ सोमबार १३:१३:००

रोल्पा नगरपालिकाको सातदोबाटोमा निर्माण गरेको ‘रक गार्डेन’ आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।  यसअघि ‘पिकनिक स्पट’को रूपमा रहेको सातदोबाटोलाई नगरपालिकाले ढुंगे बगैचाको रूपमा विकास गर्न लागेको हो । 

रोल्पा नगरपालिकाको खुमेल सातदोबाटोमा ‘रक गार्डेन’ निर्माणपछि सातदोबाटोमा चहलपहल बढेको खुमेलका वडाअध्यक्ष इन्द्रबहादुर थापाले बताए । पर्यटकीय क्षेत्र निर्माणका लागि सातदोबाटो क्षेत्रमा अवस्थित ढुंगाबाट बनेको प्राकृतिक स्वरूपलाई ‘रक गार्डेन’को रूपमा निर्माण गरिएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए । ‘रक गार्डेन’ निर्माणपछि यहाँ पुग्ने र प्राकृतिक एवं कृतिम सौन्दर्यतामा रमाउनेहरूको संख्या बढ्दो मात्रामा रहेको केसी बताउँछन् ।

‘रक गार्डेन’को आकर्षण
नगरपालिका–३ खुमेलको सातदोबाटो क्षेत्र मनमोहक छ । प्राकृतिक रूपमै बनेका ढुंगाका विभिन्न आकृति नै पर्यटकलाई आकर्षण गरेको हो । त्यसका साथै ठूला काठकै आकृतिमा बनेका बस्ने ठाउँहरू पनि आकर्षक रूपमा राखिएका छन् । त्यसका साथै मिलेर बसेका वरिपरिका पहाड, टाढाटाढा देखिने विभिन्न हिमशृंखला र अन्य वन उद्यान पनि आकर्षण बनेका छन् । गर्मी समयमा पनि चिसो हुने भएकाले भएकाले घुम्नका लागि निकै उत्तम क्षेत्रको रूपमा मानिँदै आएको छ । 

प्रकृतिजन्य कुरालाई प्रचारप्रसार गर्दै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लागिएको नगरप्रमुख पूर्ण केसीले बताए । ‘सातदोबाटोको प्राकृतिक सौन्दर्यतालाई संरक्षण र प्रवद्र्धन गर्दै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजनामा छौँ’ नगरप्रमुख केसीले भने ‘प्राकृतिक सौन्दर्य त छँदैछ, केही ऐतिहासिकता झल्किने गरी कृतिम कुरा पनि बनाउने योजनामा छौँ, जसका लागि आवश्यक गृहकार्य भइरहेको छ ।’ करिब ५/६ महिनामै ‘रक गार्डेन’को प्रारम्भिक कामहरू पूरा गरेको केसीले बताए । अहिलेसम्म सो क्षेत्र पुग्ने बाटो, मुख्य प्रवेश गेट, वृक्षरोपण, बसाइँ व्यवस्थापन तथा रूखको रंगरोगनको काम सकिएको छ । रोल्पा नगरपालिकाको ४ लाख र डिभिजन वन कार्यालय रोल्पाको १० लाख गरी जम्मा १४ लाखको लागतमा पहिलो चरणको निर्माण कार्य सम्पन्न भएको डिभिजन वन कार्यालय रोल्पाले जनाएको छ ।

सातदोबाटो क्षेत्रमै नेपालकै अग्लो भ्युटावर निर्माण कार्य सुरु गर्ने तयारी छ । नेपालमा अहिले एक सय आठ फिटसम्म बनेको र सातदोबाटोमा एक सय १० फिटको भ्युटावर निर्माण गर्ने नगरप्रमुख पूर्ण केसीले बताए । त्यसका साथै धार्मिक मन्दिर, स्थानीय संस्कार संस्कृतिसँग सम्बन्धित कुनै ठूलो आकृति, युद्ध झल्काउने खालको आकृतिलगायतका निर्माण गरिने केसीले बताए । करिब २१ सय मिटर उचाइमा रहेको सातदोबाटोलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गरी नगरपालिकाले प्राथमिकता दिएको केसीको भनाइ छ ।

पानी, शौचालय र फोहोर व्यवस्थापन आवश्यक
‘रक गार्डेन’ घुमेपछि पिउने पानी, शौचालय र फोहोर व्यवस्थापनका लागि तत्कालै पहल गरिनुपर्ने स्थानीयको भनाइ छ । सातदोबाटो, गुरुङगाउँ होमस्टे, जलजला पदयात्रालगायतका कुरालाई प्याकेजिङ गरी प्रचारप्रसार गर्नुपर्ने उनीहरूको भनाइ छ । घुम्न आउनेहरूबाट न्यूनतम शुल्क लिएर भए पनि व्यवस्थापकीय पक्षलाई सुधार गर्नुपर्ने र कलात्मक आकृतिहरू निर्माण गरी मनमोहक बनाउन सकिने अवस्था छ । प्राकृतिक, धार्मिक र युद्ध पर्यटनको त्रिकोणात्मक गन्तव्यको रूपमा सातदोबाटोको विकास गर्न सकिने लिबाङका केबी डाँगीले बताए । भौगोलिक बनावट, हावापानी, सडक सञ्जाल सबै कुराको पहुँच भएकाले पनि पर्यटकीय गन्तव्य बन्ने डाँगीले बताए ।