मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
ललित विष्ट, कथाकार
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ४ शनिबार ०८:०१:००
Read Time : > 1 मिनेट
साहित्य

पराजितहरूको कथा हो मोहपथ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ४ शनिबार ०८:०१:००

मोहपथको प्रायः कथामा तपाईंं नै पात्र हुनुहुन्छ ? आफूभन्दा परका कथा टिप्न नसकेर हो ? 
लाग्छ, लेखनको केही प्रक्रिया हुन्छ । घटनालाई देख्नु, त्यसलाई मस्तिष्कमा राख्नु र हृदयमा लगेर रिफाइन्ड गरेर कागजमा लेख्नु एक प्रक्रिया हो, म त्यसरी लेख्छु । कथालाई न्याय हुने गरी कथा वाचक छनोट गरेको हु“, त्यो पात्र हो म होइन । यसमा युद्ध, प्रेम, घृणा, भ्रम, यौन, विभेद, चेतना र जनावरलाई समेत पात्रका रूपमा चित्रण गरिएको कथालगायत अन्य धेरै विषयवस्तुका कथा समावेश छन् । यस सबालमा तपाईंंले किताब नपढेरै प्रश्न गरेजस्तो लाग्छ । यति धैरै विषयवस्तुभन्दा टाढा कहा“ जानु ?  

तपाईंंका कथामा तपाईंंभित्रको कुण्ठा भेटिन्छ भन्दा कत्तिको सहमत हुनुहुन्छ ? 
अवश्य ! मेरो समयका मान्छेले भोगिरहेको दुःख, पीडा, कुण्ठा, प्रेम, यौन, भाषा, धर्म आउ“छ नै । म विश्वस्त कुन कुरामा छु भने मैले साहित्य भनेर कुण्ठालाई किताब बनाएको छैन ।  

तपाईंका कथामा महिला पात्र निकै निरीह किन खोज्नुभयो ? के अहिलेका महिला पात्र निरीह लाग्छन् ?
यो प्रश्न लाग्छ, राजधानीमा रात्रीकालीन जीवन बिताउने केही सीमित महिलालाई हेरेर सोधिएको हो । लेखनको कुरामा दक्षिण भारतीय फिल्मको नायकजस्तै महिला पात्रलाई आख्यानमा महान् बनाएर वर्णन गर्न सकिन्छ । त्यसले केही सकारात्मक असर पनि पर्ला । देश काठमाडौं बाहिर पनि छ । त्यहाँका महिला देखेको छु । ती सबै पात्र सबल र जब्बर छैनन् । अहिले पनि महिला हेपिएका छन्, दबिएका छन् । पुरुष सतात्मक समाजले महिलाको स्थिति बोध गर्न सकोस् र महिला आफू पनि उठ्न सिकून् भन्ने मोहपथमा भएका कथाको निचोड हो ।  

कथामा आएका पात्र साह्रै पराजित छन्, माजमा जितका कथा पनि त छन् नि ?
यो देशमा पृथ्वीनारायण शाह, जंगबहादुर राणादेखि अहिलेको कम्युनिस्ट सरकारसम्म जितकै कथा मात्रै छन् । म पनि तिनीहरूकै कथा लेखेर बसौँ ? अरू त सबै पराजित नै छन्, होइन र ? काठमाडौंमा उच्च शिक्षा हासिल गरेर लुखुरलुखुर हिँडेका मान्छे ठोक्किन्छन्, तिनीहरूलाई जितको कुरा नगर्नु होला । अरब गएर फर्किएको युवालाई तपाईंंले अरब जितेर आउनुभयो भनेर पनि नसोध्नु होला । थारू, मधेसी, दलित, जनजाति र केही सुदूर भूभागका मानिस जो गाँसबास, स्वाथ्य र शिक्षाबाट वञ्चित छन्, तिनीहरूका जितका कथा लेखौँ ? जितका कथा शासक र तिनका आसेपासेलाई सोध्नुहोस् । 

कथाको प्रस्तुतिमा कतै चुकेझैँ लाग्दैन ? 
म छुट्टै ग्रहबाट आएको होइन् । तपाईँजस्तै आम कमजोरीसहितको मान्छे हु“ । मेरो लेखनमा पनि कमजोरी हुन सक्छन् । मैले सकभर क्षमताले भ्याएसम्म कमजोरी न्यून गर्ने प्रयत्न गरेको थिए“ र सधैँ गर्नेछु ।