मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी  इङल्याण्ड
२०७६ श्रावण १ बुधबार १७:३७:००
Read Time : > 1 मिनेट
खेलकुद

बेन स्टोक्सले ‘ओभर थ्रो’को ४ रन नदिन आग्रह गरेको एण्डरसनको खुलासा

Read Time : > 1 मिनेट
एजेन्सी  इङल्याण्ड
२०७६ श्रावण १ बुधबार १७:३७:००

विश्वकप क्रिकेट २०१९ को इङल्याण्ड र न्युजिल्याण्डबीचको फाइनल खेल जति रोमान्चक थियो, त्यति नै विवादित पनि बन्यो । सुपर ओभरमा पनि बराबरी भएपछि धेरै ‘बाउन्ड्री’ (चौका–छक्का) प्रहार गरेका आधारमा इङल्याण्डलाई विजेता घोषित गर्ने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को नियमको यतिखेर चौतर्फी आलोचना भइरहेको छ । 

त्यसमाथि अर्को विवाद सिर्जना भएको छ, ‘ओभर थ्रो’मा दिइएको रनलाई लिएर । जितका लागि अन्तिम ३ बलमा इङल्याण्डलाई ९ रन चाहिएको थियो । ब्याटिङमा थिए बेन स्टोक्स । चौथो बलमा स्टोक्स दोस्रो रनका लागि दौडिए र डाइभ हानेर २ रन पुरा गरे । 

उता न्युजिल्याण्डका मार्टिन गुप्टिलले स्टोक्सलाई आउट गर्न प्रहार गरेको बल भूइमा लडेका स्टोक्सको ब्याटमा लागेर ‘बाउन्ड्री’ छुन पुग्यो । मैदानमा रहेका अम्पाएर कुमार धर्मसेनाले अर्का अम्पाएर मरैस इरास्मससँगको सल्लाहमा दौडेर लिएको २ र ‘बाउन्ड्री’को ४ गरी ६ रन दिए । 

आइसीसीबाट वर्ष अम्पाएरका रुपमा ५ पटक सम्मानित पूर्वअम्पाएर सिमोन टफेलले त्यसको विरोध जनाए । उनले ५ रनमात्र दिनुपर्नेमा मैदानमा रहेका अम्पाएरले ६ रन दिएर गलत निर्णय गरेको धारणा सार्वजनिक गरेपछि यो विषय विवादित बन्यो । 

बाँकी २ बलमा २ रन जोड्दै इङल्याण्डले २ सय ४१ बनाएर न्युजिल्याण्डले बनाएको योगफलसँग बराबरी ग-यो । खेल सुपर ओभरमा गयो । सुपर ओभरमा पनि दुवै टिमले बराबरी १५ रन बनाएपछि धेरै ‘बाउन्ड्री’ प्रहार गरेका आधारमा इङल्याण्डलाई विजयी बनाइयो । यदि अम्पाएरले ५ को साटो ६ रन नदिएको भए निर्धारित ५० ओभरमै न्युजिल्याण्ड १ रनले विजयी हुने थियो ।

यस्तोमा इङल्याण्ड टेस्ट क्रिकेट टिमका स्टोक्सका ‘टिममेट’ जेम्स एण्डरसनले खुलासा गरेका छन् कि, स्टोक्सले चार रन दिने निर्णय फिर्ता लिन अम्पाएरसँग आग्रह गरेका थिए । भूइमा घोप्टो परेर लडेको अवस्थामा स्टोक्सको ब्याटमा बल ठोकिएर ‘बाउन्ड्री’ छुन पुगेको थियो । उठेपछि यो कुरा थाहा पाएका स्टोक्सले दुवै हात फैलाएर मैदानमै आफ्नो गल्ती नभएको भन्दै क्षमाको भाव प्रकट गरेका थिए । 

‘क्रिकेटको शिष्टाचारअनुसार थ्रो गरेको बल जब स्टम्पनजिक आउँछ र खेलाडीसँग ठोक्किएर खाली स्थानमा जान्छ, त्यसबेला अतिरिक्त रनका लागि दौडिनु हुँदैन । तर बल बाउन्ड्रीतिर जान्छ, क्रिकेटको नियमअनुसार त्यो चार रन हो । तपाई त्यस्तोमा केही गर्न सक्नु हुँदैन । जबकि, स्टोक्सले त अम्याएरहरुसँग गएर भने– के तपाईहरु त्यो चार रन फिर्ता लिन सक्नुहुन्छ ? हामीलाई त्यो चाहिँदैन,’ एण्डरसनलाई उद्धृत गर्दै सिड्नी मोर्निङ हेराल्डले छापेको समाचारमा छ ।  

स्टोक्सले पनि त्यो घटनालाई लिएर यसअघि नै अभिव्यक्ति दिइसकेका छन् । उनले आफू सदैव न्युजिल्याण्डप्रति क्षमाप्राथी रहेको बताएका छन् ।