१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ श्रावण ४ शनिबार ०८:१३:००
Read Time : > 2 मिनेट
फिचर

अक्करे भिरमा मह सिकार

Read Time : > 2 मिनेट
२०७६ श्रावण ४ शनिबार ०८:१३:००

‘हनी हन्टिङ’ अर्थात् भिरमौरीको सिकार गर्नु आफैँमा निकै कठिन र चुनौती कार्य हो । अक्करे भिरमा डोरीको सहायताले मह काढ्ने गरेको दृश्य हेर्दै कहालीलाग्दो देखिन्छ । तर, म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका स्थानीय यसरी नै प्रत्येक वर्ष भिरमौरीको मह सिकार गर्दै आएका छन् । राम्रो उत्पादन भएको वर्ष मह बिक्रीबाट २० लाखसम्म गुर्जामा भित्रिने गरेको छ । गुर्जामा रहेका दुई सय ३० घरधुरीमध्ये यस वर्ष मह सिकारीहरूको समूहमा ३७ घरधुरी आबद्ध छन् । छन्त्याल समुदायको वर्चस्व रहेको गुर्जामा कसरी भिरमौरीको सिकार गरिन्छ ? के–कस्ता जोखिम छन् ? लगायतका विषयमा कमल खत्रीको रिपोर्ट :

पुख्र्यौली पेसाका रूपमा  मह काढ्ने परम्परा
धवलागिरि गाउँपालिका–१ गुर्जाका अमृत छन्त्याल उमेरले ४० कटे । उनको काम अग्ला भिरपहरामा मह सिकार गर्नु हो । हेर्दा आङै सिरिङ्ङ हुने भिरमा चोयाको डोरीका भरमा उनी मह सिकार गर्छन् । ३०–४० जनाको मह सिकारीको टोली भिरको फेद र शिरमा बस्ने गर्छन् । छन्त्याल भने ज्यान हत्केलामा राखेर भिरमा मह काढ्ने (हनी हन्टिङ) गर्छन् । उनी एक वर्षदेखि परांगे (भिरमा मह काढ्ने) भूमिकामा छन् ।

गुर्जामा पुख्र्यौली पेसाका रूपमा हरेक वर्ष भिरमह काढ्ने चलन छ । यस वर्ष गत १८ जेठदेखि भिरमौरीको मह काढ्न थालिएको छ । झन्डै दुई महिना यहाँका स्थानीय भिरमौरीको चाका हुने प्रायः सबै भिरमा मह सिकार गर्न व्यस्त हुन्छन् ।गुर्जाको करिब पाँच मिटर अग्लो घ्यासपुर भिरमा मह काढ्ने तयारीमा रहेका अमृत छन्त्यालले आयआर्जनका रूपमा पुख्र्यौली पेसालाई निरन्तरता दिएको बताए । ‘चोयाको भ-याङका भरमा भिर चढ्छु, मह काढ्दा मौरीले टोक्छन्, तर मेरो ध्यान टोकाइको दुखाइमा भन्दा पनि मह काढ्नेतर्फ हुन्छ,’ उनी भन्छन् ।

निगालोको चोयाको डोरीमा काठ राखेर बनाइएको भ-याङ (पराङ) मा तुर्लुंग झुन्डिएर उनी दैनिकजसो मह काढ्दै गरेका भेटिन्छन् । भिरमा जोखिम मोलेर काढिने महलाई भिरमाथि बस्ने सहयोगीका भरमा फेदमा बसेका ज्यामीहरूले चोयाको डोरीकै सहायताले सुरक्षितसाथ एक ठाउँमा जम्मा गर्छन् । यसरी जम्मा हुने महलाई गाउँमा पु¥याएर प्रशोधन गरी बिक्री गरिन्छ । 

भिरमौरीको मह प्रतिलिटर १५ सयमा बिक्री
स्थानीय भीमबहादुर छन्त्याल भिरमौरीको मह गाउँबाटै प्रतिलिटर एक हजार पाँच सय रुपैयाँमा बिक्री हुने गरेको बताउँछन् । ‘यहाँ बर्सेनि पालो लगाएर भिरमहको सिकार हुन्छ, गाउँमा रहेका सबै घरधुरी चार समूहमा विभाजन भएका छाैँ, एउटा समूहको पालो चार वर्षमा एकपटक मात्रै आउँछ, उत्पादन हुने महको बजारको अभाव हुँदैन, स्थानीय हुँदै राष्ट्रिय बजारसम्म महलाई सहज रूपमा बिक्री गर्न सकिन्छ,’ उनले भने । ६० वर्षीय भीमबहादुरले नौ वर्षसम्म लगातार भिरमा चढेर परांगेको भूमिकामा मह काढेका थिए । भिरमा चढेर मह काढ्दा चोयाको डोरी र भगवान्को भर हुने उनले सुनाए । ‘अग्ला पहाडमा झुन्डिनुपर्छ, परम्परागत रूपमा डोरीकै भरमा मात्रै मह सिकार गर्दै आएका छौँ, भिरमा झुन्डिन सुरक्षाका लागि कपडा, औजार उपकरण नयाँ भइदिए सजिलो हुने थियो,’ उनले थपे । 

एउटा समूहको पालो चार वर्षमा
गुर्जामा रहेका दुई सय ३० घरधुरीमध्ये यस वर्षका मह सिकारीहरूको समूहमा ३७ घरधुरी आबद्ध छन् । प्रत्येक घरबाट एकजना मह सिकारको काममा खटिएका छन् । उनीहरू मह सिकार नसकेसम्म घर नै फर्किंदैनन् । गाउँदेखि घन्टौँ टाढाका जंगलका भिरहरूमा मह काढ्नुपर्ने भएकाले उनीहरूले जंगलमै अस्थायी छाप्रो हालेर बस्ने गर्छन् । निकै चुनौती गरेर काढिएको मह सामूहिक रूपमै बाँडफाँड गरिने स्थानीय थमबहादुर छन्त्यालको भनाइ छ । ‘यहाँबाट हुने आयआर्जनका लागि मात्रै हामीले मह सिकार गरेका छैनौँ, पुख्र्याैली पेसाको निरन्तरता पनि हो यो, तर यो पेसालाई व्यवस्थित र सुरक्षित बनाउनेतर्फ सरोकारवालाको ध्यान पुगेको छैन,’ उनले भने ।

गुर्जामा मह राम्रो उत्पादन भएको वर्ष २० लाखसम्म मह बिक्रीबाट गाउँमा रकम भित्रिने गरेको छ । पुख्र्यौली पेसाका रूपमा रहेको मह सिकारबाट संकलन हुने मह स्वास्थ्यवद्र्धक र औषधिका रूपमा समेत प्रयोग हुने भएकाले माग अत्यधिक रहेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले भने । ‘मह सिकारलाई सुरक्षित र व्यवस्थित बनाउने योजना बनाएका छाैँ, स्थानीयको पुख्र्यौली पेसाको संरक्षण र पर्यटनसँगसमेत जोड्न सकिन्छ भन्ने अपेक्षा गरेका छौँ,’ वडाध्यक्ष छन्त्यालले भने । मह सिकार गर्ने परम्परागत विधि र शैलीलाई आधुनिकीकरण गर्ने, सुरक्षा संवेदनशीलतामा ध्यान दिने र प्रशोधनका लागि नयाँ प्रविधिको खोजी सुरु गरिएको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् । पर्यटनसँग जोडेर मह सिकारको पुख्र्यौली पेसालाई संरक्षण गरिने उनको भनाइ छ ।