१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
त्रैलोक्यराज अर्याल काठमाडाैं
२०७६ श्रावण ५ आइतबार ०९:५६:००
Read Time : > 6 मिनेट
दृष्टिकोण

के नेपाल महत्वपूर्ण हो ?

Read Time : > 6 मिनेट
त्रैलोक्यराज अर्याल काठमाडाैं
२०७६ श्रावण ५ आइतबार ०९:५६:००

चीन र अमेरिका दुवैका लागि हामी महत्वपूर्ण छौँ भन्ने आग्रहबाट मुक्त हुन सक्नुपर्छ, खोक्रो अभिमानलाई कायम राख्न हामी झुटो विश्वासमा बाँचिरहेका छौँ

नेपाली पत्रपत्रिकामा इन्डो–प्यासिफिक रणनीति र बिआरआईबारे समाचार र लेख नआएका दिन विरलै होलान् । ती लेख र समाचारका मुख्य सन्देश प्रायः उस्तै हुने गर्छन् । अमेरिका र चीन नेपालमा प्रभाव बढाउन र त्यसका लागि नेपाललाई खुसी पारेर आफ्नो पक्षमा उभ्याउन कडा प्रतिस्पर्धा गरिरहेछन् । यसैकारण नेपालको कूटनीति चुनौतीपूर्ण बनेको तर्क पनि गरिन्छ । धेरैजसो लेख र समाचारमा आफ्नो तर्क पुष्टि गर्न ती मुलुकले नेपाललाई गरेको आर्थिक सहयोग तथा नेपाल र ती मुलुकबीच हुने उच्चस्तरीय भ्रमणबारे लेख्छन् । अनि धेरैको निष्कर्ष हुने गर्छ– ‘इन्डो–प्यासिफिक रणनीतिको सदस्य नबनेर नेपालले चीनलाई धेरै ठूलो गुन लगाएको छ । असंलग्नता, शान्ति र स्वतन्त्रतामा आधारित परराष्ट्र नीतिलाई निरन्तरता दिन सकेको छ ।’ ‘चीनप्रति अत्यन्तै खराब नियत राख्ने अमेरिका नेपाललाई प्यासिफिक रणनीतिको हिस्सा बनाउन चाहन्छ, किनभने त्यसमा हाम्रो केन्द्रीय भूमिका हुन सक्छ’ भन्ने तर्क पनि गरिन्छ । ती समाचार र लेख पढ्ने पाठकलाई परिस्थिति गम्भीर रहेछ भन्ने लाग्न सक्छ । के वास्तविकता यस्तै हो त ? यसका लागि सबैभन्दा पहिला हामी चीन र अमेरिका दुवैका लागि धेरै नै महत्वपूर्ण छौँ भन्ने हाम्रो बलियो आग्रहबाट हामी मुक्त हुन सक्नुपर्छ । 

त्रैलोक्यराज अर्याल

वास्तविकता के हो भने विश्वमा हामी खासै महत्वपूर्ण छैनौँ । कुनै शक्तिशाली राष्ट्रलाई युद्धका वेला उपयोगी हुनका लागि चाहिने गरी हामी सैन्य र आर्थिक रूपमा सक्षम छैनौँ । यी मामिलामा हामी कमजोर छौँ । हाम्रा सैन्य अस्त्र अमेरिका, चीन र भारतमा पुरानो जमानामा प्रयोग गरिएका हतियारको संग्रह हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालबारे समाचार नियमित पढ्नेले याद गरेको हुनुपर्छ, ती समाचारका सुरु वा अन्त्यमा ‘नेपाल विश्वकै एउटा सबैभन्दा गरिब मुलुकमध्येमा पर्छ’ भनी उल्लेख गरिएको हुन्छ । तसर्थ वर्तमान विश्वमा हामी कसैका पनि महत्वपूर्ण साझेदार होइनौँ । र, अहिलेको जस्तो दूरावस्था कायम रहने वा बढ्ने हो भने कुनै पनि शक्तिका लागि दीर्घकालसम्मै कुनै महत्वको हुने छैनौँ । 

त्यसो हो भने चीन र अमेरिकाले आक्रामक रूपमा नेपालमा प्रभाव बढाउन प्रतिस्पर्धा गर्दै छन् भन्ने ‘कथा’ कहाँबाट सुरु हुन्छ त ? यस्ता भाष्यका स्रोत नाम चलेका र नचलेका केही विदेशी, खासगरी पश्चिमा थिंकट्यांक हुन् । धेरैजसो थिंकट्यांकका दाता खुफिया एजेन्सी, सैनिक सामग्रीका ठेकेदार र सम्बन्धित मुलुकका सरकार नै हुन्छन् । ती मुलुकलाई सुरक्षा बजेट बढाउनलाई एउटा दुस्मन वा शत्रुको आवश्यकता पर्छ । पश्चिमा मुलुकका सरकार र खुफिया एजेन्सीले चीनलाई चुनौतीका रूपमा बुझेकाले थिंकट्यांकले यस्ता निष्कर्षलाई प्राज्ञिक रूपमा सही प्रमाणित गरिदिनुपर्ने हुन्छ । उदाहरणका लागि भविष्यमा पश्चिमा मुलुकका सरकारले मरिटानिया, नाउरु वा माइक्रोनेसियालाई चुनौतीका रूपमा बुझेमा थिंकट्यांकले ती टापु मुलुक विश्व शान्ति र उदारवादी प्रणालीका लागि गम्भीर चुनौती हुन् भन्ने रिपोर्ट खुसीसाथ लेख्दिन्छन् । 

अहिले चीनलाई चुनौतीका रूपमा पहिचान गरिएकाले, थिंकट्यांकहरू तदनुरूप रिपोर्ट लेख्न उद्यत छन् । चीनबारे लेख्ने क्रममा जब ती नेपालको उल्लेख गर्छन्, उनीहरूलाई चीन नेपालमा सक्रिय भएको र नेपाल–चीनबीच बारम्बार महत्वपूर्ण भ्रमण भइरहेको लेख्नुपर्ने हुन्छ । उनीहरूलाई चीनले नेपालको सेनालाई हातहतियार सहयोग गरेको, तालिम दिएको र दुई मुलुकका सेनाबीच संयुक्त अभ्यास भएको पनि लेख्नुपर्ने हुन्छ । नयाँ दिल्ली र वासिंग्टनबाट आउने त्यस्ता रिपोर्टबारेका समाचारले नेपालले चीनसँग मिलेर उनीहरूविरुद्ध षड्यन्त्र गरेको आभाष गराउँछन् । पश्चिमा मुलुकका पाठकका लागि पनि यस्ता समाचार ध्यान तान्ने खालका हुन्छन् । एउटा सानो मुलुक नेपाललाई उपहार र आर्थिक सहयोगमार्फत चीनले उदार पश्चिमा मुलुकविरुद्ध जान उक्साएको छाप उनीहरूमा पर्छ । 

अर्कोतिर चीनका थिंकट्यांक भने पश्चिमाको दबाबका कारण नेपालले चीनलाई पूर्ण रूपमा सहयोग नगरेको र चीनसँग खुला हृदयले साझेदारी गर्न हच्किएको विश्वास गर्छन् । चीनले पनि उसका नागरिकलाई आफू छिमेकीबाट घेरिएको र चीनको असाध्यै असल नियत हुँदाहुँदै पनि नेपालले चीनको रुचि बुझेर तदनुरूप सहयोग नगरेको भनी जनतासामु प्रमाणित गर्नुपर्ने हुन्छ । त्यसपछि यस्ता रिपोर्टका अंश सञ्चारमाध्यममा जानाजान चुहाइन्छन् र प्रचार गरिन्छन् । हामीले ती रिपोर्टका पूर्ण रूप विरलै पढ्न पाउँछौँ किनभने ती महँगा हुन्छन् । हामी ती सनसनी फैलाउने समाचारलाई आधार बनाएर लेख्छौँ र त्यहाँ अभिव्यक्त धारणा शैलीलाई फैलाउँछौँ । थिंकट्यांकका रिपोर्टमा नेपालबारे उल्लेख गरिएकाले हामी नेपाल महत्वपूर्ण रहेछ भन्ठान्छौँ । ‘हामी गम्भीरतापूर्वक लिइएको’ विषयलाई राम्रोसँग विश्लेषण गर्न सक्दैनौँ । 

नेपालभित्रको विकासक्रमले हामीलाई चिन्तित बनाइरहँदा नेपालको महत्वबारे विदेशी थिंकट्यांकले लेखेको पाउँदा हामी धेरै नै खुसी हुनु स्वाभाविकै हो । वीरभूमि नेपाललाई विश्वले कसरी बेवास्ता गर्न सक्छ ? चीन र भारतलाई जोगाउन सक्ने हामी नै हौँ । हाम्रो तटस्थताले मात्र अमेरिका र चीनबीचको युद्ध रोक्न सक्छ र ती मुलुकबीच युद्ध भएमा कुनले जित्छ भन्ने विषयमा हाम्रो मुख्य भूमिका हुन सक्छ भन्ने तर्क पनि हामी गर्छौं । यस्ता विषयमा दैनिकजसो लेखसमेत लेखिन्छन् । यी विषयमा लेख्दा हामी भारतको ठाउँमा चीन र चीनको ठाउँमा अमेरिका लेख्न सक्छौँ र केही विदेशी लेखकलाई उद्धृत गर्दै आफूलाई विज्ञको रूपमा प्रस्तुत गर्न सक्छौँ । यहाँ यसरी लेखिएका लेख विदेशी विज्ञले पनि उद्धृत गर्छन् । यस्तै तवरले दुई शक्ति राष्ट्रमध्ये कुनै एकले नेपाललाई गम्भीर रूपमा लिएको कथन संस्थागत हुन पुग्छ । 

वास्तविकता के हो भने बिआरआई वा इन्डो–प्यासिफिकमा नेपालको सहभागिताको खासै महत्वपूर्ण अर्थ छैन । अमेरिका र चीनका लागि हाम्रो सहभागिताले उनीहरूको पहल र रणनीतिमा थप एउटा सदस्य बढ्नुबाहेकले खासै अर्थ राख्दैन । ती दुवै मुलुकलाई के थाहा छ भने हामी उनीहरू तिर ढल्किए पनि नढल्किए पनि उनीहरूले चाहेको कुरा यहाँ गर्न सक्छन् । किनभने, न हामीसँग प्रतिरक्षा गर्न सक्ने क्षमता छ, न त प्रतिजासुसीको क्षमता । नेपालको ठोस परराष्ट्र नीतिसमेत छैन । हाम्रो परराष्ट्र नीति भन्नु नै आर्थिक सहयोग लिनु र उनीहरूलाई खुसी पार्नु हो । आर्थिक सहयोगका लागि हामी दाताले भनेका सबै सर्त स्विकार्न तयार छौँ । अनि पत्रपत्रिका पनि विश्व राजनीतिमा नेपालको खासै भूमिका छैन भन्ने समाचार र लेख प्रकाशित गरेर आफ्ना पाठकलाई रिस उठाउन चाहँदैनन् । अनि बौद्धिकहरू यस्ता कुरा व्यक्त गरेर ‘अराष्ट्रिय’ देखिन चाहँदैनन् । हाम्रो खोक्रो अभिमानलाई कायम राख्नकै लागि हामी झुटो विश्वासमा बाँचिरहेका छौँ । अहिले चल्तीमा रहेका भाष्य धरातलीय वास्तविकताभन्दा फरक छन् । 

चीन र अमेरिका आक्रामक रूपमा नेपालमा प्रभाव बढाउन प्रतिस्पर्धा गर्दै छन् भन्ने भाष्यका स्रोत नाम चलेका र नचलेका केही विदेशी खासगरी पश्चिमा थिंकट्यांक हुन् । धेरैजसो थिंकट्यांकका दाता खुफिया एजेन्सी, सैन्य सामग्रीका ठेकेदार र सम्बन्धित मुलुकका सरकार नै हुन्छन् । ती मुलुकलाई सुरक्षा बजेट बढाउनका लागि एउटा दुस्मन वा शत्रुको आवश्यकता पर्छ ।

उदाहरणका लागि हाम्रा प्रधानसेनापति चीन जाँदा उसले गैरघातक हतियार र केही आर्थिक सहयोग गर्‍यो भने हामी चीन नेपालको धेरै नै नजिक हुन चाहन्छ भनेर विश्लेषण गर्न हतारिन्छौँ । प्रधानसेनापति अमेरिका गएर त्यस्तै सहयोग सेनाले पायो भने हामी चिच्याउँछौँ र सकेसम्म त्यसको विरोध गर्छौं । अमेरिकाले धेरैजसो गैरघातक उपकरण, भाषा र प्राकृतिक प्रकोपसम्बन्धी तालिममा सहयोग गर्छ । यति सानो सहयोगलाई पनि हामीले अमेरिकाले पछिल्लो समय विकसित गरिरहेको क्षेप्यास्त्रप्रतिरोधी प्रणाली नै दिएको जस्तो महत्वपूर्ण हो भनी प्रचार गर्छौं । धेरैले जानी–जानी बेवास्ता गरेको कुरोको चुरो यहीँ छ । हामीले दुवै मुलुकबाट घातक हतियार पाइरहका छैनौँ । न चीनले हामीलाई छोटो दूरीका क्षेप्यास्त्र दिइरहेको छ, न त अमेरिकाले नेपालको प्रतिरक्षा प्रणाली बलियो बनाउन उच्च प्रविधिका हतियार दिइरहेको छ । यी दुई मुलुकबाट उच्चस्तरीय भ्रमण नेपालमा नभएको पनि वर्षौं भइसकेको छ । 

अब हामी उनीहरूलाई थोरै पनि महत्वपूर्ण लागिरहेका छैनौँ र उनीहरू हामीलाई आकर्षित गर्न खासै कोसिस गरिरहेका छैनन् भनी हामीले बुझ्नुपर्छ । बरु उनीहरूले हामीलाई कमजोर नै राखिरहन चाहेका हुन सक्छन् । नेपाल कमजोर रहिरहनु उनीहरूको रुचि अनुरूप हुन सक्छ । नेपाल चीनका लागि एउटा ढंगले भने उपयोगी हुन सक्छ । चीनको भारतसँग युद्ध भएको खण्डमा नेपाललाई उसले युद्धमोर्चाका रूपमा प्रयोग गर्न सक्छ । त्यस्तै अमेरिका र चीनबीच दक्षिणी चिनियाँ सागर वा हिन्द महासागरमा युद्ध भएमा र चीनले नेपाललाई मोर्चाका रूपमा प्रयोग गरेमा त्यसले भारतको पक्षधरतालाई प्रभावित पार्न सक्नेछ । यी दुवै सम्भावित अवस्थामा, हाम्रो प्रतिरक्षा क्षमता एकदम कमजोर छ । 

हामीले बुझ्नुपर्छ, यदि चीनले हामीलाई भारतका विरुद्ध प्रयोग गर्न चाहन्छ भने उसले त्यसो गर्न सक्छ र गर्नेछ । यदि अमेरिकी नेतृत्वको गठबन्धनमा जानबाट भारतलाई चीनले रोक्न चाहेको खण्डमा अमेरिकाले सकेको प्रयत्न गर्नेछ । त्यसैले केहीले भने जस्तो हामीलाई बलियो बनाउने उनीहरूको लक्ष्य नहुन सक्छ । उनीहरूको लक्ष्य बरु यसको ठीक उल्टो हुन सक्छ, उनीहरूलाई प्रतिरोध गर्न नसक्ने गरेर हामीलाई कमजोर बनाउने वा कथमकदाचित उनीहरूबीचको युद्ध नेपालसम्म फैलिएर नेपाल डामाडोल भएमा विश्व अर्थतन्त्रमा केही असर नपरोस् भन्ने उनीहरूको चाहना हुन सक्छ । 

वास्तविकता के हो भने बिआरआई वा इन्डो–प्यासिफिकमा नेपालको सहभागिताको खासै महत्वपूर्ण अर्थ छैन । अमेरिका र चीनका लागि हाम्रो सहभागिताले उनीहरूको पहल र रणनीतिमा थप एउटा सदस्य बढ्नुबाहेक खासै अर्थ राख्दैन । ती दुवै मुलुकलाई के थाहा छ भने हामी उनीहरूतिर ढल्किए पनि नढल्किए पनि उनीहरूले चाहेको कुरा यहाँ गर्न सक्छन् ।

हामी सैन्य र आर्थिक रूपमा बलिया भएको भए वा एउटा पक्षसँग सुरक्षा र प्रतिरक्षा गठबन्धनमा भएको भए परिस्थिति अवश्य केही फरक हुन्थ्यो । यस्तो गठबन्धनमा सामेल भएको खण्डमा हामीले प्रशस्त सैनिक सहायता पाउँथ्यौँ र त्यसले हामीलाई बलियो बनाउँथ्यो । अनि यस्तो गठबन्धनमा सामेल भएबापत पाइने गठबन्धन राष्ट्रका बजारमा पाइने असीमित पहुँचले हामीलाई खोजेको जस्तो आर्थिक वृद्धि हासिल गर्न सहयोग गथ्र्यो । फलस्वरूप हाम्रो आत्मविश्वास बढ्थ्यो । तर, खासै महत्व नभएको र कसैले वास्ता नगर्ने आदर्श अँगाल्ने नाममा हामीले यस्ता धेरै अवसर गुमाएका छौँ । साना, कमजोर र निर्णय लिन नसक्ने राष्ट्रका लागि इतिहास क्रूर बनेका उदाहरण छन् । त्यसैले अमेरिकाले नेपालमा प्रभाव बढाउँदै लैजान खोजेको र चीनको प्रभावबाट केही टाढा लग्न खोजेको भनिए पनि अमेरिकाले हामीलाई धक फुकाएर सैनिक र आर्थिक सहयोग गरिरहेको छैन । 

बिआरआईमा सामेल भइसकेपछि पनि चीनले हामीलाई अर्थपूर्ण सहयोग गरिरहेको छैन । हामी अझै पनि अमेरिकासँग किनेका एमआई–१६ राइफलको मूल्य कसरी तिर्न सकिएला भनेर सोचिरहेका छौँ । अमेरिकाले चाहेको भए यस्ता हतियार हामीलाई निःशुल्क दिन सक्थ्यो र, ‘साझेदारी’ बलियो बनाउन अरू थप केही हतियार पनि अनुदानमा दिन सक्थ्यो । चीनसँग पनि हामी सम्भावित केरुङ–काठमाडौं रेलमार्गको अध्ययनका लागि चाहिने खर्च चीनलाई तिर्ने बनाउनका लागि वार्ता गरिरहेका छौँ । चीनले हामीलाई नभई नहुने महत्वपूर्ण साझेदार ठानेको भए उसले रेलमार्ग अध्ययनको खर्च खुसीसाथ तिथ्र्यो होला । त्यसैले हामीले विदेशी थिंकट्यांकले बनाएका रिपोर्ट आलोचनात्मक दृष्टिले पढ्नुपर्छ । के ती रिपोर्टले वास्तविकता व्याख्या गर्छन् ? ती रिपोर्ट लेख्नेले नेपालका बारेमा वास्तविकता जानेका हुन्छन् ? ती ‘विज्ञ’ले नेपालका बारेमा जानकारी कहाँबाट पाउँछन् ? त्यसैगरी ‘भूराजनीति’, ‘भूरणनीति’जस्ता राजनीतिक शब्दावली प्रयोग गर्ने हाम्रा विश्लेषकले सबैभन्दा पहिले हाम्रो धरातलीय यथार्थ बुझ्ने प्रयास गर्नुपर्छ । विश्लेषकले कुनै पनि क्षेत्रीय र विश्वव्यापी गठबन्धनका लागि हाम्रो महत्व अति नै कम छ भन्ने स्विकार्नुपर्छ । 

तसर्थ हामीले नेपालमा व्याप्त ‘नेपाल सानो, तर महत्वपूर्ण मुलुक’हो भन्ने मानसपटलमा गहिरो गरी गढेको स्वघोषित बडप्पन त्याग्नैपर्छ, तर यसो गर्न गाह्रै छ ।