मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ श्रावण ५ आइतबार ०८:२४:००
Read Time : > 2 मिनेट
नयाँCity

मेरो थेगो बोल्दा पिटाइ खाएछन् : शिवहरि पाैड्याल

Read Time : > 2 मिनेट
२०७६ श्रावण ५ आइतबार ०८:२४:००

रिक्साभाडा हजारको नोट दिएछन् । रिक्सावालासँग साट्ने रहेनछ । त्यतिवेला उसले भनेछ, ‘मुखाँ हान्नुजस्तो, यत्रो हजारको नोट त मैले कसरी साट्नु हजुर, मलाई खुद्रै दिनु न ।’ त्यसपछि ती दुई महिलाले उसलाई एक–एक झापड हानेछन् ।

तपाईंले प्रयोग गर्ने थेगो ‘प्वाक्क मुखाँ हान्नुजस्तो’को सिर्जना कसरी भयो ?
यो सिर्जना गर्छु भनेरै गरिएको थेगो होइन । अचानक आएको हो । ‘जिरे खुर्सानी’को नाम पहिला ‘फिरफिरे कला केन्द्र’ थियो । त्यसमा जितुले निर्देशन गर्ने, केदार घिमिरे र सीताराम कट्टेलले स्क्रिप्ट लेख्ने, मैले मूख्य भूमिकामा अभिनय गर्ने सम्झौता थियो । त्यो बनिसकेपछि टेलिभिजनमा लगियो । त्यहाँ फिल्मको टाइटल र स्क्रिप्ट राम्रो नभएको भनियो । पछि फेरि सच्याएर हामीले जिरे खुर्सानी नाम राख्यौँ । जिरे खुर्सानीमा मैले लामो समय मन्त्रीको भूमिका गरेँ । मेरो पिएको भूमिकामा दमन रुपाखेती थियो । एउटा कला केन्द्रको उद्घाटन गर्न जाँदा त्यहाँ मन्त्रीले पत्रकार देख्दैन । दर्शक पनि हुँदैनन् । अनि, मैले पिए अर्थात् दमनलाई गाली गरेको थिएँ । ‘ओइ विक्रम, मलाई यो कस्तो ठाउँमा ल्याएको उद्घाटन गराउनलाई ? न टेलिभिजन आको छ, न पत्रकार, मुखाँ हान्नुजस्तो, अलि गतिलो ठाउँमा त ल्याउनुपर्छ नि उद्घाटन गर्न ।’ त्यो भाग बजारमा आयो । तर, त्यो डायलग मैले बिर्सिसकेको थिएँ । एक दिन म बजारमा हिँडिरहेको वेला एकजना दर्शकले रोकेर भन्नुभयो, ‘नयाँ कार्यक्रम सुरु गर्नुभएको रहेछ । बधाई छ ! तर मेरो एउटा गुनासो छ, तपाईंले पहिलो भागमा मुखाँ हान्नुजस्तो भन्नुभएको थियो एक ठाउँमा, मलाई रमाइलो लागेको थियो । तर, दोस्रोमा भन्नुभएन, किन ?’ त्यसपछि मलाई त्यो थेगोको लोकप्रियता थाहा भयो र तेस्रो भागदेखि ‘प्वाक्क मुखाँ हान्नुजस्तो’ भन्न थालेँ । यो ०५९ सालतिरको कुरा हो ।

मलाई चिनाएको यही थेगोले हो । खासमा यो गाली गर्दा प्रयोग गर्ने शब्द हो । तर, मैले जिरे खुर्सानीमा रिसाउँदा, हाँस्दा र रमाइलो वातावरणमा पनि यो थेगो प्रयोग गरेँ । सबैले मन पराएर राम्रो मानिदिएपछि खुसी लाग्यो ।

पटक–पटक एउटै थेगो प्रयोग गरिरहँदा दिक्क लाग्दैन ?
दिक्क त लाग्दै लाग्दैन । बरु अरू फिल्म खेल्न जाँदा पनि ‘मुखाँ हान्नुजस्तो’ भन्न पाए हुन्थ्यो जस्तो लाग्न थालेको थियो । बोल्ने बानी पर्दोरहेछ । यो थेगो बजारमा चर्चित भएपछि कहिले जिरे खुर्सानी सुरु होला र प्रयोग गरिहालुँ जस्तो पनि हुन्थ्यो । दिक्क त कहिल्यै पनि लागेन । 

नामभन्दा ज्यादा थेगोबाट चिनिँदा अब नबोलौँ भन्ने लाग्दैन ?
नामभन्दा ज्यादा यही थेगोले चिनाउँदा खुसी पो छु । मलाई तत्कालीन युवराजधिराज पारसले पनि ‘मुखाँ हान्नुजस्तो’ नै भन्नुहुन्थ्यो । मेरो वास्तविक नाम उहाँलाई थाहै थिएन । 

वास्तविक जीवनमा कसैलाई यो थेगो बोलेर गाली गर्नुभएको छ ?
छैन । यो वास्तविक जीवनमा प्रयोग गर्ने थेगो पनि होइन । यो थेगोले एक–दुई ठाउँमा विकृतिचाहिँ ल्याएको रहेछ । ‘जिरे खुसार्नी’ भर्खर–भर्खर आएको थियो । झापामा दुई महिला एउटा रिक्सा चढेर बिहान कतै जाँदै रहेछन् । रिक्साभाडा हजारको नोट दिएछन् । रिक्सावालासँग साट्ने रहेनछ । त्यतिवेला उसले भनेछ, ‘मुखाँ हान्नुजस्तो, यत्रो हजारको नोट त मैले कसरी साट्नु हजुर, मलाई खुद्रै दिनु न ।’ त्यसपछि ती दुई महिलाले उसलाई एक–एक झापड हानेछन् । अनि मान्छे जम्मा भएपछि उसले ‘जिरे खुसार्नीको थेगो बोलेर मैले ठट्टा पो गरेको त’ भनेछ । थेगोले गर्दा कसैले कुटाइ खाएको थाहा पाउँदा खल्लो लागेको थियो । 

तपाईं आफैँलाई चाहिँ यो थेगो कत्तिको मन पर्छ ?
एकदमै मन पर्छ । किनकि मलाई चिनाएको यही थेगोले हो । खासमा यो गाली गर्दा प्रयोग गर्ने शब्द हो । तर, मैले जिरे खुर्सानीमा रिसाउँदा, हाँस्दा र रमाइलो वातावरणमा पनि यो थेगो प्रयोग गरेँ । सबैले मन पराएर राम्रो मानिदिएपछि खुसी लाग्यो । कसैलाई यो थेगोको कारणले नकारात्मक असर नपरोस् भन्ने लाग्छ । यसमा सजग पनि हुँदै आएँ ।