Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २४ शनिबार
  • Saturday, 08 August, 2020
२०७६ श्रावण १ बुधबार १०:१२:००
अर्थ

चिनीमा लगाइएको परिमाणात्मक बन्देज स्वतः खुल्यो

२०७६ श्रावण १ बुधबार १०:१२:००

सरकारले चिनी आयातमा लगाएको परिमाणात्मक बन्देज खुलेको छ । स्वदेशी चिनी उद्योगको संरक्षण गर्न भन्दै चिनी आयातमा लगाएको परिमाणात्मक बन्देज बुधबारदेखि खुलेको हो । सरकारको पछिल्लो निर्णयअनुसार असार मसान्तसम्मका लागि चिनी आयातमा परिमाणात्मक बन्देज लगाइएको थियो । बन्देजलाई निरन्तरता दिने निर्णय नभएपछि आयात स्वतः खुलेको हो । चिनीको आयात रोक्ने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए । ‘पछिल्लो निर्णयअनुसार चिनी आयातमा लगाइएको बन्देज असार मसान्तपछि सकिएको छ,’ उनले भने, ‘बन्देजलाई निरन्तरता दिने–नदिने विषयमा हालसम्म कुनै निर्णय भएको छैन ।’

मन्त्रिपरिषद्ले ३१ भदौ ०७५ मा चिनीको आयातमा परिमाणात्मक बन्देज लगाउने निर्णय गरेको थियो । सोहीअनुसार २ असोजमा राजपत्रमा सूचना प्रकाशन गर्दै चैत ०७५ सम्मका लागि चिनी आयातमा परिमाणात्मक बन्देज लगाएको थियो । त्यसपछि पुनः २ वैशाख ०७६ मा राजपत्रमा सूचना प्रकाशन गर्दै परिमाणात्मक बन्देजलाई असार मसान्तसम्मका लागि निरन्तरता दिएको थियो । 

थप तीन महिना चिनी आयात रोक्न उद्योगीको माग
चिनी उद्योगीहरूले थप तीन महिना चिनी आयातमा बन्देज लगाउन माग गरेका छन् । सरकारलाई औपचारिक पत्र दिएर नै बन्देजलाई तीन महिनासम्म निरन्तरता दिन आग्रह गरिएको चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए । अहिले पनि स्वदेशी उद्योगको १ लाख ५ हजार मेट्रिकटन चिनी मौज्दात रहेको उनले बताए । ‘अहिले पनि स्वदेशी चिनी पूरै बिक्री भएको छैन, मौज्दात छ,’ उनले भने, ‘पछि दशैँ–तिहारका लागि सरकारले आवश्यक चिनी ल्याउँदा हुन्छ, तर अहिलेलाई थप तीन महिनाका लागि चिनी आयात रोक्नुपर्छ ।’

बन्देज निरन्तरता नहुने संकेत
प्रधानमन्त्री केपी ओलीले चिनी आयातको कोटा निर्धारणमा उद्योगीहरूले आफूलाई धोका दिएको बताएका थिए । गत दशैँअघि चिनी उद्योगीले चिनीको आयात रोक्न लगाएर बजारमा चिनी अभाव गराएको तथा मूल्यसमेत बढाएको उनको आरोप थियो । सार्वजनिक कार्यक्रम तथा उद्योगी–व्यवसायीसँगको भेटमा प्रधानमन्त्रीले यो कुरा बारम्बार उठाउँदै आएका छन् । त्यसैले पनि चिनी आयातको बन्देजले निरन्तरता नपाउने व्यवसायीहरू नै बताउँछन् । अर्काेतर्फ बहुराष्ट्रिय कम्पनीहरूले चिनीलाई कच्चा पदार्थका रूपमा लिने गरेका छन् । उनीहरूले कच्चा पदार्थको आयात नरोक्न सरकारलाई दबाब दिइरहेका छन् । ‘एकातर्फ प्रधानमन्त्रीले चिनी उद्योगीबाट धोका भएको महसुस गर्नुभएको छ भने अर्कातर्फ बहुराष्ट्रिय कम्पनीले आयात खुला गर्न दबाब दिइरहेका छन्,’ एक व्यवसायीले भने, ‘त्यसैले चिनी आयातमा लगाइएको बन्देजले निरन्तरता पाउने देखिँदैन ।’