मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७५ पौष १९ बिहीबार ०९:५८:००
Read Time : > 1 मिनेट
विश्व

प्रतिबन्धित मन्दिर प्रवेश गरेर महिलाले रचे इतिहास

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ पौष १९ बिहीबार ०९:५८:००

भारतको दक्षिणी राज्य केरलामा रहेको एउटा मन्दिरभित्र प्रवेश गरेर दुई महिलाले इतिहास रचेका छन् । मन्दिरभित्र प्रवेश गर्न पाउनुपर्ने माग गर्दै उनीहरूले महिनौँदेखि प्रदर्शन गरेका थिए । प्रसिद्ध साबारीमाला मन्दिरमा रजस्वला हुने उमेर समूहका महिला प्रवेशमा प्रतिबन्ध थियो । मन्दिर प्रशासनले १० देखि ५० वर्षसम्मका महिलालाई प्रवेशमा प्रतिबन्ध लगाउँदै आएको थियो । 

दुुई महिनाअघि भारतको सर्वोच्च अदालतले सो प्रतिबन्ध खारेज गर्दै जुनसुकै उमेरका महिला मन्दिरमा जान पाउने फैसला गरेको थियो । सर्वोच्चको आदेशपछि पनि मन्दिर प्रवेश गर्न खोज्ने महिलामाथि शृंखलाबद्ध हमला भएको थियो । 

तर, बुधबार बिहान दुई महिला आक्रमणको परवाह नगरी मन्दिरभित्र प्रवेश गरेका थिए । ४० वर्षीया बिन्दु अमिनी र ३९ वर्षीया कनका दुर्गा मन्दिरभित्र प्रवेश गरेर धार्मिक अन्धविश्वासलाई चुनौती दिएका थिए । उनीहरूको प्रवेशपछि केरलाका विभिन्न स्थानमा विरोध प्रदर्शन भएका थिए । प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले ठाउँठाउँमा टियर ग्यास प्रयोग गरेको थियो । महिला प्रवेशको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले पनि विरोध गरेको छ । मन्दिरभित्र महिलाको प्रवेश ऐतिहासिक भएको केरलाका मुख्यमन्त्री पिनरी भिजयानले बताए । महिलाको प्रवेशले मन्दिर अपवित्र बनेको मन्दिर प्रशासनका अधिकारीहरूले आरोप लगाएका छन् । मन्दिर केही समय ‘पवित्र संस्कार’का लागि बन्द गरिएको थियो ।
 
कसरी प्रवेश गरे मन्दिरमा महिला ?
स्थानीय समयअनुसार बुधबार बिहान साढे तीन बजे जोखिम मोल्दै दुई महिला दुई घन्टा हिँडेर मन्दिर पुगेका थिए । सादा पोसाकमा रहेका प्रहरीले उनीहरूलाई साथ दिएका थिए । पहाडको चुचुरोमा रहेको सो मन्दिर दर्शनका लागि बर्सेनि लाखौँ पुरुष भक्तजन नांगो खुट्टामा घन्टौँ हिँड्छन् । मन्दिर प्रवेश गर्नुअघि १८ वटा पवित्र खुड्किला चढ्नुपर्छ । सो खुड्किला चढ्न पुरुषले ४१ दिन उपवास बस्नुपर्ने संस्कार छ ।

किन महिलालाई मात्र प्रतिबन्ध ?
हिन्दू संस्कृतिअनुसार रजस्वला भएका महिलालाई अपवित्र मान्नुका साथै उनीहरूलाई धार्मिक कार्य गर्न वञ्चित गरिन्छ । साबारीमाला मन्दिरसँग एक पौराणिक कथा जोडिएको छ, जसलाई आधार मानेर महिलालाई मन्दिरभित्र प्रतिबन्ध छ । पौराणिक मान्यताअनुसार भगवान् आयप्पा ब्रह्मचारी भगवान् भएकाले रजस्वला हुने उमेरका महिलाको प्रवेशलाई अपवित्र मानिदै आएको थियो ।