मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ श्रावण ३ शुक्रबार ०७:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

काठमाडौं विश्वविद्यालयविरुद्ध अख्तियारमा उजुरी

खुलामा विज्ञापन गरेर आन्तरिकलाई नियुक्ति

Read Time : < 1 मिनेट
२०७६ श्रावण ३ शुक्रबार ०७:५७:००

काठमाडौं विश्वविद्यालयले असिस्टेन्ट प्रोफेसरलगायत पदमा खुला विज्ञापन गरेर आन्तरिकलाई नियुक्त गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । स्कुल अफ आर्टस्मा असिस्टेन्ट प्रोफेसरमा उम्मेदवारी दिएका लक्ष्मणदत्त पन्त र डा. महेन्द्र सापकोटाले उजुरी दिएका हुन् । 

कार्यकारी परिषद् तथा डिनले पदको दुरुपयोग गरी प्रक्रिया मिचेर नतिजा प्रकाशित गरेको उनीहरूको आरोप छ । तर, स्कुल अफ आर्टस्का डिन प्रा. सागर शर्माले विश्वविद्यालयमा काम गरेकाभन्दा बाहिरकाले पनि नाम निकालेको दाबी गरे । उनले नाम भने बताएनन् । २७ असारमा सार्वजनिक भएको स्कुल अफ आर्टस्को नतिजामा पेन्टिङमा सागर मानन्धर, जर्नालिज्ममा चण्डीराज दाहाल र डेभलपमेन्ट स्टडिजमा डा. विनयकृष्ण थापा स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् । आन्तरिक रूपमा काम गरेकाहरूलाई नै एसोसियट्स प्रोफेसरमा नियुक्त गरेको उजुरीकर्ताले जनाएका छन् । 

आवश्यक पदका लागि सार्वजनिक सूचना नै जारी नगरी कार्यकारी परिषद् र डिनले करारमा लेक्चर नियुक्त गर्ने र त्यसपछि खुला विज्ञापन गरेर उनीहरूलाई नै नियुक्त गर्ने गरेको विश्वविद्यालयका पूर्वपदाधिकारीले नै बताए । ‘खुला विज्ञापन गरे पनि एकाधबाहेक आन्तरिक रूपमा काम गरेकाकै स्थायीमा नाम निस्कने गरेको छ,’ एक पूर्वपदाधिकारीले भने, ‘करारमा नियुक्त गर्दा प्रायः सार्वजनिक सूचना निकालिँदैन ।’ 

पदपूर्तिमा पारदर्शिता नभएकोमा विश्वविद्यालयभित्र आन्तरिक विवादसमेत हुने गरेको छ । पूर्वरजिस्ट्रार डा. भोला थापाले पदपूर्तिका विषयमा विवाद भएपछि राजीनामा दिएका थिए । सिस्टममा असहमति जनाउँदै उनी बाहिरिएका थिए ।