१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ श्रावण ६ सोमबार १२:३५:००
Read Time : > 1 मिनेट
प्रदेश

सेनाद्वारा खानेपानी आयोजना निर्माण

Read Time : > 1 मिनेट
२०७६ श्रावण ६ सोमबार १२:३५:००

‘आर्सेनिकयुक्त पानीले बिरामी पथ्र्यौँ, कपडा धुँदा पनि पहेँलोले रङ नै फेरिन्थ्यो,’ सप्तरी महादेवा गाउँपालिका–२ महादेवाकी ५१ वर्षीया कासीदेवी ठाकुरले भनिन् ‘अहिले धारामा आउने राम्रो पानी खान पाउँदा बिरामी हुन छाड्यौँ, कपडा पनि सफा हुन्छन् ।’

सोही गाउँका ७५ वर्षीय विश्वनाथ राउतको भनाइ पनि ठाकुरकै जस्तो छ । ‘आर्सेनिक मिसिएको पानीले सिंगो गाउँ नै प्रभावित थियो, स्थानीय सरकारलाई धेरैपल्ट गुहार्‍यौँ, तर सुनेनन्,’ उनले भने, ‘नेपाली सेनाले स्वच्छ खानेपानीका लागि गाउँभरि धारा निर्माण गरिदिएको छ । सेनाले लगाएको गुन कहिल्यै बिर्सिदैनौँ ।’ सेनाले महादेवामा खानेपानी र विद्यालयको पर्खाल निर्माण गरेपछि स्थानीय खुसी भएका छन् ।

प्रितनापतिद्वारा उद्घाटन
धनुषा धारापानीस्थित मध्यपूर्वी प्रितनाअन्तर्गत सिरहाको चोहर्वास्थित २७ नं. बाहिनी अड्डाद्वारा निर्मित १० हजार लिटर क्षमताको ट्यांकीको प्रितनापति उपरथी नरेशचन्द्र भट्टले आइतबार उद्घाटन गरेका छन् । त्यसक्रममा उनले आयोजनाको साँचो स्थानीयलाई हस्तान्तरण गरे । कार्यक्रमलाई सम्बोधन गर्दै भट्टले योजना सञ्चालन र मर्मतसम्भारमा ध्यान दिन स्थानीयलाई आग्रह गरे । 

सेनाको ‘सैनिक–नागरिक सम्बन्ध सुदृढीकरण’अन्तर्गत शीघ्र प्रभाव परियोजनाअनुसार ३५ लाख रुपैयाँ बजेटमा महादेवा गाउँमा करिब पाँच सय परिवारलाई पुग्ने गरी खानेपानी आयोजना निर्माण गरिएको हो ।

दुई सय ४० फिट गहिरो डिप बोरिङ, ३० फिट अग्लो आरसिसी ओभरहेड ट्यांकी निर्माण गरेर पानी वितरण सुरु गरिएको छ । त्यही ट्यांकीमार्फत हरेक ३८ घरलाई लक्षित गरी स्वच्छ खानेपानीका लागि गाउँका विभिन्न ठाउँमा १३ वटा धारा जडान गरिएको नं. २७ बाहिनी अड्डाका प्रमुख सहायक रथी बाबुराम श्रेष्ठले जानकारी दिए । 

पाँच सय परिवारलाई झुल
खानेपानी आयोजना र विद्यालय पर्खाल हस्तान्तरण कार्यक्रममा प्रितनापति भट्टले स्थानीय गरिब, विपन्न, असहाय १० परिवारलाई दुई–दुई थानका दरले २० थान सुपानेट झुलसमेत वितरण गरेका छन् । सिंगो गाउँका करिब पाँच सय परिवारलाई हजार थान झुल वितरण गर्ने योजना भए पनि समयको चापका कारण अर्को दिन घर घरमै पुगेर झुल दिने योजना रहेको सहायक रथी श्रेष्ठले बताए ।

पाठ सिक्यौँ : गाउँपालिका अध्यक्ष
कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरीक्षक मनोजकुमार यादव, छिमेकी तिलाठी–कोइलाडी गाउँपालिकाका अध्यक्ष सतीशकुमार सिंहलगायतको उपस्थिति थियो । कार्यक्रममा महादेवा गाउँपालिकाका अध्यक्ष दीपककुमार यादवले भने स्थानीय सरकारले गर्नुपर्ने काम नेपाली सेनाले गरेको भन्दै सेनाको प्रशंसा गरे । ‘थोरै समयमा निर्माण सम्पन्न गरी सेनाले खानेपानी आयोजना हस्तान्तरण गरेको छ, त्यसबाट हामीले पनि पाठ सिकेका छौँ,’ उनले भने ।

हस्तान्तरण गरिएको आयोजनाको नियमित सञ्चालन र मर्मतसम्भारसँगै गाउँमा भौतिक पूर्वाधारको विकासका लागि स्थानीय सरकारले ध्यान दिने अध्यक्ष यादवले बताए ।