१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
घनश्याम श्रेष्ठ, पर्यटन व्यवसायी
२०७६ श्रावण ६ सोमबार १०:३७:००
Read Time : > 3 मिनेट
नयाँCity

पर्यटनका लागि हटकेक बन्दीपुर

सहर संवाद

Read Time : > 3 मिनेट
२०७६ श्रावण ६ सोमबार १०:३७:००

०१७ सालमा बन्दीपुरमा जन्मिएँ म । जीवनको लामो कालखण्ड त्यहीँ बिताएँ । सुरुमा बन्दीपुर व्यापारिक केन्द्र थियो । जब त्यहाँबाट सदरमुकाम दमौलीमा स-यो, धेरैजसो त्यहाँका व्यवसायी चितवन, डुम्रे, काठमाडैं लगायतका ठाउँमा तितर–वितर भए, तथापि बन्दीपुर बजार बाँकी नै थियो । प्रायः घर खाली थिए । मान्छेहरूले छाडेपछि पैसा दिएर घर कुर्ने मान्छे राख्नुपर्ने अवस्था आयो ।

माकुराको जालाले घर ढाकेका थिए । मान्छेविनाको घर बिस्तारै ढल्दै जान थाले । सबै सरकारी कार्यालय दमौली सरिसकेपछि मान्छे बन्दीपुर आउनै छाडे । कार्यालय नभएपछि मान्छेले रोजगारी पनि पाउन छाडे । कृषिमा खासै ध्यान दिइएन । एकाएक बन्दीपुर डेथ (मृत सहर) सिटीमा परिवर्तन भयो ।

त्यसको धेरै वर्षपछि अर्थात् ०४९ सालमा काठमाडौंमा बस्ने बन्दीपुरेहरूले बन्दीपुरलाई फेरि ब्युँताउने सोच बनाए । सोहीअनुरूप ‘बन्दीपुर सामाजिक विकास समिति’ भन्ने एउटा संस्था स्थापना भयो । समितिले बन्दीपुरको विकासमा केन्द्रित भयो । बन्दीपुर जसरी पनि पहिल्यैको स्वरूपमा फर्काउने मिसन थियो । 

बीचमा विकास भएर पनि सबै विनाश भएको सहर थियो बन्दीपुर । अहिले नारायणघाटको जुन मुख्य बजार छ, त्यो पुराना बन्दीपुरेहरूकै हो । बन्दीपुरकै रूपमा छ त्यो सहर । पछि गएर बन्दीपुर र डुम्रेमा बाटो बनाउन अजय मास्टरले सहयोग गर्नुभयो । हामी स्कुल पढ्दा त्यो बाटो खन्न गएका थियौँ । हामी बन्दीपुरेले उहाँलाई सम्झिन्छौँ । त्यो बाटो खन्दा बन्दीपुर बजारमा बिच्छ्याइएका ढुंगा बिग्रियो ।

०६० सालमा ‘बन्दीपुर इको कल्चर टुरिजम’ भन्ने परियोजना सुरु भयो । त्यो परियोजना बन्दीपुर सामाजिक विकास समितिद्वारा ग्रिस र इटलीको सहयोगमा सञ्चालन भएको थियो । परियोजनमार्फत हामीले ढुंगा बिच्छ्याएर बन्दीपुर बजारमा गाडीलाई निषेध गरायोैँ । त्यसपछि बल्ल बन्दीपुर पहिलाको स्वरूपमा आयो । अहिले पनि निश्चि क्षेत्रबाहेक मुख्य बजारमा गाडी जान पाउँदैन । बजारमा हिँडेर नै जानुपर्छ । ०६०/०६२ मा म पनि त्यो संस्थाको अध्यक्ष बनेँ । केही नयाँ अवधारणाका लागि हामीले युरोपको पनि भ्रमण ग-यौँ । ग्रिसको हिदरा भन्ने ठाउँमा पनि ‘भेहिकल फ्री जोन’ रहेछ ।

बन्दीपुरको त्यो कन्सेप्ट त्यहाँ पाउँदा खुसी लाग्यो । युरोपको विकाससँग हामी केही नजिक रहेछौँ भन्ने अनुभूति भयो । काठमाडौंबाट १४० किमिमा पुगिन्छ बन्दीपुर । डुम्रेबाट सात किमि मात्रै उचाइमा छ । डुम्रेमा तराईमा जस्तो गर्मी भए पनि बन्दीपुरको हावापानी राम्रो छ ।

बन्दीपुरमा धुलिखेल र नगरकोटको जस्तै हावापानी हुन्छ । त्यहाँ नेवारी शैलीका घर छन् । तीन सय वर्षअघि भक्तपुरका नेवारहरू नै बन्दीपुरमा सरेका थिए । त्यसकारणले पनि त्यहाँ नेवारबस्ती छ । त्यो वेला पाटन र कीर्तिपुरका केही नेवार पनि सरेर त्यहाँ गएका थिए । उनीहरू जानुपूर्व त्यहाँ मगर बस्ती थियो । आफूहरू गइसकेपछि मगरहरूलाई माथि वा दायाँ–बायाँ सारेर नेवारहरूले भक्तपुरकै शैलीमा, भक्तपुरकै कालीगड लगेर घर निर्माण गरे ।

बन्दीपुर खड्गदेवी मन्दिरका लागि पनि चर्चित छ । तानसेनका राजा मणि मुकुन्दसेन बन्दीपुरमा पुगेर राज्य गरेको र बाइसे/चौबिसे राज्य जित्दै जाँदा सोही मन्दिरमा तरबार छोडेर गएको किंवदन्ती छ । दसैँको फूलपातीका दिन त्यो तरबारलाई कपडाले बेरेर बाहिर निकालिन्छ र खड्गयात्रा गरिन्छ ।

यात्रामा सबै जाति सहभागी हुन्छन् । त्यो धार्मिक सहिष्णुताको उदाहरण पनि हो । बन्दीपुर गुम्बा व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर गुरुङको प्रयासमा त्यहाँ एउटा गुम्बा पनि स्थापना गरिएको छ । ०६० सालमा पत्ता लगाएको ‘सिद्ध गुफा’ एसियाकै ठूलो गुफा मानिन्छ । गुफाकै कारण पनि सो क्षेत्र पर्यटकको आकर्षणको केन्द्र बनेको छ । 

बन्दीपुरमा धुलिखेल र नगरकोटको जस्तै हावापानी पाइन्छ । त्यहाँ नेवारी शैलीका घर छन् । तीन सय वर्षअघि भक्तपुरका नेवार बन्दीपुरमा बसाइँ सरेका थिए । त्यसवेला पाटन र कीर्तिपुरका केही नेवार पनि सरेर त्यहाँ गएका थिए ।

युरोपबाट ल्याएको परियोजनाले बन्दीपुरलाई धेरै प्रवद्र्धन ग-यो । त्यो परियोजनाको नारा ‘वान स्टप इन बन्दीपुर’ थियो । पोखरा जाँदा बन्दीपुरमा लन्च खाएर जाने र काठमाडौं आउँदा ब्रेकफास्ट खाएर फर्किने भन्ने अवधारणा लागू भएको थियो । पहिला–पहिला त्यहाँका मान्छे दायाँ–बायाँ व्यापार गर्थे । गुरुङहरू आउँथे, उनीहरू गुरुङ भाषा बोल्थे । तर, अहिले होम–स्टे सञ्चालनसँग त्यहाँका मानिस अंग्रेजी बोल्छन् । उनीहरू बहुभाषी भएका छन् र भाषिक विकास भएको छ । म संस्थापक भएको संस्था इएलसी नेपालले पनि विदेशी स्वयंसेवकलाई बन्दीपुर लगेर भाषिक र अन्य तालिम दिने गरेको छ । त्यसप्रति उनीहरू आकर्षित छन् ।

बन्दीपुरको विशेष खानेकुरामा पहिला सुन्तला थियो, तर अहिले छैन । त्यहाँ स्थानीय र अर्गानिक खाना पाइन्छ । बन्दीपुर कोदोको रक्सीका लागि पनि उत्तिकै प्रख्यात छ । त्यहाँ भ्रमण गर्नेले कोसेलीका रूपमा लोकल रक्सी लैजान्छन् । ‘लोकल’ कुखुराको मासुसहितको नेवारी खाना पाइन्छ त्यहाँ । होम–स्टेको सुविधा छ र खानाको मूल्यदर तोकिएको छ । बन्दीपुर माउन्टेन रिसोर्ट, गाउँघर, ओल्ड इनलगायत थुप्रै स्तरीय होटेल छन् त्यहाँ । डुम्रेबाट त्यहाँ पुग्न पक्की बाटो छ । त्यस्तै, राम्रो बेकरीको पनि सुविधा छ । पानीको उपयुक्त प्रबन्ध छ । युरोपेलीले बन्दीपुरलाई ‘नेपालको युरोप’समेत भन्ने गर्छन् ।

पछिल्लो समयमा जताततै डोजर चलाएर बाटो बनाउँदा बन्दीपुरको संरचना ध्वस्त पार्न थालिएको छ । योे विनाशको संकेत हो । यस्तो कार्य रोक्न सरकारी तहबाट पर्याप्त प्रयास गर्नुपर्ने देखिन्छ । स्थानीय सरकारले खटाएका मान्छेमा पर्यटनको ज्ञान हुनु जरुरी छ । बन्दीपुरजस्तो ऐतिहासिक र पर्यटकीय गन्तव्यका लागि सरकारले विशेष जोड दिनुपर्छ । 

कुनै वेला मृत भइसकेको बन्दीपुर ब्युँतिएर पर्यटनका लागि अहिले मुख्य गन्तव्यस्थल बनेको छ । अझ देशबाहिर बसेर नेपाल आएका नेपाली त बन्दीपुरको भ्रमण गरेरै छाड्छन् । बन्दीपुरमाथिको गुरुन्चे डाँडाबाट हेर्दा राक्षसजस्तै सुतिरहेको देखिन्छ बन्दीपुर सहर । वास्तवमा बजारको आकार पनि त्यस्तै छ । त्यहाँबाट लामो हिमशृंखलाको दृश्य अवलोकन गर्न सकिन्छ । आफूलाई ‘रिफ्रेस’ गर्न पनि अधिकांश मानिस बन्दीपुरको भ्रमण गर्छन् ।