मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
कार्लोस इडुवार्डो पिना
२०७६ असार ३१ मंगलबार ०७:४५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

चीनले निर्धारण गर्नेछ भेनेजुएलाको भविष्य

Read Time : > 2 मिनेट
कार्लोस इडुवार्डो पिना
२०७६ असार ३१ मंगलबार ०७:४५:००

२३ जनवरी, जब अमेरिकी समर्थन प्राप्त विपक्षी नेता हुवाँ गुएइदोले आफूलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति घोषणा गरे, त्यतिवेला उनलाई राष्ट्रपति निकोलस मदुरो सहजै सत्ताच्यूत हुनेछन् भन्ने लागेको थियो । उनको योजना सीधा थियो– निर्वाचनमा भएको धाँधली पर्दाफास गरेर मदुरोलाई अवैध घोषणा गर्ने, संक्रमणकालीन सरकार बनाउने र नयाँ निर्वाचन गर्ने, जसले विपक्षीलाई शक्तिमा ल्याउन सकोस् ।

तर ६ महिनासम्म पनि मदुरोको हातबाट शक्ति हत्याउन गुएइदो असफल छन् । ३५ वर्षीय गुएइदो यसको लक्ष्यमा असफल हुनुको प्रमुख कारण सरकारलाई प्राप्त अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको समर्थन हो । मूल रूपमा चीनले भेनेजुएला सरकारलाई सहयोग गरिरहेको छ । विश्वशक्ति चीनको भेनेजुएलासँग आर्थिक र सैन्य सम्बन्ध राम्रो छ । चीनले भेनेजुएलाको सार्वभौमसत्ता र आन्तरिक नीतिमा हस्तक्षेप गर्न नमिल्ने भन्दै गुएइदोलाई स्विकार्न अस्वीकार गरेको छ ।

गुएइदोका विदेशी सहयोगी, विशेषगरी अमेरिकाले चीनले लिएको अडानलाई मदुरोको पक्षमा समर्थन भनेर बुझेका छन् । अमेरिकाले भेनेजुएला संकटमा चीन जिम्मेवार रहेकोसमेत बताउने गरेको छ । उदाहरणका लागि १३ अप्रिलमा चिली भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भनेका थिए, ‘मदुरो सरकारलाई चीनले दिएको आर्थिक सहयोगले भेनेजुएलामा संकट बढाइरहेको छ ।’ भर्खरै मात्र अमेरिकी वरिष्ठ अधिकारी क्रेइग फलरले चीनले भेनेजुएलालाई उपलब्ध गराएका अत्याधुनिक उपकरण जनतालाई दबाउन र निगरानी गर्न प्रयोग गरिएको दाबी गरेका छन् ।

जारी संकटमा चीनले खेलेको भूमिकालाई मध्यनजर गरेरै गुएइदोले बेइजिङलाई खुसी पार्ने गरी अभियान थालेका छन् । उनले मदुरोलाई दिइरहेको समर्थन फिर्ता गराउन चीनलाई आश्वस्त पार्ने प्रयास गरिरहेका छन् । पोम्पेओले चीनको विरोध गर्नुभन्दा एक दिनअघि स्वघोषित राष्ट्रपति गुएइदोले अन्तर्राष्ट्रिय सञ्चार माध्यम ब्लुमवर्गमा लेख प्रकाशित गर्दै देशको संकटबारे आफ्नो धारणा राखेका थिए । ‘भेनेजुएलामा चीनले किन आफ्नो पक्षधरता परिवर्तन गर्नुपर्छ ?’ शीर्षकको यस लेखमा चीनको स्वार्थ र लगानीलाई मदुरो सरकारभन्दा विपक्षीले राम्रो ढंगले सम्बोधन गर्न सक्ने उल्लेख थियो । गुएइदोको लेख र पोम्पेओको अभिव्यक्तिले पुष्टि गरेको तथ्यसँग भेनेजुएला संकटलाई नजिकबाट नियालिरहेकाहरू पहिल्यैदेखि जानकार छन्– चीनको राजनीतिक अडानले नै भेनेजुएलाको भविष्य निर्धारण गर्नेछ ।

बेइजिङ काराकसको आर्थिक तथा राजनीतिक साझेदार हो । चीनले तेलखानी रहेको यस सामाजवादी देशलाई भूराजनीतिक सहयोगीका रूपमा हेरेको छ । अमेरिकासँगको आर्थिक  तथा राजनीतिक प्रतिस्पर्धामा उसले महत्वपूर्ण  सहयोग गर्दै आएको छ । बेइजिङले पछिल्ला केही दशकदेखि गर्दै आएको लगानीले चीनको भविष्यको आर्थिक समृद्धि र ऊर्जा सुरक्षामा भेनेजुएला महत्वपूर्ण  छ भन्ने देखाउँछ । ह्युगो चाभेज शक्तिमा आएदेखि सन् १९९९ यता चीन र भेनेजुएलाबीचको सहकार्य निरन्तर बढ्दो छ । २०१३ मा चाभेजको निधनपछि राष्ट्रपति मदुरोमार्फत चीन र भेनेजुएलाबीचको सम्बन्ध अघि बढिरहेको छ ।

भेनेजुएलासँग आर्थिक र सैन्य सम्बन्ध राम्रो भएको चीनले भेनेजुएलाको सार्वभौमसत्ता र आन्तरिक नीतिमा हस्तक्षेप गर्न नमिल्ने भन्दै गुएइदोलाई स्विकार्न अस्वीकार गरेको छ 
 

चीनले भेनेजुएलामा ६ बिलियन अमेरिकी डलरभन्दा बढी लगानी गरिसकेको छ । भेनेजुएलाले चीनसँग लिएको ऋण ६० बिलियन डलरभन्दा माथि छ । पछिल्ला दुई दशकमा ठूलो ऋण लिएको भेनेजुएला अहिलेको संकटका कारण चीनलाई ऋण फिर्ता गर्न सक्ने अवस्थामा छैन, उसको तेल उत्पादन निरन्तर ओरालोलाग्दो छ ।  तर, चुनौती र सम्भावित आर्थिक क्षतिका बाबजुद बेइजिङ निरन्तर मदुरो सरकारका पक्षमा छ, कम्तीमा अहिलेसम्मका लागि । चीन सरकारले सार्वभौम देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने इच्छा देखाएको छैन । तर, यसको अर्थ कमजोर अवस्थामा रहेका राष्ट्रपतिलाई ठूलो आर्थिक मूल्य चुकाएर चीनले सधैँ समर्थन गरिरहन्छ भन्ने पनि होइन ।

गुएइदोको पूरा प्रयासका बाबजुद चीनले भेनेजुएलाका विपक्षीलाई विश्वास गर्नुपर्ने कारण भने छैन । चिनियाँ ऋणका विषयमा भेनेजुएलाको विपक्षी वर्षौंदेखि स्पष्ट छैन । सत्तामा आउनेबित्तिकै चाभिस्टा सरकारले लिएका ऋण तिर्न ऊ सहमत हुन्छ भनेर चीनले विश्वास गर्नुपर्ने कारण छैन । अमेरिकी प्रशासनसँग विपक्षीहरूको निकट सम्बन्ध अर्को कारण हो, जसले मदुरोका पक्षमा चीनलाई खडा गरिदिएको छ । अमेरिकाको निर्देशनमा चल्ने कुलीनहरूले भेनेजुएला र विस्तारित क्षेत्रमा चीनको स्वार्थ रक्षा गर्छन् भन्नेमा उसलाई रत्तिभर विश्वास छैन । यसको मतलब चीनको अडान परिवर्तन हुँदै हुन्न भन्ने छैन । गुएइदो र उनका समर्थकले अझै न अमेरिकी प्रशासनसँग दूरी बढाएर चीनलाई भेनेजुएलाको आर्थिक प्रतिबद्धताबारे आश्वस्त पार्न सक्नुपर्छ । विपक्षीले चीनको विश्वास जित्न सकेमा मात्र मदुरो सरकारलाई चुनौती दिएर भेनेजुएलाको सत्ता हत्याउने सम्भावना बढ्नेछ ।

(लेखक राजनीतिक विश्लेषक हुन् ।)अलजजिरा डटकमबाट