Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
बिबी अनुरागी, संगीतकार
२०७६ श्रावण ५ आइतबार ०९:५३:००
Read Time : > 2 मिनेट
नयाँCity

समय त्रासदी पढेपछि खानै मन लागेन : बिबी अनुरागी

Read Time : > 2 मिनेट
२०७६ श्रावण ५ आइतबार ०९:५३:००

सरुभक्तको ‘समय त्रासदी’ पढेर महिना दिनसम्म खान पनि मन लागेन । यत्ति बीभत्स दृश्य आउँछ कि त्यसले मलाई नै पूरै हल्लाएको थियो । उहाँको ‘मनभरि माटोभरि’ गीति–संग्रह पनि एकदमै फरक छ । सरुभक्त दाइको साहित्य प्रयोगवादी हुन्छ ।

मलाई पुस्तक पढ्नमा एकदम धेरै रुचि छ । आजभोलि समय अभावका कारण अलि कम पढ्छु । मलाई साहित्यिक र ऐतिहासिक किताब पढ्न रमाइलो लाग्छ । मैले क्याम्पस जीवन पोखरामा बिताएँ । त्यहाँ बस्दा धेरै साहित्यकारसँग चिनजान भयो । सरुभक्त, तीर्थ श्रेष्ठ, रमा प्रासर, सुमनहरूसँग भेट भयो । उहाँहरूसँगको संगतले पनि पढ्नमा रुचि बढाएको हो । उहाँहरूसँगै पुस्तक विमोचन, कवितावाचनजस्ता साहित्यिक कार्यक्रममा गइन्थ्यो । त्यसको प्रभावले साहित्यप्रति बढी चासो हुन थाल्यो ।

क्याम्पसमा पनि नेपाली साहित्य पढेँ । त्यसले थप मलजल गर्‍यो । आजभोलि म विभिन्न साहित्यिक कार्यक्रममा सहभागी भइरहन्छु । मेरो घरमा साना पुस्तकालय नै छ । सयभन्दा बढी गीत, गजल र संगीतसम्बन्धी किताब छन् । उपन्यास, ऐतिहासिक, जीवनकथा, आत्मकथासम्बन्धी पुस्तक पनि छन् । आत्मकथा पढ्दाचाहिँ जीवनमा संघर्ष गर्नका लागि प्रेरणा मिल्छ । अरूको जीवनबाट प्रेरणा लिए निराशा हुनबाट बचाउँछ । आहुतिको नयाँघर पढ्दा हाम्रो समाजमा भइरहेका विभेद, विकृति, विसंगतिजस्ता समाजको यथार्थता बुझ्न सकिन्छ । 

हरेक किताबले केही न केही चेतना र प्रेरणा दिन्छ । त्यसैले, अध्ययन गर्न जरुरी छ । अध्ययनले मानिसलाई हरेक कोणबाट फाइदा मिल्छ । 

सरुभक्त प्रयोगवादी छन्
मलाई सरुभक्तका सबै किताब मन पर्छ । म उहाँको फ्यान नै हुँ । उहाँको लेखनशैलीले अत्यन्तै प्रभाव पारेको छ । उहाँका सबै किताब पढेको छु । उहाँका गीत पनि निकै राम्रा छन् । जति सुने पनि सुनिरहुँ लाग्ने खालका ।

आत्मकथा पढ्दाचाहिँ जीवनमा संघर्ष गर्नका लागि प्रेरणा मिल्छ । अरूको जीवनबाट प्रेरणा लिए निराशाबाट बचाउँछ । आहुतिको नयाँ घर पढ्दा हाम्रो समाजमा भइरहेका विभेद, विकृति, विसंगतिजस्ता समाजको यथार्थता बुझ्न सकिन्छ । 

सरुभक्तको ‘समय त्रासदी’ पढेर महिना दिनसम्म खाना खान पनि मन लागेन । यति विभत्स दृश्य आउँछ कि त्यसले मलाई नै पूरै हल्लाएको थियो । उहाँको ‘मनभरि माटोभरि’ गीतिसंग्रह पनि एकदमै फरक छ । सरुभक्त दाइको साहित्य प्रयोगवादी हुन्छ । यो गीतिसंग्रहमा सयवटा गीत छन् । एक दुई वटामा भन्दा बाहेक सबैमा फरक प्रयोग गरिएको छ । चलनचल्तीका गीतभन्दा नितान्त फरक छन् । यसमा म अहिले काम पनि गरिरहेको छु । यही शैलीमा म संगीतमा कसरी फरकपन दिन सक्छु भनेर लागेको छु । 

हरिवंशको चिना हराएको मान्छे, अमर न्यौपानेको सेतो धर्ती, झमक घिमिरेको जीवनकाँडा कि फूल, कृष्ण धारावासीको झोला, रमा प्रासरको जीवनकथा, सुमनको पोखरामा फुलेको फूल, मदनमणि दीक्षितको त्यो युग, कृष्ण केसीको वधशालाका यात्राहरू, आहुतिको नयाँघर, तसलिमा नसरिको लज्जा, मेक्सिम गोर्कीको ती दिन मलाई मनपरेका किताब हुन् । त्यसो त मलाई लक्ष्मीप्रसाद देवकोटा, गजलकार बुँद राना, ज्ञानुवाकर पौडेल, डा. कृष्णहरि बराल मलाई मन पर्ने लेखक हुनुहुन्छ । उहाँहरूका लेखनी एकदम चोटिलो लाग्छ । 

पढ्न मन लागेको किताब
अहिले म नीलम कार्की निहारिकाको योगमाया उपन्यास पढिरहेको छु । किताब मोटो छ । फुर्सद कम भएकाले रुचिकर हुँदाहुँदै पनि पढिसक्न समय लाग्यो । अझै केही समय लाग्छ । 

सत्यमोहन जोशीको नेपाली कलाको रूपरेखा एकदमै पढ्न मन लागेको छ । तर, समय मिलिरहेको छैन । किनेर ल्याएको छु । पद्मरत्न तुलाधरको जीवनी पढ्न मन लागेको छ । म त्यो पढ्छु । अर्को सुविन भट्टराईको साया पनि पढ्ने रहर छ । कुनै दिन त्यो किताब पनि पढ्छु । 

मैले पूरै किताब नै दोहो¥याएर पढेको झोला हो । यो सानो भएकाले पनि दोहो¥याउन सहज भयो । अरू किताबको चाहिँ कुनै–कुनै पाठ मात्रै दोहोर्‍याएर पढ्ने गरेको छु । 

पढ्दा आँसु झरेका किताब
कृष्ण केसीको मानव वधशालाका यात्राहरू पढ्दा म धेरै रोएँ । लेखककै जीवनमा भएका घटना समेटेर लेखिएको किताब हुनाले पनि आँसु आएको हो । यो पुस्तकमा जनयुद्धमा कसरी यातना दिइन्थ्यो भन्ने उल्लेख छ । झोला पढ्दा पनि खुब आँसु झर्‍यो । रुँदै पढ्दै गरेको हुँ ।