Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ श्रावण ३ शुक्रबार ०८:१४:००
Read Time : > 2 मिनेट
सेयर बजार

प्रोफिट बुकिङले बजारमा करेक्सन

Read Time : > 2 मिनेट
२०७६ श्रावण ३ शुक्रबार ०८:१४:००

साताको अन्तिम कारोबार दिन बजारमा करेक्सन भएको छ । साताको पहिलो कारोबार दिनदेखि बजार उकालो लागेको थियो । पछिल्लो ४ कारोबार दिनमा नेप्से २६ दशमलव ३३ अंक बढेको छ । बजार बढेको मौकामा अल्पकालीन लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लागेका कारण यस दिन सामान्य करेक्सन भएको हो । यस दिन मध्याह्नसम्म बजार बढेको थियो । मध्याह्नपछि लगानीकर्ता प्रोफिट बुकिङतर्फ लागेपछि बजारमा ओरालो लागेको हो । 

बुधबारदेखि व्यक्तिगत लगानीकर्ताका लागि पुँजीगत लाभकर घटेको छ । गत आवमा ७ दशमलव ५ प्रतिशत लाभकर तिर्दै आएका लगानीकर्ताले बुधबारदेखि ५ प्रतिशत मात्र लाभकर तिर्नुपर्ने व्यवस्था लागू भएको थियो । यसले लगानीकर्ताको मनोबल बढ्नुका साथै बजारलाई सकारात्मक टेवा पुगेको देखिन्छ । 

नयाँ आर्थिक वर्षको सुरुवातसँगै सूचीकृत कम्पनीहरूले गत आवको वित्तीय विवरण प्रकाशित गर्न थालिसकेका छन् । तेस्रो त्रैमासको वित्तीय विवरणका आधारमा चौथो त्रैमासमा कम्पनीहरूले उल्लेख्य नाफा आर्जन गरेको अनुमान लगानीकर्ताले लगाएका छन् । कम्पनीहरूको नाफामूलक वित्तीय विवरणले पनि आगामी दिनमा बजारलाई सकारात्मक दिशा दिने अपेक्षा लगानीकर्ताले गरेका छन् । 

बजार सारांश : नेप्से परिसूचक बिहीबार २ दशमलव ३७ अंक घटेर १ हजार २ सय ७२ दशमलव ४९ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव २७ अंक घटेर २ सय ७३ दशमलव ८४ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव १५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव शून्य ३ अंक घटेको छ । यस दिन १ सय ५८ कम्पनीको ४ हजार ३ सय ७१ पटकको कारोबारमा ४१ करोड १३ लाख ६९ हजार २ सय ९९ रुपैयाँबराबरको १२ लाख ५० हजार ७ सय ८ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआईः नेप्सेको १४ दिने आरएसआई यस दिन ५६ दशमलव ९९ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्रीको चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियोः नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ९५ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ५८ कम्पनीमध्ये ६४ कम्पनीको सेयरमूल्य बढेको छ भने ६७ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २७ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

यस दिनको पिभट विश्लेषण गर्दा आगामी कारोबार दिन नेप्से ओरालो लागे १ हजार २ सय ६८ दशमलव ७३ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने उकालो लागे १ हजार २ सय ७९ दशमलव ९४ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । त्यसैगरी, नेप्सेले १ हजार २ सय ६४ दशमलव ९७ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । पहिलो प्रतिरोध बिन्दु तोडेर उकालो लागे नेप्सेले १ हजार २ सय ८७ दशमलव ३९ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

 छिमेकको संस्थापक सेयरको कारोबार बढी
यस दिन कारोबार रकम र सेयर संख्याका आधारमा छिमेक लघुवित्त विकास बैंक लिमिटेडको संस्थापक सेयर अगाडि रहेको छ । सो कम्पनीको यस दिन ५ करोड १७ लाख ६८ हजार रुपैयाँबराबरको १ लाख ५ हजार ६ सय ५० कित्ता सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी, शिवम् सिमेन्ट्स, नेपाल लाइफ इन्स्योरेन्स र नेपाल बैंक लिमिटेडको कारोबार रकम २ करोड नाघेको छ । प्रभु बैंक, एनआइसी एसिया बैंक, सिभिल बैंक, नबिल बैंक, मेगा बैंक र अपर तामाकोसीको यस दिन १ करोडभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबार संख्याका आधारमा भने यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्था अगाडि रहेको छ । सो लघुवित्त कम्पनीको यस दिन २ सय ९५ पटक सेयर कारोबार भएको छ । 

८ समूहको घट्यो ३ को बढ्यो 
यस दिन कारोबारमा आएका ११ समूहमध्ये ८ समूहको परिसूचक घटेको छ भने ३ समूहको परिसूचक बढेको छ । वित्त समूहको परिसूचक शून्य दशमलव ४९ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव २ प्रतिशत र लघुवित्त समूहको शून्य दशमलव शून्य १ प्रतिशत बढेको छ । होटेल समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव २३ प्रतिशत घटेको छ । त्यसैगरी, जलविद्युत् समूहको परिसूचक यस दिन शून्य दशमलव ६२ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ४६ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव ४१ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव २७ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव १२ प्रतिशत, म्युचुअल फन्ड समूहको शून्य दशमलव १२ प्रतिशत र अन्य समूहको शून्य दशमलव १ प्रतिशत घटेको छ । 

नेपाल हाइड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट
बजार ओरालो लागे पनि यस दिन नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन सो कम्पनीको सेयरमूल्य ११ रुपैयाँ बढेर १ सय ३० रुपैयाँमा अन्तिम कारोबार भएको छ । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्य यस दिन ४ प्रतिशतभन्दा बढी बढेको छ । अन्य कम्पनीहरूको सेयरमूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । यस दिन मेरो माइक्रो फाइनान्सको सेयरमूल्य ६ दशमलव ८१ प्रतिशत घटेर ५ सय २० रुपैयाँमा अन्तिम कारोबार भएको छ । नबिल इक्विटी फन्डको इकाइ मूल्य यस दिन साढे ५ प्रतिशत घटेको छ भने एसियन लाइफ इन्स्योरेन्सको ३ दशमलव २९ प्रतिशत घटेको छ ।