मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असार ३१ मंगलबार ११:०३:००
Read Time : < 1 मिनेट
प्रदेश

फुड पोइजनले दाजुबहिनीको मृत्यु, आमा गम्भीर 

Read Time : < 1 मिनेट
२०७६ असार ३१ मंगलबार ११:०३:००

अछामको रामारोशन गाउँपालिका ५ मा विषाक्त खाना खाँदा एकै घरका दाजुबहीनीको मृत्यु भएको छ भने उनीहरूकी आमाको अवस्था गम्भीर छ ।  जंगलबाट ल्याएको निउरो, मही, भात र दालसँगै खाँदा फुड पोइजन भएर रामारोशनको तल्लोपातलका ११ वर्षीय रमेश बोहरा र उनकी बहिनी ६ वर्षीया मनीषाको मृत्यु भएको न्याय हेल्थ नेपाल बयलपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर विकास गौचनले बताए । 

उनका अनुसार २७ असारको बिहान खाना खाइसकेपछि बिरामी परेका उनीहरूमध्ये मनीषाको आइतबार घरमै मृत्यु भएको थियो भने उनका दाजु रमेशको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको हो । फुड पोइजनका कारण आमा नरपता बोहराको मिर्गाैलामा गम्भीर समस्या देखिएपछि उनलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको डाक्टर गौचनले बताए । 

‘फुड पोइजनले शरीरका धेरै ठाउँमा असर गरिसकेको थियो,’ उनले भने, ‘उहाँहरू निकै ढिलो अस्पताल पुग्नुभयो ।’ खानाको सन्तुलन नमिलेका कारण यस्तो समस्या आएको उनले बताए । ‘निउरोसँगै मही र अन्य खाना खाएपछि फुड पोइजन भएको रहेछ,’ उनले भने, ‘खानाको तालमेल नमिलेर यस्तो भएको हो । एउटै निगुरोले मात्र समस्या पारेको होइन ।’ 

उनका अनुसार बिरामीसँग सोध्दा उनीहरूले निउरो, मही र अन्य खाना खाएपछि पेट दुख्ने, वाकवाक हुने, चक्कर लाग्नेजस्ता समस्या सुरु भएका थिए । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी जनकबहादुर शाहीका अनुसार च्याउ र निगुरो खाएर उनीहरूको मृत्यु भएको भनी हल्ला फैलिएको थियो ।